९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राजदूत जयन्त प्रसादबीच भेटवार्ता भएको छ ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको भेटमा राजदूत प्रसादले राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयासबारे जिज्ञासा राख्नु भएको थियो ।
जवाफमा माओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच भइरहेको छलफल सकारात्मक रहेको र संविधानसभाको नयाँ निर्वाचनका लागि दलहरु धेरै नजिक रहेको बताउनु भयो । माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच अनौपचारिक छलफल भइरहेको भन्दै उहाँले छिट्टै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।
दलहरुबीच संविधानसभाको निर्वाचन वा अन्य निर्वाचन गर्ने भन्नबारे छलफल चलिरहेको भन्दै प्रचण्डले संविधानसभामा संविधान निर्माणको विषयमा जुन विन्दुमा सहमति टुटेको थियो त्यहीबाट सहमति खोज्ने प्रयास भइरहेको बताउनु भयो ।
भेटपछि माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भारतीय राजदूतले समसामयीक विषयमा चासो राखेको जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार नै जर्मन राजदूत भ्रेरना ग्राफिन भोन राइड्रेनले भेट्नु भएको छ । राजदूत भ्रेरनाले शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गर्नु भएको थियो ।
0 comments:
Post a Comment