राम ढकाल ‘ऋतिक’ |
म वि.सं २०६० साल ज्यष्ठ १५ गतेबाट तत्कालिन माओवादीको पुर्णकालीन कार्यकर्ता भएर मृत्यु वा मुक्तिको सपथ खाने जनयुद्धको यात्रामा लामवद्ध हुँदै गर्दा हाम्रो दिल दिमागमा प्रतिक्रियावादी राज्य सत्ताका सम्पुर्ण संयन्त्रलाई ध्वस्त पार्दै केन्द्रिय राज्य सत्ता कब्जा गर्ने बाहेक अरु कुनै करा हुँदैनथ्यो । भलै त्यो असम्भव कुरा भने अवश्य थिएन । किनभने क्युवा, चिन लगाएत देशहरुमा त्यसैगरि राज्यसत्ता कब्जा गरेको इतिहाँस हाम्रो सामु उपस्थित नै थियो । तर समय फरक ठाउँमा उपस्थित थियो, साम्राज्यवादीको चरित्रमा धेरै नै फेरवदल आइसकेको स्थिति थियो । हाम्रो आन्दोलनले उचाई लिँदै गर्दा देशिय प्रतिक्रियावादीसंग लडेर मात्र नपुग्ने भयो। क्रान्ति सम्पन्न गर्न हामिले अन्तराष्ट्रिय साम्राज्यवादी विस्तारवादी शक्तिहरुसंग पनि लड्नै पर्ने देखियो । तर लडाईको उहि तरिकाले उनिहरुसंग लड्न सक्ने अवस्था रहेन । जसरी पुलीसमाथि एक पछि अर्को विजय हाँसिल गरेका थियौँ, त्यही उचाइमा सेनालाई पराजय गर्न सकिएन । लडाइँ क्रमभङ्ग छलाङ् भन्दापनि निरन्तर घर्षणमा परिणत हुन थाल्यो । उहि तरिकाले लडाइँ जित्न सम्भव थिएन, आन्दोलनलाई सिफ्ट गर्नुको अर्को विकल्प भनेको पेरु बन्नु नै हुन्थ्यो । त्यसैले २०६२ मंसिर ७ मा १२ वँुदे समझदारी हुँदै २०६३ वैशाख ११ बाट युद्धविरामको ठाउँसम्म माओवादी आइपुग्यो । विभिन्न सम्झौता र समझदारीहरु देशको स्थायी शान्तिको बाटोमा डोहो¥याउने लक्ष्य सहित तत्कालीन विद्रोही माओवादी र सरकार विच २०६३ मंसिर ५ मा वृहत शान्ति सम्झौता भयो । सोहि दिनदेखि जनमुक्ति सेना पनि देशका विभिन्न ७ वटा शिविरमा औपचारिक रुपमा बस्ने निर्णय भयो । उहीमाथि अनन्तले भने जस्तै दुवै सेनाको बराबरी हतियार र सेनालाई अनमिनले मोनिटरिङ गर्ने सहमति पनि त्यसै दिन भयो ।
हामी भने व्यारेक वसाइका असाध्यै कष्टकर दिनहरु पार गर्दै सेना समायोजन पश्चात नयाँ राष्ट्रिय सेना बनेर देशको सेवा गर्ने हाम्रा मिठा सपनाहरु साँचेर हामी जिवनका उर्वर समय चितवनको जंगलहरुमा विताइरह्यौँ । पार्टी पहिलो संविधान सभाको चुनावमा सबैभन्दा ठुलो दल बनेपछि झन् हाम्रो भुइमा खुट्टै भएन । त्यती उत्साहित भयौँ हामी । युद्ध लड्नुको औचित्य पुष्टि भएको महसुस ग¥यौँ । नेताहरु बेला बेलामा प्रशिक्षण दिन आउँदा गरेका भाषणले हामीलाई झन् गर्वित तल्याउँथ्यो । कहिले हामी १९,६०२ जना सबै समायोजन हने हो केहि बाहिरिनु पर्दैन भन्दै प्रशिक्षण दिने, कहिले हामी भिन्दै फोर्सको रुपमा रहन्छौ भन्ने त कहिले हामी जुन हैसियतमा छौ त्यही हैसियतमा समायोजन हुने हो कोही तल झर्न पर्दैन भन्ने र पछिल्लो समय महानिर्देशनालयको कमाण्ड नै हाम्रो हुन्छ भन्ने आदि आदि तर्कले हामीलाई ढुक्कता बनाइराखेको थियो । आखिर त्यो ढुक्कता निराशामा परिणत भयो । ६ वर्षको त्यो व्यारेक वसाई सबै जनमुक्ति सेनाको लागी क्रान्तिकारी जोश जाँगरलाई भत्ते बनाउने खिया मात्र सावित भयो । ६ वर्षको त्यो वसाईको क्रममा हजारौँ साथिहरुलाई अयोग्य भनेर अनमिनद्धारा व्यारेक वाहिर निकाल्ने काम भयो भने बाँकी रहेका अनमिनद्धारा योग्य ठह¥याइएका १९,६०२ जना जनमुक्ति सेनाको लागि परिचालन गर्ने कुनै स्थायी विधि, विधान भएन, सिमित कमाण्डको सोच र लहडमा आ आफ्नै नियम बने, मुख्य कमाण्डरको कुरालाई नै पार्टी हेडक्वाटरले सर्वमान्य ठान्यो । तर ग्राउण्डको वास्तविकता के हो भन्ने कुराको अन्त्यमा पार्टीका शिर्ष नेताहरु पुग्नै चाहेनन् र त्यहाँको अन्तरविरोध भित्र पस्नै चाहेन र हल पनि गर्न चाहेन । सम्पुर्ण व्यारेक र हतियार नेपाली सेनाले शान्तिपुर्ण ढंगले कब्जा गरे । यस दिनलाई कसैले ऐतिहासिक दिन भने कसैले साहसिक निर्णय भने भलै यसको फैसला इतिहासले नै गर्नेछ । तर त्यस रात कोही जनमुक्ति सेनाहरु थिएनन् होला व्यारेकमा जो नरोएको होस् । घाइते अपाङ्ग हरुको रोदन र क्रन्दन त कसले सुन्ने त्यस रात, जसले एउटा हतियार खोस्न हात गुमाएको छ, खुट्टा गुमाएको छ । शरीरमा अझै गोली बोकेर हिडेको छ । जसका विरुद्ध हिजो लड्यो उसैलाई हतियार बुझायौ, जो बाट खोस्यौ उसैलाई हतियार हस्तान्तरण ग¥यौ । के साँच्चै नेपाली विशेषताको क्रान्ति सम्पन्न भएछ कि क्या हो यही प्रश्न हामीहरुको मनमा उब्जिरहे । समायोजनको सम्पुर्ण कुराको ग्यारेन्टी नहुँदै किन यस्तो निर्दयी निर्णय गरेको होला पार्टीले, आफ्नै पार्टीको नेतृत्वमा सरकार छ । जुन पार्टी प्रति वफादर सेनाको व्यारेक हिजोको दुस्मन सेनालाई ट्याङकर सहित राति ९ बजे कब्जा गर्न पठाउँछ, हतियार बुझाइदिन्छ, आफ्नो सेनालाई निशुक्का बनाउँछ । सेना नभएको जनतासंग आफ्नो भन्ने कोही हुँदैन भन्ने वैज्ञानिक सिद्धान्त माओवादी मान्ने पार्टी किन भइरहेको सेना रातारात विघटन गर्दैछ, समायोजनको नाममा भर्ति गर्न आतुर ? यी आदि प्रश्नहरु अनुत्तरित नै भएपनि हामीलाई निर्णय स्विकारर्नुको विकल्प थिएन । किनभने हामी माउ नभएको चल्ला र नङ्ग्रा नभएको बाघ भैसकेका थियौँ । नेपाली सेनाले ट्याङ्कर सहित हाम्रा व्यारेक कब्जा गरेर हामीमाथि अधिपत्य जमाइसकेका थिए । कन्टेनरको हतियार उनिहरुको नियन्त्रणमा गैसकेको थियो । उनीहरुको अनुमति विना हामी व्यारेक बाहिर जान र प्रवेश गर्न रोक लगाइसकेको थियो । क्षणभरमा नै त्यो रमाइलो हाम्रो जुटपानि व्यारेक उराठ लाग्न थाले, हाम्रा लागी जसका विरुद्ध आमनेसामने लड्यौ हारेको सेनाले झै उसकै मातहतमा बस्नुपर्ने उनीहरुको अनुमतिमा बाहिर र भित्र गर्नुपर्ने भएपछि उराठ लाग्नु स्वभाविक नै थियो । ति वेचैन मतहरु लिएर हाम्रा नेताहरुको अदुरदर्शी निर्णय र सेना सम्बन्धि अपमानजनक सहमती, सम्झौताले गर्दा नयाँ राष्ट्रिय सेना बनेर देशसेवा गर्ने हाम्रा लक्ष्यहरुलाई अधुरै छोडेर स्वेच्छिक अवकाशमा धेरै साथीहरु निष्के साथै म पनि । १९६०२ जना मध्ये एकजना पनि बाहिर निष्कदैन सबै सेनामा जाने अडान राख्दै एक पछि अर्को सहमति चुक्दै ६५०० जना मात्र समायोजनमा जाने सहमति गरे पनि मैले माथि उल्लेख गरेजस्तै व्यारेकको आन्तरिक अन्तरविरोधलाई हल गर्न नसक्दा र ग्राउण्डको बास्तविकता नबुझी सिमित कमाण्डरको विश्वास गर्दा ....... जना मात्र नेपाली सेनामा जनमुक्ति सेना समाहित हुन पुगेको छ । उही संरचना, उही जङ्गी नियम, कानुन उही नोकरशाही शैली सहितको नेपाली सेनामा थोरै जनमुक्ति सेना प्रवेश गरेको । बोतल उही पुरानो छ धेरै पानी पनि पुरानै छ । थोरै नयाँ पानी थपिएको छ । त्यो पानी पनि पुरानै जस्तो हुनुको विकल्प छैन र भैसकेको छ ।
टाउकामा रातो कफन बाँधेर मृत्यु या मुक्तिको कसम खाएर केन्द्रिय राज्यसत्ता कब्जा गर्ने लक्ष्य सहित जनयुद्धको यात्रामा निस्केका हामी योद्धाहरु, साम्राज्यवादी, विस्तारवादी शक्तिहरुले हाम्रो क्रान्तिको बाटोमा एम्बुस थापेपछि हामीले बाटो परिवर्तन गर्नु र शान्ति प्रक्रियामा आउनुको विकल्प कदापि थिएन नै । केही कसैले थियो भन्छ भने त्यो गलत र मिथ्या कुरा हो । त्यो बाटो भनेको पेरुको बाटो मात्र हुन सक्थ्यो । तर शान्ति प्रक्रियामा आइसकेपछि जुन हाम्रो पार्टी आफ्नो अडान बाट चुक्दै गयो, सहमती र संझौताहरु दष्मनको पक्षमा पर्दै गयो । जसको परिणाम हामीले अहिले भोगीराखेको छौँ । सेना समायोजन गरेर नयाँ राष्ट्रिय सेना बनाउन भन्ने मुक्ति सेनाो हालत हुन दिदैनौ भन्ने र महानिर्देशनालयको कमाण्ड हाम्रै हुन्छ भन्ने तर सहमति सम्झौतामा एक पछि अर्को ढंगले चुक्दै जाँदा नेपालको इतिहास मै देश र जनताको पक्षमा सबैभन्दा बढि लडेको जनमुक्ति सेना सबैभन्दा बढि वलिदान गरेको २०४ वर्षे राजतन्त्रात्मक शासन बाट नेपाली जनतालाइ मुक्त पार्न मुख्य भुमिका खेलेको जनमुक्ति सेना इतिहासको पानामा सिमित भैसकेको छ । जसरी डाइनोसरले प्रकृतिसंग संघर्ष गर्न नसकेर पृथ्विबाट लोप भयो त्यसै गरी जनमुक्ति सेनाले पनि आफनो अस्तित्व रक्षा गर्न सकेन र भौतिक रुपमा यो संस्था नेपालको इतिहास बाट लोप भएको छ । र भावि सन्ततिले किताबको पानाहरुमा पढनुपर्ने बाध्यता भएको छ ,जसरी डाइनोसरलाइ हामि पढ्दैछौँ । जनमुक्ति सेना नेपालको इतिहाँसमा डाइनोसर जस्तै भएको छ । केहि सय जना जागिर खाएर सकिएको छ जनमुक्ति सेना ।बराबरी फोर्स हो भन्ने कुरा भ्रम र मिथ्या साबित भएको छ । ९२ हजार नेपाली सेनामा १४ सय भन्दा बढि जनमुक्ति सेना मिसाइएको छ भने सय भन्दा बढि फुल कर्नेल भएको नेपाली सेनामा एउटा फुल कर्नेल प्राप्त गरेर जनमुक्ति सेनाको अन्त्य गरीएको छ ।
सेना नभएको जनतासंग आफनो भन्ने केहि हुँदैन भन्ने माओको भनाइ फेरी पनि पुष्टि भएको छ । जनमुक्ति सेनाको अन्त्य पश्चात भएको संविधान सभा चुनावमा जनताको एजेन्डाले हारेको छ । २०४७ सालको संविधान मान्ने र पश्चिमी शक्तिहरुको दोस्रो संविधान सभामा बाहुल्यता रहेको छ । यो. संविधान सभाबाट जनताको एजेन्डाले जित्ने र जनताको पक्षमा संविधान लेखीने कुरा असम्भव जस्तै भएको छ । जातिय, क्षेत्रिय र लिङ्गीय विभेदको विरुद्ध दश वर्षको जनयूद्ध लडेको र पहिलो संविधान सभामा सबैभन्दा ठुलो दल बनेको एकिकृत माओवादी यो संविधान सभामा तेस्रो दलमा खुम्चिएपछि झन जनताको पक्षमा संविधान लेखिने कुरालाइ असम्भव बनाइदिएको छ । त्यसैले सेना भनेको साध्य होइन साधन हो र यो त विचारले निमार्ण गर्ने हो यो आवस्यक पर्दा निर्माण गर्ने र भत्काउने कुमालेको भांडो जस्तो ठान्ने हाम्रो पार्टिका नेताहरुलाइ सायद अहिले जनमुक्ति सेनाको अभाव खडकिएको हुनु पर्छ र कुनै दिन विपीले जस्तै सेना यति छिटो बुझाउन नहुँदो रहेछ भनि आत्मबृतान्तमा लेखे भने कसैले अन्यथा नठाने हुन्छ । अल विदा
0 comments:
Post a Comment