Friday, September 26, 2014

“लाहुरेलाई चाडवाड नआएकै जाती, परिवारको सम्झनाले पोल्छ मेरो छाती” कर्ण दासको आवाजमा भएको यो गीत केवल शब्द मात्र नभएर कामको खोजीमा खाडी मुलुक भासिएका बीस लाख भन्दा बढी प्रवासी नेपालीहरुको प्रतिनिधी आवाज पनि हो । पहिले पहिले आफ्ना छोराछोरीलाई दशैतिहार अनि चाडवाड मनाउने जोहो गर्न नसकेर आमा रुने गर्थिन आजभोली त्यही छोराछोरी परदेशमा बन्धकी बसेर चाडवाड मनाउने जोहो त भएको छ तर घरपरिवार पुरै शुन्य भएको छ अझ भनौ दशै मानिदिने मान्छे नै छैन । एक या दुई घर मात्रै होइन गाउँ पुरै शुन्य भएको छ युवाहरु विदेसिएका छन् महिला केटाकेटी र बुढाबुढी बाआमा नआउने छोराछोरीको बाटो कुरिरहेका छन् यही नै हाम्रो वर्तमान समाजको तीतो यथार्थता हो ।
नेपालीहरु जहाँ पुगेपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् । प्रवासको प्रतिकुल बसाईलाई पनि अनुकुलतामा बदल्दै आफ्ना चाडपर्व र सँस्कृतिहरुलाई कुनै न कुनै रुपमा आत्मसात गरिरहेको हामीले पाउछौ । धेरै नेपालीहरुको चाहना सकेसम्म आफ्नै देश फर्किएर घर परिवार र आफन्तहरुसँग दशै तिहार मनाउने चाहना हुन्छ त्यसैको लागि विदाको लागि पहलकदमी गर्न खोज्छन् । विदा पाउन सफल हुनेहरु ठुलो युद्ध जितेका सिपाही झै बर्षभरिको दुःख र पीडाहरुलाई विर्सिएर घर परिवार र आफन्तहरुको मिलनको उमंग मनभरि सजाउदै मातृभुमी फर्किने तयारीमा लाग्छन् भने विदा नपाउनेहरु मनलाई बाँधेरै भएपनि फेरी आफ्नै कर्म क्षेत्रमा लाग्ने गर्छन अर्को कुनै चाडवाडमा परिवार र आफन्तहरुसँग भेट्ने सपनाका साथमा, प्रवासिएकाहरुको नियति नै यही हो । यस्तै तरिकाले चलिरहन्छ परदेशीहरुको जीवनचक्रहरु । एकातिर घर परिवारले किन आएन भनेर बारम्बार सोध्नुको पीडा र अर्कातिर चाहेर पनि जान नसक्नुको बाध्यताका वीचमा जाँतोमा पिसिएको घुन जस्तै पिसिइरहेका छन् विदेशमा रहेका नेपालीहरुको सपनासँगै मनहरु पनि । खाडीलाई कर्मथलो बनाएर बसिरहेका र आफ्नो देश फर्किन नपाएका केही धादिङबासीहरुपनि आफ्ना आफ्नै तरिकाले नेपालीहरुको महानपर्व वडादशैलाई स्वदेशमा जस्तै धेरै दिन लगाएर बृहत तरिकाले मनाउन नसकेपनि भेटघाट, रमाइलो र सामाजिक कार्य मार्फत मनाउने तयारी गरिरहेको बताउछन् ।
ज्याम्रुङ–४ सिम्ले घर भई दुवईमा कार्यरत लक्ष्मण लामिछाने यो हुने खानेको लागि मात्र दशै हुने र नहुनेहरुका लागि दशा सावित हुने बताउछन् । भन्छन् दशै त हामी प्रवासीहरुको लागि “कागलाई बेल” सरह नै त हो । घरमा नहुदा पनि छरछिमेकमा फोस्रो आडम्बर देखाउनकै लागि भएपनि ऋण खोजेरै भएपनि रवाफिलो र भड्किलो बनाउन खोज्दा एकातिर आर्थिक वोझले उठ्नै नसकिने गरि थला पर्छ भने अर्कोतिर सामान्तवादी सँस्कार र चिन्तनले झन् भन्दा झन् बढी चेप्दै लैजान्छ त्यसैले दशैलाई कुनै पनि रुपमा नमनाउने निर्णय गरिएको सुनाउछन् । उनको कथन थियो “एउटै सिक्काको दुई पाटा भए जस्तै हरेक संस्कार, संस्कृति र परम्पराको पनि नकारात्मक र सकारात्मक पक्ष हुने गर्छ , यदि यो दशैलाई पनि अधिकतम प्रगतिशील बनाउने हो भने महँगो व्याजमा ऋण खोजेर आफुसँग हुदै नभएपनि भारी मात्रामा दक्षिण दिनुपर्ने, बलि दिनुपर्ने जस्ता प्रथाको अन्त्य गरि ठुलाबाट आदरसम्मानका साथ आर्शिवाद लिने र सानामा माया प्रेम बाड्ने पर्वको रुपमा विकसित गरिनुपर्छ ।
ज्याम्रुङ–९ घर भई युएईमा कार्यरत धादिङ समाज युएईका पुर्व अध्यक्ष तथा गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङ्ग आफुले साथीभाइहरुसँग भेटघाट गरेर रमाइलो गर्न समय नमिल्ने भएकाले सामाजिक सेवाको कार्य मार्फत दशैको नयाँ परिभाषा बनाउने कोशिशमा रहेका बताउछन् । सन् २००० पछि एकदुई पटक बाहेक परिवारसँग दशै नमनाएको वताउने गुरुङ चाडवाडका नाममा हुने अनावश्यक खर्चलाई कटौति गरेर सामुदायिक विद्यालयमा पढ्ने गरिब किसानका छोराछोरीहरुका शिक्षाका खातिर लगानी गर्न अनुरोध गर्छन । २१ औ शताब्दीको संघारमा आइपुग्दा पनि कैयौ गाउँ वस्तीहरु कम्प्युटर शिक्षाबाट बञ्चित छन् त्यसलाई समुल अन्त्य गदै गाउँगाउँमा शिक्षाको उज्यालो ज्योति छर्नको लागि अनावश्यक खर्चहरु कटौती गर्दै आफुले लामो समयदेखि ती खर्चहरुलाई कम्युटर शिक्षा अभियानमा लगाएको र अबका दिनहरुमा पनि त्यसै गर्ने प्रतिवद्धता जनाएका छन् । पुर्खाका धरोहर चाडपर्वहरुलाई सभ्य, सालिन र ठुलाबडाहरुबाट टिकाटालो र आर्शिवाद लिने पर्वको रुपमा विकास गर्दै लाने र अनावश्यक तथा गलत सँस्कृतिहरुलाई परिमार्जन गर्दै जानुपर्ने दायित्व युवा पिढीको भएको बताएका छन् ।
मैदी ९ मजुवाटार घर भई युएईमा कार्यरत नेपाली जनप्रगतिशील मोर्चाका कोषाध्यक्ष विचारी लामिछाने मनोरन्जनको लागि प्रवासमा दशै मनाएपनि वास्तविक दशै नहुने बताउछन् । गर्न त साथीभाईहरुसँग एकदिन भनेपनि सँगै बसेर रमाइलो गरिन्छ तर पनि आफ्नै घर परिवारसँग बसेर मनाए जस्तो त कहाँ हुन्छ र ? परिवारसँग भिन्दै बसेर मनाएको दशैको खासै महत्व हुदैन, उनको कथन थियो । विदेशी भुमिमा बसेर आर्थिक रुपमा केही सवल भए पनि गाउँमा अझै कैयौ परिवार दशै मनाउन सक्ने अवस्थामा पनि छैनन् त्यसैले गरिब परिवारहरुलाई दशै मनाउनको लागि आर्थिक सहयोग गरेको र दशैलाई विशुद्ध साँस्कृति पर्व मात्र नभई सामाजिक समानताको पर्वको रुपमा पनि विकसित गर्नु पर्ने कुरामा जोड दिन्छन् ।
दशैको लागि विदा मिलाएर स्वदेश फर्किसकेका मलेसियामा कार्यरत किराञ्चोकका रामकुमार अधिकारी लामो समयपछि घर परिवार र आफन्तहरुसँगै दशै मनाउन पाएकोमा खुसी देखिन्छन् । उनको कथन थियो दशैको समयमा टाढाटाढा रहेका आफन्तहरुसमेत जम्मा हुने भएकाले एक आपसमा दुःख सुख साटासाट गर्दै भातृत्व र अपनत्वको विकास गर्नु नै प्रमुख ध्येय हुनेछ । खाने बस्ने र रमाइलोको लागि मात्रै त विदेशमा पनि प्रशस्त व्यवस्था हुने तर स्वदेशी मन अनि स्वदेशीपनमा छुट्टै किसिमको आनन्द अनुभुति गरेको उनले बताए ।
वितेको बर्ष दशै तिहार दुवै स्वदेशमा नै मनाएर फर्किएका नलाङ घर भई खाडी मुलुक कतारमा कार्यरत सञ्जय सिलवाल विदेशमा रहेकोले विजयादशमीको दिनमात्र दशै मनाउने बताउछन् । विगतका बर्षहरुमा छुट्टीको दिन नपरेपनि विदा लिएर दशै मनाएको सम्झदै यसपाली सार्वजनिक विदाको दिन नै विजयादशमी परेकोले कतारमा नै रहेका धादिङवासी र नजिकका आफन्तहरुसँग भेटघाट गरि शुभकामना आदानप्रदान गरेर दशै मनाउने बताउछन् । उनको भनाई थियो दशैको परिभाषालाई ठिक ढंगले बुझेर आत्मसात गर्न सक्यो भने मात्र दशै वास्तविक दशै हुन्छ अन्यथा दशामा परिणत नहोला भन्न सकिन्न त्यसैले घाँटी हेरेर हाड निल्न अनुरोध गर्दछु ।
फुलफर्क घर भई युएईमा कार्यरत धादिङ समाज युएईका अध्यक्ष भीम अधिकारीले धादिङ समाज युएईले धादिङवासीहरु वीच विजयादशमीको दिन वृहत बनभोज कार्यक्रमको आयोजना गरि दशै मनाउन लागेको बताए । एकातिर आफ्नो साँस्कृतिक पर्वको जर्गेना पनि हुने र अर्कातिर जिल्लावासीहरु वीच भेटघाट र शुभकामना साटासाट पनि हुने भएकोले “एक पन्थ दुई काज”को रुपमा बनभोज कार्यक्रमको आयोजना गरिएको प्रष्ट पारे ।
साँस्कृति पर्वहरु नेपालीहरुका साझा धरोहरहरु हुन् जुन एक पुस्तावाट अर्को पुस्तामा रुपान्तरित हुदै आइरहेको छ । यी साँस्कृतिक पर्वहरुलाई नेपालीहरुले जहाँ जहाँ गए त्यहाँ लिएर नै गइरहेका छन् जसले धार्मिक सहिष्णुता र “बसुधैबम् कुटुम्बकम्”को भावनालाई मजबुत बनाउन सहयोग गरेको छ । तर पछिल्लो समय देशमा विकसित घटनाक्रमहरुले नेपाली समाजलाई धार्मिक, साँस्कृतिक र साम्प्रदायिक रुपमा समेत विभाजित र खण्डित बनाउन सुरु गरेको छ । विविधतायुक्त बहुजातिय, बहुभाषिक र बहुसाँस्कृति नेपाली समाज, एकअर्काका भाषा धर्म र सँस्कृतिलाई सम्मान र आदरपुर्वक व्यवहार गर्ने नेपाली समाज पछिल्लो समयमा एकअर्काको विरोध गर्ने अवस्थामा पुगेको छ जसबाट रोजीरोटीका खातिर विदेसिएका नेपालीहरु समेत अछुतो हुन सकेको छैन जुन शान्त र समृद्ध देश निर्माणको लागि घातक सिद्ध हुने निश्चित छ ।
चाहे हिन्दु धर्मावलम्बी हुन् या वौद्ध, क्रिश्चियन, मुश्लिम धर्मावलम्वी सवैले एक अर्काको भाषा तथा सँस्कृतिलाई सम्मान गर्न सकेमात्र समाजलाई बदल्न सकिन्छ । यी पर्वहरुमा भएका संकीर्ण र पुरातनवादी एवं अनावश्यक ढोगी कार्यविधीहरुलाई परिमार्जित गर्दै कम धार्मिक र बढी सामाजिक तथा मानवीय रुपमा विकास गर्न सके स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुले एक अर्काका पर्वहरुलाई स–सम्मान स्वीकार गर्न सक्ने वातावरण बन्ने थियो । बढ्दै गएको महँगीको चापलाई केही भने पनि कम गर्न घरपरिवार एवं आफन्तको मायालाई एकातिर पन्छाएर खाडीमा पसिना बगाईरहेका आफ्ना श्रीमान या छोराहरुले कमाएर पठाउछन् भन्ने आशामा अनावश्यक र फजुल खर्च गर्ने स्वदेशमा रहका आफन्तहरुले पनि बुझ्न जरुरी छ कि एकदिनको अनावश्यक तडकभडक र रवाफले अझै कति औ बर्ष आफन्तहरुसँग विछाडिएर निर्जन मरुभुमिमा पसिना बगाइरहनुपर्छ । त्यसैले दशै तिहार छठ इद लगायत पर्वहरुलाई अनावश्यक बोझको रुपमा नभई परिमार्जित स्वरुपमा आत्मादेखि नै स्वीकार्न सक्ने वातावरणको सिर्जना गरौ ।



0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts