Saturday, April 14, 2012

सुदिप विश्वकर्मा, काठमाडौं, असार ३० । 
काठमाडौंको जडीबुटीनजिकै ढुंगेधारास्थित सडकछेउमा ढुंगालाई विभिन्न आकार दिएर जाँतो, सिलौटो र लोहोरो बनाउँदै गरेकी भारतीदेवी कुसुमबाडी यो पेसा आफूहरूको पुर्खौली पेसा भएको बताउँछिन् । जाँतो, सिलौटो र लोहोरो बनाउनु उनीहरूको दिनचर्या नै हो साथै पुर्खौली पेसा पनि । दश वर्षको उमेरदेखि यही काम गर्दै आएको भारती बताउँछिन् ।
ढुंगामाथि बसेर उनी अर्को ढुंगालाई आकार दिंदै थिइन् । केही समयको कठिन मेहनतपछि केही समयमा त्यो ढुंगाले सिलौटाको रूप लियो पनि । त्यस्तो कठिन मेहनतले बनाएको सिलौटालाई आकार हेरी ३ देखि ५ सय रूपैयाँमा बेच्छिन् र जाँताको भने अलि मेहनत पनि बढी हुने र कठिन हुने भएकाले आकार हेरी ८ सयदेखि १ हजार रूपैयाँ लिन्छिन् । भारतीदेवीका श्रीमान् अशोक कुसुमबाडी सर्लाहीबाट प्रतिगोटा ५० का दरले ढुंगा किनेर काठमाडौं ल्याउँछन् त्यसको गाडीभाडा भने प्रतिढुंगा ५० का दरले तिर्ने गरेको भारतीदेवीको भनाइ छ ।
स्थायी घर सर्लाही मलंगवा भएकी भारतीदेवी आफूले गर्ने पेसाबाटै आत्मनिर्भर भएको बताउँछिन् र भन्छिन्, ‘दैनिक ३ देखि ४ वटा सिलौटा बिक्री हुन्छन् ।’ दिनको ८ देखि ९ सय कमाइ हुने उनी बताउँछिन्  । आफूले पढ्ने अवसर नपाएकोप्रति दुःख पोख्दै आफ्ना दुई हात–खुट्टा चलुन्जेल जस्तोसुकै दुःख गरेर भए पनि आफ्ना छोरा–छोरीलाई गुणस्तरीय शिक्षा दिने धोको उनमा छ । त्यसैले होला सायद उनले महँगो शुल्क तिरेर भए पनि आफ्ना ३ छोरीलाई बोर्डिङमा पढाएकी छिन् । महानगरपालिकाले कहिलेकाहीं हटाउने गरेकोप्रति भने दुखेसो गर्दै भन्छिन्, ‘हामी गरिब मान्छे हौं किन सरकारले हामीलाई दुःख दिन्छ । काम गरेर त खान पाउनु प¥यो नि ।’
आफूहरूको जग्गाजमिन नभएको र आफ्ना बाबुबाजेले गर्दै आएको पेसा गर्नुबाहेक अरू केही विकल्प नभएको उनी बताउँछिन् । स्थायी घर बारा जिल्ला कलैया भएकी आशादेवी कुसुमबाडी । आफूहरूले गर्दै आएको पेसाबाट आफ्नो १२ जनाको परिवारलाई ढुक्कले पालेको उनको दाबी छ । उनका श्रीमान्ले पनि यो पेसामा साथ दिएका छन् र कलैयाबाट ढुंगा ल्याउँछन् । कति कमाइ हुन्छ भन्ने प्रश्नको जबाफ दिंदै भन्छिन्, ‘त्यस्तै हो दिनको ३ देखी ५ वटा सिलौटा जान्छ, ९ सयदेखि १ हजार रूपैयाँ हुन्छ ।’ आफूले गर्दै आएको पेसाबाट नै आफ्ना बालबच्चालाई उचित शिक्ष दिने अठोट गर्छिन् स्थायी घर नवलपुर बताउने रीता कुसुमबाडी । कति कमाउनु हुन्छ एक दिनमा रु भन्ने प्रश्नमा उनको जबाफ थियो, ‘धेरै हँुदैन त्यही दिनको १ हजार चाहिं कमाउँछु ।’ यो कमाइले सजिलै गुजारा चलेको उनको भनाई छ ।
यसरी महिलाहरूले लोप हुने अवस्थामा पुगेको आफ्नो पुर्खौली पेसालाई जोगाउनु पक्कै पनि एक राम्रो कदम हो । यस्ता पेसाहरूको संरक्षण हुने हो भने सामान्य नागरिकले आफै रोजगारीको सिर्जना गर्न सक्छन् । एउटा परिवार आत्मनिर्भर हुनुले समाजलाई फाइदा पुग्छ र समाजलाई फाइदा पुग्नु भनेको राष्ट्रलाई फाइदा पुग्नु हो । यसर्थ यस्ता पेसाको संरक्षण हुन जरुरी छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts