Friday, September 26, 2014

दशैं हिन्दु धर्मावलम्वीहरुका लागि महत्वपूर्ण चाड हो । दशैंलाई आफन्तहरुको जमघट, भाइचार सम्बन्धलाई पुर्नताजगी गर्ने अवसरका रुपमा लिंदा पनि हुन्छ । धार्मिक विश्वासमा दैवी शक्तिले असुरी शक्ति अर्थात देवताहरुले राक्षसहरुमाथि विजय हाँसिल गरेको हर्षमा यो पर्व मनाइने उल्लेख छ । यस पर्वलाई विजया दशमी पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा विभिन्न चाडपर्वहरु रहेका छन् ति मध्ये दसैंलाई सबैभन्दा ठूलो चाड मान्ने गरिन्छ । नेपालमा शाहीकालमा राजालाई नै देवताको रुपमा अथ्र्याइएको थियो, त्यतिबेला हिन्दु राज्यकै रुपमा नेपाल रहेको थियो । दशैं १५ दिनसम्म र लगत्तै तिहार ५ दिन हिन्दुहरुले विशेष रुपमा मनाउने पर्व हुन् । यसका अलाभा दर्जनौ पर्वहरु रहेका छन् । पौराणिक कालखण्डमा धार्मिक विश्वास एउटा ऐन नियम परिधिजस्तो अथवा नैतिक बन्धनका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।
समयक्रमसँग धर्ममा विकृति पनि आयो, अन्धविश्वासलाई तोड्ने र धर्म संस्कृतिमा रहेका मौलिकपनलाई अगाडि बढाउनुपर्नेमा त्यसो हुन सकेन् । कतिपय अवस्थामा शासक र ठूला बडाले धर्मको नाममा नागरिकमाथि अन्याय, अत्याचार थोर्पन थाले । कालान्तरमा त्यसको विरोध हुन थाल्यो ।
धर्म मानिसको स्वेच्छाको कुरा हो, तर हाम्रो समाजले मानिसको स्वतन्त्रतालाई सामाजिक बन्धनले बाँधिदिएको छ । नैतिक, मनोवैज्ञानिक र सामाजिक परिबन्धले आफ्नो स्वतन्त्रता र चाहनालाई कुण्ठित पार्न नागरिकहरु विवस छन् । समाज र लोकलाई देखाउनुपर्ने बाध्यताले आफ्नो सामथ्र्य नहुँदा समेत मानिसहरु खर्च गर्न र खुशी भएको देखाउन कोशिष गर्दछन् । दशैं धेरै गरीव नागरिकका लागि दशा हुने गरेको छ । छिमेक र समुदायका अन्य सदस्यले दशैं विशेष रुपमा मनाउने तर विहान के खाउँ बेलुका के खाउँ भन्ने श्रमजीवि मजदुरलाई हरेक दशैंले बोझ नै थपिदिएको हुन्छ । एकातिर हुने खानेहरु आजभन्दा भोली चाडपर्व र संस्कृतिको मौलिकपनलाई भड्किलो बनाउन उद्दत छन् भने निमुखा नागरिकलाई भने बोझ हरेक बर्ष थपिंदो छ । यसर्थ हाम्रा धर्म संस्कृतिका मौलिक पक्षलाई जगेर्ना गर्दा भद्दा र भड्किलो पक्षको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ । कोही पनि नागरिकलाई धर्म, संस्कृति र रीति रिवाज बाध्यता या बोझ बन्न दिइनुहुँदैन ।
धर्म संस्कृतिका मौलिक पक्षलाई विकास गर्ने र भड्किलो, भद्दा र रुढीगत पक्षलाई विस्तारै हटाउँदै लैजानु उपयुक्त हुन्छ । अर्को पक्ष समाजले धर्म, संस्कृति, सामाजिक बन्धनलाई अलिक बृहद ढंगले हेर्न पनि जरुरी हुन्छ । मानिसले कुन धर्म संस्कृतिलाई अगाल्ने उसको स्वतन्त्रताको कुरा हो । सामाजिक मुल्य मान्यताको पनि एउटा सीमा हुनुपर्दछ, जुनसुकै अवस्थामा निरपेक्ष ढंगले सामाजिक बन्धनमा हरेक नागरिकलाई बाँध्न खोज्दा त्यसले असन्तुष्टीहरु पैदा गर्दछ् । धर्म संस्कृतिको सम्मान गर्ने कुरा एउटा हो, त्यसलाई अनुशरण नगर्ने र आफुले समाजलाई दख्खल नदिने ढंगले आधारभूत सामाजिक मुल्य मान्यतालाई आत्मसाथ गर्नसक्ने अवस्थालाई विकास गर्नुपर्दछ । त्यस्तै धर्मसंस्कृतिमा रहेका भद्दा विषयलाई हटाउने र आधुनिक समाज सुहाँउदो तरिकाले मनाउने हिसावले सोच्न आवश्यक छ । जस्तो दशैंका बेला अध्याधिक माछा मासु खाने प्रचलन छ, जुन स्वास्थ्यको लागि प्रतिकूल हुन्छ । माछामासु त सन्तुलित ढंगले पो खानुपर्दछ । दशैंका बेला अत्याधिक मात्रमा खाने अघिपछि धेरै समय माछामासु नखाने अवस्था विद्यमान छ । यसका साथै चाडपर्व भनेर अत्याधिक मदिरा सेवन हुने, झै झगडा हुने गर्दछ । यसलाई सुन्दर, भाइचारा सम्बन्ध विकास गर्ने पर्वका रुपमा र नयाँ नयाँ सिर्जना उन्नति प्रगतिका विषयतर्फ मोड्न अत्यावश्यक छ । दशैं मनाउन साधरण अति आधारभूत व्यवस्थापन गर्नका लागि हम्मे हम्मे पर्ने नागरिकहरु लाखौं छन् हाम्रो मुलुकमा । केही सीमित नागरिकले चाहेजति खर्च गर्न सक्लान्, अझ आवश्यकभन्दा बढी विलासिताका साथ मनाउन सक्लान् तर अधिकांश नागरिकका लागि दशैं रहर होइन कर अर्थात् बाध्यता बन्ने गरेको छ । यस्तो बाध्यता र करलाई साँच्चिकै रहरमा कसरी परिणत गर्न सकिन्छ भन्नेबारे सोच्न जरुरी छ ।
दशैं लगायत विभिन्न धर्मावलम्वीहरुले मनाउने चाडपर्व रहर नभई कर हुने, भित्र आत्मा खुशी नभएपनि समाजलाई देखाउन खुशी भएको अभिनय गर्नुपर्ने अवस्था आउनुमा मुलुकको अस्थिर राजनीतिक परिवेश पनि मुख्य कारक हो । राजनीतिक अस्थिरताले मुलुकको आर्थिक उन्नति हुन नसकेको हो । जसको प्रत्यक्ष प्रभाव नागरिकको जनजीवनमा पर्ने नै भयो । नेपालको राजनीति सीमित नेता र नेताका चाकरीवाजहरुलाई मात्र फलिफाप भइरहेको छ । नागरिकसम्म राजनीतिको प्रभाव साँचो अर्थमा पुगेकै छैन् । नेताहरु नयाँ संविधान लोकतन्त्र, संघीयता पुर्नसंरचना आदि इत्यादि भनेर संविधानसभा र केही सार्वजनिक कार्यक्रममा भट्याईरहेका छन् । तर वास्तवमा पछिल्लो समयमा नेताहरु नागरिकबाट धेरै हदसम्म कटिसकेका छन् । त्यतिमात्र नभई स्वयं आफ्नै पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुबाट समेत कटिरहेका छन् । यस्तो परिवेशमा राजनीतिक नेतृत्वले दशैंलाई एउटा अवसरका रुपमा लिदैं कार्यकर्ता र नागरिकसँग कटिरहेको आफ्नो सम्बन्ध पुर्नताजगी गर्ने र त्यसलाई निरन्तरता दिन सके राम्रो हुनेछ ।
यसका साथै राष्ट्रिय एकताका साथ देश विकास र उन्नतिमा अगाडि बढ्न आवश्यक छ । दशैंमा अलिक फुर्सद हुने हुँदा अलिक फराकिलो दिमाग बनाएर सोच्ने अवसर नेताहरुलाई मिलोस् भनेर नागरिकले सुभेच्छा प्रकट गर्न आवश्यक छ । हाम्रा दल  र नेता आफुलाई धुरी बनाएर हेर्ने संकुचित मनसुवाका साथ अगाडि बढेका छन् त्यसलाई तोडेर बृहद राष्ट्रिय हितका पक्षमा एकरुप सोचाई बनाउन अत्यावश्यक छ । नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक विकास, स्वदेशमा नै रोजगारीको सिर्जना, उद्यमशीलता गर्न चाहनेहरुलाई राज्यका तर्फबाट लगानी गर्ने तथा राज्यकोषमा ब्रम्हलुट गर्नेहरुलाई सबैको सहमतिमा फाँसि या आजीवन कारावास र राज्यका सबै सुविधाबाट बन्चित गर्ने र गैरकानुनुी सम्पत्ति राज्यको नियन्त्रणमा लिने व्यवस्थाका साथ अगाडि बढन्ुपर्छ । यसका साथै भ्रष्टाचार रोक्न शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यले पुर्ण दायित्व निभाउनुपर्दछ । यस्ता विषय दशैंका अवसरमा छलफलका विषय बन्न सकुन् दशैं मनाउने सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपालीहरुमा सतत् शुभकामना ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts