Thursday, August 1, 2013

झक्कु प्रसाद सुवेदी
अभियानका सिलसिलामा धादिङ क्षेत्र नं.३ आएका एमाओवादी नेता झक्कु सुवेदी पहिलो संविधान सभाको निर्वाचनमा निकै चर्चामा आएका पात्र हुन् । उनले एमालेका प्रभाव शानि नेता माधव नेपाललाई समेत पछारेका थिए । उनै झक्कु प्रसाद सुवेदीले विगत सम्झदै एक दैनिक पत्रिकालाई दिएको अभिव्यक्ति

जनआन्दोलन-०४६ पछि मैले नेता माधवकुमार नेपाललाई चिनेँ । ०४९ को स्थानीय चुनावमा जिल्ला विकास समिति रोल्पाको सभापति भएदेखि नजिकबाट उहाँसँग चिनजान भयो । उहाँ नेता मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्री बन्नुभएको थियो ।
माओवादीले १ फागुन ०५२ बाट जनयुद्ध सुरु गर्‍यो । त्यसैदिन माओवादीले होलरीमा आक्रमण गर्‍यो । आक्रमणको आरोपमा मलाई २ फागुनमा गिरफ्तार गरियो र दाङको तुल्सीपुर जेलमा पठाइयो । कसैलाई भेट गर्न दिइएको थिएन । ०५३ सालको सुरुतिर नेता नेपाल रोल्पा जानुभएछ । रोल्पाबाट तुल्सीपुर झरेर मलाई जेलमै भेट्नुभयो । काठमाडौं फर्केर पत्रकार सम्मेलन गरी होलेरीकाण्डमा ‘म’ निर्दोष रहेको बताउनुभएछ । होलेरी आक्रमणका वेला म सदरमुकाम लिवाङमै थिएँ । जनयुद्धकालमै एमालेले कांग्रेसलाई साथ दिएर राष्ट्रघाती महाकाली सन्धि गर्‍यो । त्यसपछि नेता नेपालप्रतिको मेरो विश्वास ह्वात्तै घट्यो । पछि, ‘आधा प्रतिगमन सच्चियो’ भन्दै शेरबहादुर देउवाको सरकारमा जाने निर्णय गर्नुभयो । प्रधानमन्त्रीका लागि ज्ञानेन्द्रजस्तो निरंकुश राजालाई निवेदन पनि दिनुभयो । ज्ञानेन्द्रलाई पैसा राखेर ढोगेको पनि जनताले देखे । यी कारणले कम्युनिस्टको नाममा उहाँको अवसरवादी चरित्र उदांगो भयो । राजदरबार हत्याकाण्डको विरोध पनि उहाँबाट भएन, सामन्तवादको चाकरी गर्नुभयो ।
माओवादीले ०५८ सालमा दाङ आक्रमण गर्‍यो । शेरबहादुर देउवाले माओवादीलाई आतंककारी घोषणा गरे । ६ महिनापछि पुनःसंकटकाल थप्न एमाले नेता नेपालले कांग्रेसलाई सहयोग गर्नुभयो । दोस्रो संकटकालमा सबैभन्दा बढी मानिस मारिए, बेपत्ता पारिए । एमालेले संकटकाल थप्न समर्थन नगरेको भए, सायद यति धेरै मानिस मर्ने थिएनन् । यहाँनिर नेता नेपालको बुद्धि पुगेन, राजनीति गद्दारी भयो ।
यसबाहेक नेता नेपालले लखनऊ र सिलगुढीमा पुगेर माओवादीसँग वार्ताको प्रयास गर्नुभयो । पार्टीका केही वरिष्ठ नेताले विरोध गर्दागर्दै पनि उहाँले १२ बुँदे सहमतिका लागि राम्रो भूमिका खेल्नुभयो । १९ दिने बीचमै रोक्न खोजिएको जनआन्दोलन माओवादीको आडपछि जारी राख्न सहमत हुनुभयो । त्यसपछि शान्ति-सम्झौतासम्म आउँदा उहाँले विभिन्न बैठकमा सहमति गर्ने, तर कार्यान्वयनमा फितलोपन देखाउनुभयो । यतिवेलासम्म समग्रमा कमरेड नेपाललाई यसरी नै बुझेँ ।
जनयुद्धकालमा मैले रोल्पा र गण्डकीमा बसेर काम गरेँ । शान्तिप्रक्रियापछि काठमाडौं आएँ । संविधानसभा चुनाव हुने निश्चित भयो । भक्तपुरमा पार्टी केन्द्रीय समितिको बैठक चलिरहँदा नेवाःराज्यसमितिका इन्चार्ज हितमान शाक्य ‘सुमन’ले पार्टीले काठमाडौं २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने निर्णय लिएको खबर सुनाउनुभयो । म नेवाःराज्यसमितिको सचिव थिएँ । तर, काठमाडौंमा मेरो राम्रो चिनजान थिएन र चुनाव लड्ने योजना पनि थिएन । पार्टीले भनेपछि ‘नाइँ’ भन्नु भएन । एमालेका महासचिव उठेको ठाउँबाट चुनाव लड्दिनभन्दा अवसरवादी भएको आरोप पनि लाग्न सक्थ्यो । प्रस्ताव स्वीकारेँ ।
मेरो उम्मेदवारी दर्तालाई सबैले चासोपूर्वक लिए । हामीले रोल्पा, रुकुमलाई जस्तो आधार क्षेत्र मान्थ्यौँ, काठमाडौंको २ नम्बर क्षेत्रलाई पनि एमालेले आधारक्षेत्र मानेको रहेछ । करिब डेढ महिनाको चुनावी प्रचारपछिको मेरो बुझाइ हो, यो । यही भएर जित सुनिश्चित भएको ठानेर एमालेले महासचिवलाई त्यहाँ उठाएको रहेछ ।
उम्मेदवारी दर्ता गरेपछि चार/पाँच दिन त म कतै गइनँ । सुरुमा तीनजना कार्यकर्ता मात्र थिए । क्रमशः चुनावी प्रचारमा लागेपछि एमालेसँग असन्तुष्ट साथीहरू भेटघाटमा आए, सहयोग गर्ने बताए । उनीहरू एमाले विभाजन हुँदा माले भएका र पछि एकीकरणमा कतै नलागेका साथीहरू थिए । उनीहरूको सहयोगले उत्साह जगायो । चुनावी अभियानमा सुरुमा कोटेश्वरदेखि नाङ्लेभारेसम्म परिचयात्मक कार्यक्रम भयो । त्यसपछि अन्तरक्रिया, घरदैलो कार्यक्रम भए । क्रमशः कार्यक्रममा जनसहभागिता बढ्यो । यसबीचमा एमाले महासचिव नेपालका गतिविधि पनि मैले हेरेकै थिएँ । २२ चैतमा पार्टी अध्यक्ष प्रचण्डसँग भेट भयो । चुनाव जित्ने बताएँ, तर उहाँले पत्याउनुभएन । उहाँले सोध्नुभयो, ‘पक्का जितिन्छ ।’ मैले भनेँ, ‘जनताले पत्याएका छन्, पक्का जितिन्छ ।’ मेरो अनुमान थियो- १५ सय मतको अन्तरले विजयी हुने । चुनावका दिन महासचिव नेपालसँग तीनपटक भेट भयो । मतगणतना सुरु भएदेखि मैले ‘लिड’ गरेँ । नभन्दै १५ सय ३४ मतले विजयी भएँ । यद्यपि, चुनावी प्रचारका क्रममा सुनिन्थ्यो, ‘माओवादीले झक्कुलाई बलिको बोको बनायो ।’
विजयपछि महासचिव नेपाललाई भेट्न म उहाँको निवासमै गएँ । करिब पौने घन्टा दुईजनाबीच कुरा भयो । चुनावी परिणामपछि सञ्चारमाध्यममा आएको अन्तर्वार्तामा मैले ‘जितमा जति खुसी छु । माधव नेपालजीलेे हार्दा त्यति नै दुःखी छु’ भनेको सुन्नुभएको रहेछ । त्यही भेटमा उहाँले बधाई दिनुभयो । नेता नेपालले चुनावमा दुई ठाउँबाट पराजित भएकाले संविधानसभा सदस्यमा मनोनीत भएर नजाने बताउनुभएको थियो । तर, मन्त्रिपरिषद्को नियुक्तिमा उहाँ सभासद् बन्नुभयो । आफैँले बोलेको कुरा भुलेर र आफ्नै पार्टीका अर्का सदस्यलाई राजीनामा गर्न लगाएर उहाँ सभासद् हुनुभयो । उहाँ सभासद् नभएको भए राम्रो हुन्थ्यो । सभासद् भएपछि संवैधानिक समितिको सभापति हुनु ठूलो होइन, स्वाभाविक हो ।
अहिले सरकार गठनका लागि नेता नेपाल प्रस्तावित प्रधानमन्त्री हुनुहुन्छ । फेरि पनि सहर र गाउँ-घरमा उहाँको चर्चा चलेको छ । यो चर्चाले जनताको अवमूल्यन भएको छ । मनोनीत सभासद् भएर गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री हुन पाइन्छ भने किन चुनाव गर्नुपर्‍यो ? जनताले हराए पनि प्रधानमन्त्री ? यो त जनमतको घोर अपमान हो । पछिल्ला घटनाक्रमले अब दलाल खोज्न विदेश जान नपर्ने देखिएको छ । नेपालमै दलाल पार्टी र दलाल नेता जन्मिएछन् । माओवादी नेतृत्वको सरकारले राजीनामा गरेपछि प्रधानमन्त्री हुन दिल्लीको आशीर्वाद लिन उद्यत छन् नेताहरू । इतिहासका निर्माता जनता, जनपक्षीय विचारसहितका इमानदार र प्रतिबद्ध कार्यकर्ता नै नेताका सबैभन्दा ठूला गहना हुन् । कसैको आशीर्वाद ठूलो हुँदै होइन । कमरेड माधवले यो कुरा बुझ्न सक्नुभएन।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts