Wednesday, May 23, 2012

संविधान घोषणा हुने दिन जति नजिकिँदो छ त्यति नै राजनीतिक सारगर्मी बढिरहेको छ । संविधान बन्छ कि बन्दैन भन्ने अन्यौलमा यतिबेला सबैको ध्यान जेठ १४ मा केन्द्रित हुन पुगको छ । आगामी जेठ १४ मा संविधान घोषणा गर्नुको अर्को  विकल्प छैन । विकल्पविहीन जेठ १४ संघारमै आइपुगेको छ । त्यसैले यतिबेला दिन र घण्टाको मात्र होइन मिनेट र सेकेन्डको पनि उत्तिकै महत्व छ । विगत चारवर्षदेखि संविधान निर्माणमा दलहरु बीच देखिएको उदासिनताले जनतामा देखिएको निराशा पछिल्लो चरणमा दलहरु बीच भएका आपसी सहमति र संविधान निर्माणमा देखिएको सक्रियताले गर्दा केही आसामा परिणत भएको थियो तर विभिन्न समूहले गरेको बन्द राजनीतिको दबाबसँगै सहमति भैसकेका कुराहरुमा फेरि सुरु भएका विवादले गर्दा नयाँ संविधान गर्भमै रहने संभावना पनि त्यत्तिकै बढ्दै छ ।
दलहरु बीच भएका पछिल्ला सहमतिमाथि भाँजो हाल्ने काम बन्द राजनीतिले गरिहेको छ । यतिबेला बन्द राजनीतिले सम्पूर्ण संविधान निर्माण प्रक्रियालाई बाधा पुर्याइरहेको छ । विभिन्न माग तेस्र्याउने र पूरा नभए बन्द गरिहाल्ने गैरजिम्मेवार काम विभिन्न समूह उपसमूहबाट हुन थालेको छ । लोकतन्त्रमा माग राख्ने अधिकार सबैलाई छ तर माग वैधानिक बाटोबाट राखिनुपर्छ । माग राख्ने तरिका विधिसम्मत हुनुपर्दछ । मूढेबलकै भरमा आफ्ना मागहरु पूरा गराउँछु भन्ने दुस्साहस कसैले पनि देखाउनुहुन्न । यस्तो मूढेबलको प्रदर्शनीले सुखद परिणति पनि दिँदैन । मात्र अनिष्ट निम्त्याउँछ ।
हरेक कुराको एउटा समय हुन्छ र सीमा हुन्छ । समय घड्किएर वा सीमा नाघेर कुनै पनि मागहरु तेस्र्याइन्छन् भने त्यो मागका लागि माग मात्र हुन्छ । ठीक माग, ठीक समयमा, ठीक विधि र प्रक्रियाले ठीक ठाउँमा राख्यो भने मात्र त्यो मागको संवोधन हुन्छ । अन्यथा वेढंगका मागले मागको नाममा जात्रा मात्र हुन्छ । त्यस्ता मागले केही मौसमी नेता जन्माउने काम त गर्छ तर जनतालाई कुनै राहत दिनेवाला छैन । अहिले देशका विभिन्न भागमा भएका बन्दले पनि जनतालाई आहत बनाएको छ । परिणति चाहिँ बन्द आह्वानकर्तामध्येबाट केही मौसमी नेता जन्माउने काम शिवाय केही भएको छैन ।
संविधान घोषणाको संघारमा आएर विभिन्न समूहले आफ्ना माग तेस्र्याउने र दबाब सिर्जना गर्ने नाममा देशका विभिन्न भाग वा सिंगो देशलाई नै जुन ढंगले बन्द गराउने काम गरेका छन् त्यो कुनै पनि दृष्टिले उचित होइन । पत्रकार सम्मेलन गरी जुवाको खालमा झैँ आफ्ना माग फालेर अनि दबाबका नाममा बन्दको घोषणा गर्ने सस्तो र अलोकप्रिय शैलीले आमजनता दिक्क भैसकेका छन् । किन सडकमा माग तेस्र्याएर सडक बन्द गर्नु र जनतालाई दुख दिनु रु के जनतासँग माग पूरा गरिदिने अधिकार छ र यतिबेला रु अवश्य नै छैन । यतिबेला माग पूरा गर्नसक्ने सबै अधिकार कि त दलहरुमा छ नभए ६०१ सभासद्हरुसँग मात्र छ । त्यसैले हरेक समूह, जसले आफ्ना माग प्रस्तुत गर्नु छ उसले राजनीतिक दल, दलका प्रमुख नेता, सभासद्, सभामुख वा संविधानसभा समक्ष राख्नुपर्छ । र दबाब नै दिनुपर्ने भए दल, दलका नेता, सभामुख र सभासद्हरुलाई दिनुपर्छ । निरिह जनतालाई दुख दिएर माग पूरा हुँदैन । न त यसले बन्दकर्ताको कुनै बहादुरी नै देखिन्छ । बन्द, हड्ताल, चक्का जाम गराएर कसैलाई आफ्नो अस्तित्व स्थापित हुन्छ भन्ने लागेको छ भने त्यो भन्दा ठूलो अर्को भ्रम केही हुन्न । यसबाट आत्मरतिमा रमाउने काम होला तर आसातित परिणति निस्कन्न । त्यसैले मनोवैज्ञानिक रुपमा बन्द संस्कृतिलाई हेर्ने हो भने बन्द आफ्नो हिनताबोधी भावना प्रदर्शन गरेर आत्मरतिमा रमाउने अपरिपक्व प्रयास बाहेक अर्को केही पनि होइन ।
संविधान घोषणाको संघारमै आइपुगेको बेला विभिन्न माग राखी विभिन्न समूहले गरेको बन्दप्रति राष्ट्रसंघीय महासचिव वान्की मूनले समेत चासो लिँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् । मूनले मागहरु प्रति दलहरु गम्भीर हुनुपर्ने र मागकर्ताहरुले पनि विधिसम्मत प्रक्रियाबाट आफ्ना मागहरु राख्नुपर्ने कुरामा जोड दिएका छन् । कुटनीतिक रुपमा जे जस्तो भाषा प्रयोग गरे पनि वानको मनसाय भनेको बन्द गराएर आफ्ना माग पूरा गराउन खोज्नेहरुको गलत प्रक्रिया प्रति लक्षित छ भन्ने कुरा बन्द आह्वाकर्ताले पनि बुझ्नुपर्ने कुरा हो ।
राष्ट्रसंघका महासचिवले नेपालको अस्तव्यस्त बन्दका बारेमा चासो र चिन्ता व्यक्त गरिसक्दा पनि स्वयम् आन्दोलनकारीहरु भने मूढेबलकै भरमा सबै प्राप्ति गर्नुपर्छ भन्ने रेडिमेट मानसिकतामा हिँडिरहेका छन् । यस्तो मूढेबललाई प्रोत्साहन गरियो र मूढेबलले अगाडि सारेका माग पूरा गरियो भने यसले कानुनी साशनको अवधारणालाई पूर्ण रुपमा उपेक्षा गर्ने मात्र नभई भविष्यमा पनि माग पुरा गराउन बन्द नै गराउन पर्छ भन्ने गलत नजिरहरु स्थापना गर्दछ । त्यसैले बन्द हड्तालबाट आएका यस्ता मागलाई संवोधन गर्नुको सट्टा वैधानिक प्रक्रियाबाट माग राखेर आउनुपर्छ  र त्यस्ता माग मात्र संवोधन गरिन्छन् भन्ने कुरामा दल, सरकार र संविधानसभा एकमत हुनुपर्दछ ।
चार वर्षको संविधानसभाको अवधिमा चाहिँ दलहरुले संविधान बनाउँदैनन् भन्दै हल्ला गरेर बस्ने अनि संविधान घोषणा हुन लाग्दा भने बन्द हड्ताल गराएर संविधान घोषणा प्रक्रियालाई नै अवरोध सिर्जना गर्ने गतिविधि कुनै पनि सचेत र जिम्मेवार नागरिकलाई सुहाउने कुरा होइन । हो आन्दोलनकारीका मागलाई सबैले सकारात्मक आँखाले हेर्नुपर्छ तर माग पुरा गराउन गरिएका अवाञ्छित क्रियाकलापलाई कसैले पनि सकारात्मक आँखाले हेरिनुहुन्न । त्यसैले बन्दलाई खुलाउने काममा सरकार वार्तामा लचिलो मात्र हुने होइन कि बल प्रयोग गर्ने कुरामा पनि सक्षम हुुनुपर्दछ ।
बन्द आह्वानकर्ताका मागहरु प्रति सकारात्मक हुँदा हुँदै पनि तीतो सत्य चाहिँ के हो भने संविधान घोषणाको अन्तिम घडीमा आएर तेस्र्याएका माग बेमौसमी बाजाहरु हुन् । माग चाहे जायज नै किन नहुन् तर ती मागका बाजाहरु मौसममा बज्नुपथ्र्यो । तरल राजनीतिक अवस्थाको फाइदा उठाँदै मौसमी माग तेस्र्याएर बेमौसमी बाजा बजाउने कामले संविधान घोषणालाई सहयोग पुर्याउँदैन बरु बाधा पुर्याउँछ । यो संविधानमा भाँजो हाल्ने काम हुन्छ ।
देश नयाँ संविधान जन्माउनको लागि प्रसव वेदनामा छ । यस्तो जटिल अवस्थमा सबैमा धैर्यको खाँचो छ । प्रसव वेदनामा छटपटिएको देशलाई प्रसव वेदनाबाट मुक्ति दिने कि अझ वेदनामा होम्ने भन्ने कुरा यतिबेला हामी सबैले मनन गर्नुपर्दछ । इतिहासले यसबेला हाम्रो काँधमा ठूलो जिम्मेवारी दिएको छ । त्यसैले हरेक व्यक्ति, समूह र समुदायले नयाँ संविधान घोषणमा बाधा पुर्याउने होइन कि सहयोग पुर्याउनुपर्छ । बन्द आह्वानकर्ताका माग जायजै छन् भने त्यस्ता माग संविधान घोषणा पछि पनि संवोधन हुन सक्तछन् । संविधानमै समावेश गर्नुपर्ने माग रहेछ र मागको औचित्य पुष्टि हुने रहेछ भने भोलिका दिनमा संविधान संशोधन नै गरेर पनि त्यस्ता मागहरु समेटिन सक्तछन् ।
तर आफ्ना मागको औचित्य पुष्टि दबाबमा होइन बहसका आधारमा गर्नुपर्दछ । त्यसैले यस्तो अन्तिम घडीमा आएर माग तेस्र्याएर देशलाई बर्बादीको खाडलमा धकेल्ने होइन कि देशलाई प्रसव वेदनाबाट मुक्ति दिनुपर्दछ । कोही कसैले पनि यो विचलित हुने र उत्छृंखलता प्रदर्शन गर्ने समय होइन र यो कसैको हार जितको समय पनि होइन । सबैले धैर्य राख्ने र संयमित हुने समय हो । देश जिते सबैको जित हुन्छ र देश हारे सबैको हार हुन्छ । यो कुरा मनन गर्दै यतिबेला सबैले धैर्य गरौँ, मौसमी माग तेस्र्याएर बेमौसमी बाजाहरु नबजाऊँ । संविधानमा भाँजो हाल्ने होइन, संविधान निर्माणमा सबैले आ–आफ्नो तर्फबाट सबैले सहयोग पु¥याऊँ । यसैमा सबै नेपालीको उज्ज्वल भविष्य छ र सबैको जितै जित हुन्छ ।
 मोबाइल  ९८५११०४४३३

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts