केशरीप्रसाद पन्त |
जननी जन्म भुमिश्च स्वर्गदारी गरियसी, जन्म दिने आमा र जन्मभुमी स्वर्गभन्दा पनि प्यारो हुन्छ तर मानिसहरु भन्ने गर्छन– ‘के छ र नेपालमा ?’ साँचो अर्थमा भन्ने हो भने ‘के छैन नेपालमा ?’ तमाम् युवाशक्ति जुटेर अगाडि बढ्ने हो भने, थोरै समयमा नेपाललाई झिलिमिलि बनाउन सकिन्छ । स्वीट्जरल्याण्डका कुरा गरेर व्यार्थमा युवा शक्तिहरु विदेशिने आफ्नो देशको बारेमा सोच्दै नसोच्ने हो भने नेपाल र नेपलीको मुहारमा परिवर्तन आउन सक्दैन ।
हाम्रो हिमश्रृङ्खला विश्वको सर्वोच्च शिखर सगरमाथा, ठुला–ठुला नदी नाला, पहाड, कुन्दरा, झरना, ताल तलैया वनजँगल, कला–संस्कृतिले भरिभराउ मठ–मन्दिर अनगिन्ती जमिनभित्र पाईने बहुमल्य धातुहरुलाई सहि सदुपयोग गर्न सकेमा छिट्टै नै नयाँ नेपाल परिवर्तन गर्न सकिन्छ । नेपालको मनोरम दृश्य अवलोकन गर्न प्रत्येक वर्ष लाखौँ पर्यटकहरु आउँछन् तर उचित वातावरण प्राप्त नहँुदा छोटो समयमा हेर्नुपर्ने कुराहरु नहेरी फर्कन बाध्य हुन्छन् । त्यसैले उनीहरुका लागि उचित सत्कार रोजाइको खाना, आरामदायी बास, आकर्षक पदयात्राको व्यवस्था गर्न सकेमा आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ । यसै सन्दर्भमा धादिङवेसी सदरमुकामदेखी २५ किलोमिटरको दुरीमा रहेको आँखुखोला जलविद्युत आयोजना निर्माणका लागी पहल र लगानी गर्नुहुने सत् पात्रहरु त्यस क्षेत्रका लागि प्रेरणाका श्रोत हुन्, धन्यवाद दिनै पर्ने हुन्छ । जसको कारणबाट ८.४ मेघावट भनिएकोमा ९.२ क्षमताको विद्युत उत्पादन भई जिल्ला नै लोडसेटीङ् मुक्त हुनतर्फ अगाडि बढेको छ भने उक्त क्षेत्र भित्र पर्ने मार्पाक, त्रिपुरेश्वर सल्यानकोट र गुम्दी गाँउ विकास समिति प्रभावित क्षेत्रभित्र पर्ने भएको हुनाले निर्धारित प्रतिशतबाट छुट्याएको रकमबाट उक्त गाउँ विकास समितिहरुले विकास निर्माणमा सो रकम खर्च गर्न पाउने छन् । त्यति मात्र नभई उक्त विद्युत निर्माणको मुख्य उपलब्धी भनेको बाँध भन्दा माथि करीव ७ सय मिटर लामो र फराकिलो ताल निमार्ण भई मार्पाक सल्यानकोट, र गुम्दीको भु–भागलाई ओटेको छ । जसलाई नेत्रावती (नेत्र) ताल नामले प्रसिद्धि कमाएको छ ।पौराणीक कथन अनुसार गणेश हिमालमा रहेको शिवजीको नेत्र (आँखा)बाट जल प्रवाह भै नदीको रुप लिएको नेत्रावती वा आँखुखोला नाम रहेको हो । यसैको भु–खण्डको उक्त तीन गाविसको संगमस्थलमा रहेको नेत्रावती (नेत्र) ताल नाम राखिएको हो । यसै सन्दर्भमा केहि महिना अघि काठमाण्डौमा पर्यटन ब्यवसाय गर्दै आउनुभएका फुलखर्क निवासी ज्योती अधिकारी लगायत प्रतिष्ठित व्यक्तिहरु आफ्ना कामको सन्र्दभमा त्यस क्षेत्रमा पुगे तत्पश्चात् स्थानीय बासीहरुको अनुरोधमा पर्यटन सम्बन्धी कुरा चल्दा त्यस तालमा डुङ्गा चलाएर क्षमता विकास एवम् रोजागारीको लागि तालिमको व्यावस्था गरि दिने आश्वाशन पश्चात २०७० माघ ७ गतेदेखी १५ गतेसम्म डुङ्गा खियाउने र खानाको परिकार बनाउने पर्यटकीय स्थल पहिचान र क्षमता विकास तालिम ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल टानको सहयोगमा संचालन भयो । माघ १५ गते संस्कृतिक पर्यटन तथा नागरिक उड्यनमन्त्री माननीय रामकुमार श्रेष्ठ, सचिव शुसिल घिमिरे, सह–सचिव मदुसुधन बुर्लाकोटी, टानका अध्यक्ष रमेश धमला, महासचिव सागर पाण्डे, पुर्व अध्यक्षहरु ज्योति अधिकारी र दिपक महत, पर्यटन व्यवसायी ग्याल्जेन शेर्पा, गणेश सिंखडा, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका सन्चालन निर्देशक विश्वनाथ कँडेल, कार्यकारी प्रमुख काजीलामा सहित यस क्षेत्रको पर्यटन विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
वास्तवमा यस ताल र वरिपरिका क्षेत्रलाई पर्यटन गन्तव्य स्थल बनाउने हो भने धादिङ–तिप्लिङ सडक राम्रो र व्यवस्थित बनाउनुको साथै त्रिपुराशुन्दरीको मन्दिर सल्यानकोट, गँगाजमुना, फुलखर्क, आँखु जलविद्युत आयोजना, नेत्रावती (नेत्र) ताल, मत्स्य पालन केन्द्र, मार्पाक निमार्चोक वाडा भैरव मन्दिर झार्लाङको तातोपानी तथा सिंगला लेक, रुवी भ्याली सेर्तुङ चालिसे, गणेश हिमाल श्रृंङखला, नागवेली परेको आकर्षण नेत्रावती नदीको दृश्य अवलोकन गर्नका लागि यो सडक महत्वपुर्ण हुनेछ । जव पर्यटन एवम् स्थानीय जनताहरु लपाङबेशी पुग्छन्, त्यसपछि मार्पाकको मत्स्यपालन केन्द्रको निमार्णाधिन स्थल हुदँै जलविद्युत आयोजनाको बाँधमा पुगेपछि नीलो सफा ताल डुंगामा शयर गरिरहेका यात्रुहरु चिसो सिरसिरे हावाको आनन्द लिदैँ बगुवा बजार पुगेपछि जो कसैलाई पनि तालमा डुंगाको शयर गर्न मन लाग्छ र आनन्द लिएर सुमधुर संसारमा डुबुल्की मार्न पुगेको अनुभव प्राप्त हुनेछ । त्यसैले यो ताल यहाँको मनोरम उपत्यकाजस्तो देखिने दृश्यबाट,दुई ट्रेकिङ रुट बनाउन सकिन्छ । एक सल्यानकोटको त्रिपुरासुन्दरी मन्दिर हुँदै फुलखर्कको गँगा जमुना सम्म र अर्को किन्ताङफेदी झार्लाङको तातोपानी, सिंगला लेक, रुवी भ्याली हुदैँ गणेश हिमाल साथै गोसाईंकुण्डसम्म सुरक्षित पदमार्ग निर्माण गर्न सकेमा यस क्षेत्रको भविष्य उज्जवल देखिन्छ ।
यस कार्यमा सर्ब प्रथम त सरकारको ध्यान केन्द्रीत गर्नको लागि मुख्यतः स्थानीय बासीहरुको नै महत्वपुर्ण भुमिका रहन्छ । अझ यस नेत्रावती तालको संरक्षण, सम्बद्र्धन एवम् वरपर होमस्टे, सुविधा सम्पन्न रिर्सोट, पीकनिक स्पोर्ट, प्याराग्लाईडिङ्को रुपमा विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरु अध्ययन भ्रमणका लागि ओइरो लाग्नेछन् । भौगोलिक ज्ञान आर्जनका लागि जलविद्युत गृह, माछा पालन केन्द्र, धादिङ जिल्लाकै एकमात्र ठुलो नेत्रावती ताल, वरपरका हरियाली सहितका सुन्दर वस्ती, रीतिरिवाज कला–संस्कृति प्रेरणााको श्रोत बन्नेछ ।
यस क्षेत्रलाई सुन्दर गन्तव्य स्थल बनाउन आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन स्थानीयबासी निमार्चोक, पन्तटार, लपाङ, कारीगाँउ, फलाँटे र वगुवाबजार बासीहरुमा सद्भाव, समन्वय एकता कायम गरी अगाडि बढ्नु पर्ने महत्वपुर्ण घडी आएको छ । यस क्षेत्रको विकास हुनु नै जिल्ला र देशको विकास हो । तवमात्र विदेश पलायन भएका युवाशक्तिलाई थेग्ने थोरै भएपनि टेवा पुग्नेछ । युवाशक्ति जुटेमा जे पनि गर्न सकिन्छ, पर्यटन प्रवद्र्धनमा जोडदिने हो भने वरपरका गाउँ वस्तीमा तरकारी खेती, जडीबुटी खेती, माछापालन, कुखुरा तथा बँगुरपालन यी सबै युवाबाट नै सम्भव छ । त्यसैले यस क्षेत्र वरपर पुग्ने जो कसैले पनि आत्मीक सत्कार, सम्मान, सद्भाव प्राप्त गर्नुका साथै खान, बस्न र आफुले चाहेको कुरा किन्न समेत व्यावस्था गर्न सकिएमा स्थानीय स्तरमा श्रेय बढ्नेछ । पर्यटन गन्तव्य स्थल बन्नेछ, स्थानीयको आय–आर्जनमा सुधार आउनेछ र देश विकासको एक खुड्किलामा एउटा ईटा थप्ने काम हुनेछ । ०७० माघ २७ गते जनमुक्तिमार्गमा प्रकाशित
0 comments:
Post a Comment