जब दशैँ आउछ अनि
हामी परदेशीलाई रुवाउँछ ! आफ्नै देश आफ्नै परिवेश आफ्नै आफन्त र आत्मीय मित्रहरुको
सम्झनाले पिरोल्छ ! आफ्नै देशका उकाली ओराली, साथीभाईसँगको रमाइलो झल्झली आँखामा
आउँछ ! भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नोपन र आत्मियता छैन ! लाग्छ
परदेशीलाई दशै नआइदिए पनि हुन्थियो !
घरदेशतिर पनि चाडपर्व जब नजिकिन्छ, परदेशीको झल्को
लाग्छ भन्नु हुन्छ आमा । कोही आउँदा पनि आफ्नै मान्छे पो आयो कि भन्ने लाग्छ ।
आफ्नो मान्छे घर फर्केमा दशैंतिहार कत्ति रमाइलो हुने थियो भनेर छिट्टै फर्कन आमाहरुको
अनुरोध हुन्छ, हरेक दशैँमा । यता भने दशैमा घर जान्छु भनेर कति अनुनय बिनय गर्दा
पनि छुट्टी पाइदैन ! परदेशीलाई पनि परदेश बस्न रहर कहाँ हुन्छ र ? मान्छे
पैसा र भौतिक सुविधाले कहिले खुशी हुन् सक्दैन ! तर जीविकोपार्जनको लागि पैसा नभई
पनि हुदैन ! बाँच्नको लागि पैसा चाहिन्छ ! परिवारको लालन पालन शिक्षा दिक्षाको
लागि पैसा आवश्यक पर्छ ! यहि पैसाले हामी परदेशीलाई मरुभूमिले आफ्नो बनाइ दिन्छ !
रेगिस्तानको मरुभूमिमा अनेक कल्पना गर्दै दिनहरु बितिरहेछ !एक दिन घर फर्केर आफ्नो परिवारसँग बस्ने,धोको फेरेर दशैँ मनाउने
बाचा गरेर बिदेसिएका कति नेपालीहरु अनेक परिबन्धमा परेर बर्षौ सम्म विदेशमै
भासिन्छन ! संसारको जुन भूगोलमा भए पनि आफ्नो परंपरा संस्कृति भाषा संस्कार संगै लिएर आएका हुन्छौ ! त्यहि नै हाम्रो पहिचान हो ! त्यसैमा हामीलाई
अपार खुशी मिल्छ ! अझ जब दशैँ नजिकिन्छ !
आफ्नो गाउँघरको टोल टोलमा मच्चिने लिङ्गे पिङ्गहरु । ठाउँ ठाउँमा दुर्गा भवानीको
मन्दिरहरु ! दशैँ विशेष मेलाहरुको आयोजना गर्न
तम्तयार भएका युवायुवतीहरू । मेला आउने दिन गन्दै रमाएका केटाकेटीहरु । खेतमा
लहलह झुलेका धानका बालाहरु आँखा वरिपरी नाँचीरहन्छ ।
सबै अन्न बाली भित्र्याउने बेलामा,किसानहरु खुशी भैरहको बेलामा टुप्लुक्क आइपुछ दशैं
! आँगनको डिलमा फक्रेका सयपत्री र मखमली
फूलहरु चिसो चिसो बतासले ढलमल ढलमल नचाइर
होलान् ।रंगीबिरंगी पुतलीहरु ती फूल वरपर नाँचीरहेका होलान् ! गाउँघरका खरले छाएका
घरहरु सेतो कमेरो, रातो माटोले सिङ्गारिएका होलान् । शहरी क्षेत्रमा पनि घरहरुमा नयाँ
रंग,इनामेल पेन्टका साथ रङ्गीचङ्गी सजावटले नेपालीवस्तीहरु झिलीमिली भएका होलान् ।
बाध्यता, विवशता र कमाउने सपना बोकेर विदेशिएका कति नेपालीहरु दशैं तिहार मान्न घर फर्कदैहुनुहुन्छ होला । तर
कति भने दशैमा जान नपाउनुको पींडाले
रन्थनिइ रहेका होलान ।
मान्छे जहाँ छ जस्तो छ त्यहि परिवेशमा बाँच्न सिक्नुपर्ने रहेछ ! आजभोली विदेशमा बस्ने नेपालीहरुले पनि आफ्ना
चाड पर्वहरु बिभिन्न कार्यकमको साथमा
मनाउन थालेका छन ! बिभिन्न संघ सस्थाहरुले नेपालबाट कलाकार ल्याएर दशैँ
बिशेष कार्यक्रम पनि गर्न थालेका छन ! विदेशमा आफन्त भन्नु नै नेपाली साथीहरु हुन्
! पुर्व मेची देखि पश्चिम महाकाली जहाँका जुन सुकै भाषा धर्म र जातका वास्ता हुदैन
! वास्ता हुन्छ त आफ्नो देशका आफ्ना भाषा बोल्ने साथीहरुको ! जहाँ आफ्नोपन र
आत्मियता भेटिन्छ !
विदेशिएक नेपालीहरु आफ्ना आमा बाबा लालाबाला अनि आफन्तको मायाले
अत्याउछ ! सात समुन्द्र पारि रहेका नेपालीहरु आफ्नो बालबच्चा आफन्त सम्झेर दुखि हुन्छन ! एउटा आमा
जसले आफ्नो दुधे बालक छोडेर बिदशिएकी छ उसलाई छोरा छोरीको मायाले बिब्हल बनाउँछ । दशैंको बेला ढिपी गर्दै आफ्नो बाबा आमाको बारेमा छोरा छोरीले प्रश्नैप्रश्न तेर्स्याउँदा घरपरिवारका सदस्यहरुलाई भक्कानो छुटाउँदो हो ।बूढी आमा राता राता आँखाबाट बगेका आँशु थाम्नै
नसकेर मिजेत्रोले पुछ्दै रुदि हुन् , दाहिने हातले मुटु छाम्दि हुन् ! अथाह माया सल्बलाउदो हो छातीभरि ! छिटो
छिटो मुटु धड्कन्छ होला ! अझ धेरै दुख्दो हो,छाती, अझ चर्कदो हो मन आफन्तको
अभावमा ।
हामी परदेशीहरु पनि चाडवार्ड आउदा परदेशमै रोइरहेका छौ ! हाम्रो धन कमाएर फर्कने सपना पूरा नहुँदा कहिले फर्कने हो स्वदेश हामीहरु आफैलाई पत्तो छैन ! यस्तै छ गन्तव्यविहिन र अनिश्चित भविष्य लिएर बाँचिरहेका हामी परदेशी नेपालीहरुको बेदना ! आफ्नै देशमा स्वरोजगारको व्यवस्था होस् ! आफूले कमाएका धेर थोर रकमबाट आयमुलक केहि काम गर्ने वातावरण आफ्नै देशमा तयार होस् ! हामी सबैको चाहना,विचारहरुको सम्मान होस् । आफ्नै देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । नयाँ आउने संबिधानले सबै बर्ग र क्षेत्रका सम्पूर्ण कुराहरु समेटियोस् ! सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण सबैले पाउन सकून । सम्पूर्ण नेपालीहरुको सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको कामना गर्दै २०७१ सालको दशैको हार्दिक मंगलमय शुभकामना ।
भगवती बस्नेत
बल्खु, काठमाण्डौं
हाल: इजरायल
0 comments:
Post a Comment