Wednesday, June 11, 2014

सुदरशन खतिवडा
मुलुकका दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु यतिबेला आन्तरिक किचलोमा रुमल्लिएका छन् । दोस्रो ठूलो दल एमाले र तेस्रो ठूलो दल एमाओवादीको आन्तरिक जीवनका विवादहरु नियाल्दा उदेकलाग्दो छ । कथनीमा आदर्शका शब्दहरु नछुटाउने यी दलहरुको जीवनव्यवहार असाध्यै ढोंगी र भद्दा लाग्दछन् ।मुलुकमा अत्याधिक कम्युनिष्ट जनमत भएपनि यस्तै किचलो र अनेकताले कम्युनिष्टहरुले विरलै मात्र आफ्नो लक्ष्यमा सफलताहासिल गरिरहेका छन् । रणनीतिक लक्ष्य एउटै भएपनि कार्यनीतिक श्रृंखलाका विविधता र फरक बुझाईका कारण फरक पार्टीभित्र मात्र होइन, एउटै पार्टीभित्र पनि अनेकता देखिन्छन् । तर यहाँ त विचारको फरक बुझाई भन्दा पनि व्यक्तिको टकराव अथवा जुँगाको लडाईले लक्ष्य उद्देश्यहरु लिलामीमा राख्ने गरिन्छ । कम्युनिष्टहरुको यस्तो व्यवहारले अपना काम बनता तो भाँडमा जाए जनता भन्ने उक्तिलाई सम्झन बाध्य बनाउँछ । जनताको मुक्ति, राष्ट्रको समृद्धि भन्दा पनि आफ्नो गुट आफ्नो समूह र केवल आफ्नो स्वार्थलाई केन्द्र मान्नेहरुको हर्कत हावी भएको नेपालको कम्युनिष्ट आन्दोलनको आगामी दशा र दिशा अनिश्चित बन्दै गइरहेको छ ।
यतिबेला एमालेको महाधिवेशन नजिकिँदै गर्दा संस्थागत जीवनलाई लथालिंग बनाएर गुटगट भेला बैठकहरुले तिव्रता पाएका छन् । लाग्छ, एउटा समूहको नेताले अर्को समूहको नेतालाई कसरी होच्याउने र गिराउने भन्ने प्रतिष्पर्धा चलिरहेको छ बजारमा । यहाँ आफ्नै क्षमताले आफू अग्लिने भन्दा अरुलाई होच्याएर आफू अग्लो देखिने अराजनीतिक संस्कारले प्रश्रय पाइरहेको छ । नमिठो भाषामा भन्दा यो अरुको मृत्यूमा आफ्नो जीवन खोज्ने पिछडिएको राजनीतिक संस्कार र अनैतिक जीवनव्यवहारको भद्दा नमूना हो । मदन भण्डारीको सापेक्षिक सफल नेतृत्व र विचारको ब्याज खाइरहेको एमालेमा नेतृत्वको संकट छ । सामाजिक सञ्जालीकरण र कार्यकता व्यवस्थापनमा सापेक्षित सफल एमालेमा नेतृत्वको संकटको परिणामस्वरुप अराजनीतिक खेलहरु खुलम्खुल्ला भइरहेका छन् । यहाँ जीवनको हरियो रंगभन्दा सिद्धान्तको खैरो रंगलाई बढी बजारीकरण गर्ने प्रयत्न भइरहेको छ । जब कुनै वस्तुलाई अनावश्यक रंगरोगन गरिन्छ, तब अनुमान गर्न सकिन्छ कि यसको सार प्रभावकारी छैन । किनकी अकबरी सुनलाई कसी लगाउनुपर्दैन ।
त्यस्तै जनयुद्धको फरक धारबाट राजनीतिक रंगमञ्चमा उदय भएको एमाओवादीमा पनि अनौठा र नाटकीय खेलहरु देखिइरहेका छन् । संस्थापनलाई प्रचण्ड एण्ड कम्पनीको रुपमा परिभाषित गर्दै नयाँ राजनीतिक शक्तिको पक्षमा वकालत गरिरहेका बावुराम पक्षले बहिस्कारको राजनीति गरिरहेको छ । एमाओवादीको आन्तरिक राजनीति भयंकर संक्रमणबाट अगाडि बढिरहेको छ । पार्टीबाट वैद्य पक्ष छुट्टिएर नयाँ पार्टी बनाएसँगै दोस्रो संविधानसभाको चुनावमा होमिएको एमाओवादीले नराम्रो पराजय व्यहोरो । पराजयसँगै आफ्नो राजनीतिक जीवनको निर्मम समिक्षा गर्न चुकेर एमाओवादी अहिले पनि गम्भीर राजनीतिक भुलभुलैयामा फसेको प्रतित हुन्छ । कम्युनिष्ट दर्शन अनुसार कुनै पनि वस्तुको विकास अथवा विनासको मुल कारण त्यही वस्तुभित्र अन्तरनिहित हुन्छ । तर एमाओवादीको मुख्य नेतृत्वले अहिले यो दार्शनिक मान्यतालाई चुनौती दिइरहेको भान हुन्छ । आफ्ना समग्र कमिकमजोरीप्रति निर्मम समिक्षा नगरी सामान्य सुधारसम्म पनि गर्न तयार हुन सकेन एमाओवादी । आफ्नै समस्याले जर्जर भएको पार्टी बाहिरकालाई गाली गरेर पिसाबको न्यानोमा रमाउनुको कुनै तुक छैन ।
हिजो सामान्तवादसँग लड्न एमाओवादीको संगठनात्मक संरचना पनि त्यस्तै बन्यो । फलाम काट्न फलाम चाहिन्छ भनेजस्तो सामन्ती राजासँग लड्न एमाओवादीभित्र पनि मुख्य नेतृत्वलाई आदर्शीकरण गरेर राजाजस्तै शक्तिशाली बनाउन आवश्यक थियो र बनाइयो पनि । अर्का राजा त ढले, तर पार्टीभित्रको राजाले आफूलाई रुपान्तरणको आवश्यकता महसुस गर्न सकेनन् । रातारात हुर्किएको महत्वाकांक्षाले एकपछि अर्को गल्ती गर्दै बलिदानीको चर्को मूल्य चुक्ता गरेर बनेको पार्टीको हुर्मतलाई च्याँखे थाप्ने काम भयो । लामो समयसम्म पार्टीको सत्ता शक्तिको अभ्यास गर्दा जनवादी केन्द्रीयताको विधि निर्जिव बन्यो र पार्टीमा एकजना आदर्श राम बने र बाँकी रहेका भक्त हनुमानहरु बने । पछिल्लो समयसम्म माओवादीभित्रको जनवादी अभ्यासको मर्मलाई हेर्ने हो भने बनिबनाउ नाटकजस्तो मात्र लाग्छ । पार्टीभित्र हुर्केको सामन्तीतन्त्रको विशेषता के हुन्छ भने यसले हनुमानहरुको हुलभन्दा बाहिर आफ्नो अस्तित्व देख्दैन र पार्टीभित्र केवल एकमनावादी एकताको वकालत गर्दछ । फरक विचारलाई ढोकावन्दवाद लागू गर्दै निषेधको राजनीति गर्नु यसको अर्को विशेषता हो । यी र यस्तै प्र्रवृत्ति, अस्तव्यस्तता र भद्रगोल यथार्थमा रुमल्लिएको एमाओवादीको भविष्य अनिश्चयको गर्भमा छ ।
मुलुकमा अन्य कम्युनिष्ट दलहरु पनि छन् । समाज विज्ञानको समस्यालाई गणितीय फर्मुलाबाट खोज्ने ड्यास माओवादीदेखि लिएर झापा विद्रोहका अभियन्ता सिपी गजुरेल र संघीयता विरोधी चित्रबहादुर अनि इतिहासले थिचिएका मोहनविक्रम पनि । यी र यस्ता कम्युनिष्ट पार्टी र समूहहरु सबै कुनै न कुनै रुपको किचलोमा अड्किएका छन् । कुनै कम्युनिष्टहरु यति विशुद्धवादी छन् कि शुद्ध कम्युनिष्ट खोज्दा खोज्दै एक व्यक्ति एक संगठनसम्म पनि पुग्न भ्याएका छन् । कुनै शक्ति हात्ती पार्टी बनाउन रछ्यानका फोहोरहरु पनि उठाउन बाँकी राख्दैनन् ।
जमाना फेरिएको छ । विज्ञानको विकास र सूचना प्रविधि क्रान्तिले मानव सभ्यता नयाँ युगमा फेरिएको छ । उत्पादनका साधनमाथि स्वामित्व राख्दै धनी बन्नेहरुको भीडमा नयाँ मानिसहरु नयाँ प्रवृत्तिका साथ झुल्कन पुगेका छन् । फेसबुकका आविस्कारक रातारात धनी बनिरहेका छन् ।यतिबेला माक्र्स भएका भए उनले आफ्नो पूँजीलाई कसरी पुनर्लेखन गर्थे होला ? नयाँ बहसहरु शुरु भएका छन् । एक्काइसौं शताब्तीको नयाँ पूँजी लेख्ने थोमस पिकेटीहरु हाम्रा नेतृत्वहरुको चासोको बिषय बनिरहेका छैनन् । जलवायु परिवर्तन, साम्राज्यवाद र कम्युनिष्टहरुको सम्बन्ध हाम्रा वामपन्थीहरुको चर्चाको बिषय बनिरहेका छैनन् । संसार कहाँ पुगिसक्यो । हामी सैयौं बर्ष अगाडिका ग्रन्थका पाना पल्टाउँदै हाम्रो समस्याको समाधान खोजिरहेका छौं । नारा छ संसारका मजदुरहरु एक हौं । जीवन व्यवहारमा सिसा जस्तै टुक्रिएका छौं । संसार जित्ने सपना देख्न र देखाउन पनि पछि पर्दैनौं । पूँजीवादीहरुले आर्थिक मन्दीले दिएको चुनौती स्वीकार गर्दै केही समाजवादका चरित्रलाई ग्रहण गरेँ । तर समाजवादको सपना बोक्ने कम्युनिष्टहरु सिद्धान्तका खैरो रंगलाई पछ्याइरहेका छन् न कि जीवनको हरियो रंगलाई ? कहिले टुगिंएका कम्युनिष्ट किचलो ?

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts