अन्तर्राष्ट्रिय फास्ट फुड चेन केएफसीका लागि ल्याइएको कुखुरा नष्ट गर्न स्थानीय किसानले माग गरेपछि धादिङको धार्केमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याउने तयारी गरेपछि भएको विवादमा अश्रु ग्यास प्रहार भएको हो । नेपाल भेटिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि जबर्जस्ती काठमाडौं लैजान खोजेपछि फायरिङ गरिएको बताए । नेपालमा उत्पादित मासु मापदण्ड पूरा नभएको भन्दै थाइल्याण्डबाट ल्याउने दाबी गरेको केएफसीले भारतबाट मासु ल्याएपछि धादिङका किसानले धार्केमा दुई कन्टेनर रोकेका थिए ।संघर्षरत किसानहरुलाई प्रहरीले निर्ममतापूर्वक अश्रु ग्याँस प्रहार गरेको स्थानीय सञ्चारकर्मी राज ढुंगानाले बताए ।
अश्रु ग्याँस प्रहारबाट दुई स्थानीय सञ्चारकर्मी तथा पत्रकार महासंघका साधारण सदस्य भुवन पौडेल लगायत स्थानीय किसानहरु घाइते भएका छन् । किसानहरुको राजमार्ग अवरुद्ध लगायत लामो समयसम्मको संघर्ष पछि अन्ततः प्रहरीले उक्त मासु नष्ट गरेको छ । काठमाडौंबाट गएको पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै पठाउन खोजेपछि तनाव भएको हो ।
धादिङ प्रहरी प्रमुख विकासराज खनालले मासु काठमाडौं पु¥याएरै छाड्ने भन्दै नष्ट गर्न अस्वीकार गरेका थिए । किसान अघि बढेपछि प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको हो । केएफसीले भारतबाट ५ हजार केजी भन्दा बढी अवैध कुखुराको मासु दुईवटा भारतीय ट्रकमा ल्याइएको अवस्थामा स्थानीय कुखुरा व्यवसायीले धार्केमा नियन्त्रणमा लिई प्रशासनलाई बुझाएका थिए ।


0 comments:
Post a Comment