Sunday, August 17, 2014

सिन्धुपाल्चोक माङखा गाविसको जुरे भन्ने ठाउमा गत साउन १७ गते पुरै गाउँ बगाउने गरी इटनीभीर खसेर गएको पहिरोले थुनिएर बनेको सुनकोशी नदीको ताल अझै खुल्न सकेको छैन । दुई सय भन्दा बढीको संख्यामा पहिरोमा पुरिएको आँकलन गरिए पनि केही व्यक्तिहरुको लास भेटिएको छ भने कैयौ व्यक्तिहरु अझै बेपत्ता अवस्थामा नै छन् ।
कुनै पनि देशमा कुनै पनि ठुला प्राकृतिक प्रकोप, विपत्ती या घटना हुदा देशको प्रमुख व्यक्तिहरु नै सम्बन्धित ठाउँमा जाने पिडितहरुलाई सान्त्वना दिने र उद्धारमा खटिएकाहरुलाई हौसला प्रदान गर्ने काम गर्छ तर विडम्बना प्रधानमन्त्री लगायत उच्च ओहदामा रहेका व्यक्तिहरुलाई त्यति ठुलो विपत्तीले हल्का पनि छुन सकेन । सम्बन्धित स्थलको भ्रमण गर्नु त कता हो कता सामान्य वक्तव्यबाजी गर्न समेत कन्जुस्याइँ गर्यो । अझ लाजमर्दो कुरा त आफुमा भएको जनशक्ति तथा क्षमता तथा भएको क्षतिको विषयमा  बुझ्दै नबुझी भारत चीन लगायत छिमेकी राष्ट्रहरुसँग सहयोग लिने निर्णय ग¥यो जुन नेपाली सेनाले आफै सक्षम रहेको भन्दै विरोध  गरेपछि पछि हट्न बाध्य भयो ।
पहिरोको कारण जुरे पारीका चौध गाविस अर्कै देश जस्तो बनेको छ । अविरल बर्षाका कारण दाङ्ग बर्दिया लगायत गृह मन्त्रालयको तथ्याँकलाई आधार मान्ने हो भने पनि २२ वटा भन्दा बढी जिल्लाहरुमा हजारौ संख्यामा मानिसहरु विस्थापित हुन पुगेका छन् । विशेष गरि मध्य पश्चिम र सुदुर पश्चिमका जिल्लाहरुमा बाढी पहिरोले विनाशलीला नै मच्चाएको छ । जुरेको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ, कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग सम्पर्क विच्छेद हुने र खुलाउने क्रम चलिरहेकै छ । तर सरकारमा बसेका रोगीहरुको जमातले आ(आफै विदेश शयर गर्ने र उपचारको नाममा राज्यको ढुकुटीबाट करोडौ स्वाहा बनाइ राखेका छन् भने बाढी पहिरोबाट पीडितहरुको लागि झारा टार्ने बाहेक केही पनि प्रभावकारी ढंगले लाग्न सकिराखेको छैन । यही मौकाको फाइदा उठाउदै चोर, लुटेरा र कालाबजारियाहरु सल्बलाउन थालेका छन् तर सत्ताको बागडोर सम्हालेर बसेकाहरु सिंहदरबार, संविधानसभा भवन र बालुवाटारभन्दा पर जान सकेको छैन । सिंहदरबार देखि सितल निवाससम्मका निरोहरु पुरै देश डुविरहदा पनि ऐस आरामले बाँसुरी बजाइरहेका छन् । पेट दुख्दा ६० लाख खर्च गर्न सक्ने राष्ट्राध्यक्षले  तीन सयभन्दा बढीको मृत्यु हुदा समेत सम्बन्धित स्थलको निरिक्षण त परको कुरा सहयोगीहरु लगाएर केही हरफको विज्ञप्ती मार्फत सहानुभुति समेत जनाउन सकेको छैन । सरकारका मन्त्रीहरु जनतालाई बाढीसँगै बग्न र पहिरोसँगै पुरिन दिएर क्लब र पाँचतारे होटलका सेमिनारहरुमा अतिथि भएर रिबन काट्नमा नै तछाड र मछाड गरिरहेका छन् । सरकारी कर्मचारीहरु डुब्न लागेको जलमग्न देशमा पौडी खेल्दै आकर्षक र कमाउ ठाउँमा सरुवा पाउनको लागि मन्त्रीका कोठा चोटा चहार्दै पाउ मोल्न मै ब्यस्त छन् भने मन्त्रीहरु कसलाई कुन ठाउँमा र कसरी सार्दा कति कमिसन बक्सिस पाइन्छ भन्ने जोड घटाउमा नै लागि परेका छन् । प्रहरीसँगको झडपमा एउटा गुण्डा मर्दा खेरी संसदमा कुर्लन सक्ने सभासदहरु सयौ जनताहरु हताहत हुँदा संसदमा चुँ सम्म पनि गर्दैनन् । युद्धकालका घटनालाई लिएर मान्छेको जिउँदो लासको बिस्कुन सुकाएर डलरका खेती गर्ने कथित मानव अधिकारवादी र कथित परोपकारको नाममा सरकारी सुचनाहरु विदेश बेच्ने एनजीओ ÷ आइ एनजीओहरु कानमा तेल हालेर चिर निन्द्रामा सुतिरहेका छन् ।
बाढी पहिरोबाट आहत देशलाई केही मात्र भए पनि राहत दिनको सरकारको मुख मात्र नताक्ने युवा जमातहरु स्वदेश तथा विदेशका विभिन्न क्षेत्रबाट सहयोग संकलन गर्नको लागि तदारुकता देखाइरहेका छन् भने सहयोग संकलनको नाममा चन्दाको धन्दा गर्नेहरु पनि त्यतिकै मात्रामा धमिलो पानीमा माछा मार्न अभिशप्त देखिएका छन् ।  यस्ता किसिमका अमानवीय हर्कत तथा कुकृत्र्यहरुलाई रोक्न नसक्ने हो भने आम जनमानसमा र पीडितहरुको नजरमा पनि मानव र मानवीयकताको परिभाषामा आकाश जमिन वीचको फरक आउने छ ।
तर यति लामो समय भइसक्दा पनि आफन्त र बासस्थान गुमाएकाहरुका लागि उचित र प्रभावकारी प्याकेज घोषणा गर्न नसक्नु सरकारको लाचारीपन उदाङ्गो भएको छ । कुनै पनि पार्टीको एकजना सामान्य नेतालाई पखाला लाग्दा समेत विदेशमा लगेर उपचार गराउनको लागि करोडौ निकासा गर्न सक्ने सरकारले पीडित जनताहरुको लागि कसको मुख ताकेर बसेको छ यो विचारणीय प्रश्न जन्मिएको छ । एउटा विदेशी आउदा प्रधानमन्त्री देखि सामान्य मन्त्रीसम्म प्रोटोकल समेत भुलेर पाखुरमा झुण्डिन जाने जनताका स्वघोषित ठेकेदारहरु आफ्नै देशका जनता संकटमा पर्दाचाहि किन सहानुभुति समेत दर्शाउन सक्दैन ? के सत्तामा हाली मुहाली गर्नको लागि आफ्ना देशका जनताको मत होइन कि विदेशीको आर्शिवाद नै काफी हुने हो ? कतै नेपाली जनताले धारे हात लगाउदै नामर्द कि जोइ हुन भन्दा मर्द कि कमारी हुनु जाती भन्ने दिन त आएको होइन ? ।
चाहे त्यो जुरेको त्रास होस् , चाहे दाङ्ग कैलाली कन्चनपुर सुर्खेत बाँके लगायतका जिल्लाहरुको पीडा होस् त्यो समग्र नेपालीको पीडा हो भनेर हामी सबैले बुझ्न जरुरी छ । कुनै पनि प्राकृतिक प्रकोप या विपत्ती थाहा दिएर आउने कुरा होइन तर यसको लागि हामीले बेलैमा सचेत र जागरुक हुन सकिन्छ जसको लागि राज्यले घटना घटिसकेपछि भन्दा पनि घटना घट्नु पहिले नै उचित रोकथामको लागि र प्रभावकारी उद्धार तथा व्यवस्थापन गर्नुपर्ने अपरिहार्य आवश्यकता हुन आउछ । जसको लागि एउटा सचेत नागरिक भएको हैसियतले आफु जागरुक हुनका साथै सरकारका हरेक निकायलाई समेत झकझकाउनु जरुरी हुन्छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts