Showing posts with label mediabar. Show all posts
Showing posts with label mediabar. Show all posts

Wednesday, July 25, 2012

माधवकुमार नेपाल, बरिष्ठ नेता नेकपा एमाले
संबिधान बनाउने नाममा बर्षौ समय र अर्बौ पैसा खर्च गरेपछि आखिर त्यो नाटकमात्र थियो भन्ने पुष्टी गर्दै कति सजिलै संबिधानसभा भंग गरिदिनुभयो है ?
- बास्तबमा संविधानसभालाई विघटन गर्ने काम प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट भयो । त्यसमा हाम्रो पूर्ण असहमति रहृयो । हाम्रो असहमति उपप्रधानमन्त्री समेत रहनु भएका महासचिव इश्वर पोरखेलले जबर्जस्त रुपमा राख्नुभयो । यसो नगर्न अपिल गर्नुभयो । अरु साना दलहरुले पनि विरोध गरे । हाम्रो कुरा नसुनेपछि हाम्रा मन्त्रीहरुले बैठक नै बहिस्कार गर्नुभयो र राजीनामा दिनुभयो । हामीले त आफ्नो असन्तुष्टिको चरम रुप देखाइसक्यौं ।
यो त बाहिर देखिएको कुरा भयो, भित्रको कुरा के थियो ?
- हामीलाई अन्धकारमा राख्ने, हामीसँग सहमति नगर्ने र सरकारमा लामो समयसम्म टिकिरहन्छु भन्ने मनसाय राखेर, आफ्नो छाप लागेको संविधान अब बनाउन सकिन्न भन्ने ठानेर संबिधानसभा भंग गरियो । अर्को संविधानसभा निर्वाचनसम्म सरकारमा टिकिरहने र साम, दाम, दण्ड भेदको प्रयोग गरेर, सत्ताको चरम दुरुपयोग गरेर सत्ता कब्जाको सोचका आधारमा अर्को चुनावमा दुई तिहाई भन्दा बढी बहुमत ल्याएर माओवादीको अधिनायकवाद लाद्ने नियत देखियो । कागजमा कांग्रेसको नेतृत्व स्वीस्कार गर्नुभो, तर भित्र उहाँहरुको अर्कै कालो नियत रहेछ । त्यही नियत भएकाले उहाँहरुले गोप्य रुपमा एमाले र कांग्रेसलाई बोलाएर अपमानित गरेर भेट नै नगरी, सल्लाह नै नगरि अनाधिकृत र असंवैधानिक रुपमा संविधानसभा भंग गर्ने र अर्को निर्वाचन घोषणा गर्ने काम गर्नुभो ।
तपाई त माओवादीलाई नजिकबाट चिन्ने नेताहरुमध्ये एक हुनुहुन्छ । माओवादीको त्यस्तो चालबाजी तपाईहरुले बुझ्न सक्नुभएन भनेर कसरी पत्याउने ?
- के गर्ने ? हामी इमान्दार राजनीति गर्ने मान्छे, पटक पटक थाङ्नामा सुताएपछि शंकाको लाभ दिउँ भन्ने मान्छे परियो । चरम नाटक गर्ने, गोहीको आँसु चुहाउँदा पनि साँचै रोएको हो कि भन्ने ठान्ने र जाल झेल, षड्यन्त्रमा कहिल्यै विश्वास नगर्ने परियो । यस्तै मान्छेहरु ठगिँदा पनि रहेछन् । अब जनताले हेर्नुपर्छ, इमान्दारलाई विश्वास गर्ने कि जलझेल गर्नेलाई ।
१४ गते दिउँसोतिर त बहुजातिय प्रदेशमा कुरो मिल्यो भन्ने बाहिर आयो । तर, सिंहदरवार गएपछि एकाएक कसरी कुरा बिगि्रयो ?
- पूर्ण सहमति विना माओवादीलाई विश्वास गर्ने अवस्था थिएन । आंशिक सहमतिलाई पत्याउने अवस्थामा हामी थिएनौं । सहमति भएका कुराबाट पनि माओवादी पछि हट्ने काम हुँदै आयो र यसपटक पनि हुन्छ कि भन्ने हामीलाई आशंका थियो । हामी सँधै विश्वास र अविश्वासको दोसाँधमा नै रहन्थ्यौं । जेठ २ गते लगभग सबै कुरामा सहमति भइसकेको थियो । विवाद समाधान उपसमिति अन्तरगतको कार्यदलले सबै विषयमा सहमतिको मस्यौदा तयार पारिसकेको थियो । तर, आफैले हात्तिबन बैठकमा ६ देखि ८ प्रदेशको प्रस्ताव ल्याउने माओवादी अध्यक्ष प्रचण्ड आफ्नै प्रस्तावबाट पछि हट्नु भो । ११ प्रदेशमा जाँउ भनेर हामीले प्रस्ताव राख्यौं । साझा नाम राख्ने भन्यौं । त्यसमा हसमति नभए नाम खाली राखौं या संख्यामा पनि विरोध छ भने ५ देखि १६ को बीचमा वा संख्या, नाम र सीमा पछि टुंगो लगाउँ भन्यौं । माओवादीका अध्यक्ष प्रचण्डले हुन्न भनेर अस्वीकार गर्नुभो । अस्वीकार मात्र गर्नु भएन, उहाँ त्यहाँबाट निस्किनु भो, मधेसी दलहरुसँग गोप्य साँठगाँठ गर्नुभो, एमाले र कांग्रेसलाई अस्वीकार गर्नुभो, संविधानसभाका अध्यक्ष र संवैधानिक समितिका सभापतिलाई बेवास्ता गर्नुभो र संविधानसभालाई छल्नु भो । र, सत्ता कब्जा गर्ने, लामो समयसम्म सत्तामा बसिरहने मनसायले सत्ताको दुरुपयोग गर्ने, अकुत भ्रष्टाचार गर्नेतिर लाग्नु भो ।
संविधान नबनेमा तपाईहरुको अनुहारमा कुनै ग्लानी, चिन्ता केही देखिन्न । खाली एक अर्कालाई दोष लाउन मात्र ठिक्क हुनुहुन्छ ।
- अब के गर्ने त ? बसेर रुने ?
 तपाईहरुले संघीयतालाई नै स्वीकार नगरेपछि संबिधानसभा भंग भयो भन्ने माओवादी र मधेसी मोर्चाको दावी छ नि ?
- नाम र सीमा पछि टुंगाउने भनी प्रस्ताव ल्याउने उहाँहरु नै हो । त्यसमा हामीले सहमति गरेकै हौं । तर उहाँहरु प्रस्ताव ल्याउँदै पछि हट्दै गरेपछि कसरी सहमति हुन्छ ?
१४ गते अपरान्ह ४/५ बजेतिर अब संविधान नबनाई संबिधानसभा भंग गर्ने निचोडमा सवै दल पुगिसकेका थिए, फगत त्यसपछिको भ्याकुममा कसले सरकार हत्याउने भन्नेमात्र लडाई हो भन्ने टिप्पणी गर्छन त जनताले अहिले ?
- हैन, बेलुका हामी ६ बजे सभामुखसँग बसेर कुरा गर्दा उहाँले अब संविधान बन्न सक्दैन भन्नुभो । हाम्रो सामु दुई विकल्प मात्र थिए, या त संक्षित संविधान जारी गर्ने, जसलाई प्रचण्डले अस्वीकार गर्नुभो । दोस्रो संविधानसभाको बैठक सुरु गर्ने र २/३ दिनसम्म बसेर सहमतिलाई अन्तिम रुप दिएर सहमतिलाई संविधानका रुपमा जारी गर्ने र बाँकीलाई थाँती राख्ने । तेस्रो संविधानसभाबाट सबै जटिलता फुकाउँ भन्ने उपाय छलफल भइरहेको थियो । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संकटकाल लगाएर भएपनि संविधानसभालाई बचाउँ भन्नुभो । सभामुखले संविधान संशोधन गरेर भएपनि संसदलाई जोगाउँ भनेर प्रस्ताव राख्नु भो । तर, विजय गच्छदार जीले हामीलाई सरकारबाट हटाउन खोज्ने षड्यन्त्र गर्ने ? हामी मान्दैनौं भनेर संविधानसभा विघटन गर्ने मनसाय देखाउनु भो । सत्तामा टिक्ने कुरामा माओवादी र मधेसी मोर्चाको एकता भो । हामीले बहुमत पुर्‍याउँछौं र सरकारबाट निकालिदिन्छौं भन्ने त्रास थियो । सत्तामा टिकिरहने अभिलासा उहाँहरुमा देखियो । उहाँहरुले भन्नु भएकै हो-’किन राख्ने संसदलाई ? संसद राख्ने वित्तिकै बहुमत पुर्‍याएर हामीलाई निकालिदिने बाटो किन राख्ने भनेर ।
संविधानसभा बचाउने थुप्रै उपायहरु थिए । जस्तो संकटकाल लगाउने पनि हुन सक्थ्यो । तर तपाईहरुले मान्नु भएन रे ?
- साढे १० बजे मैले प्रधानमन्त्रीलाई फोन गर्दा कांग्रेसलाई पनि लिएर आउनुस् भन्नु भो । ५ जना नेताहरु सभामुखको कक्षबाट हिडेर प्रधानमन्त्रीकोमा पुगेका थियौं, प्रचण्ड जी सोफामा बसिरहनु भएको थियो । प्रधानमन्त्री जी वेपत्ता हुनुभो, उहाँ त संविधानसभा भंग गर्न मन्त्रिपरिषद्मा जानु भएको रहेछ, मैले बोलाउन पठाएँ, तर आउनु भएन । हामीलाई अपमानित गरेपछि हामी फर्कियौं । अब संबिधानसभा बचाउने विकल्प के छन भनेर छलफल गर्न गएका थियौं ।
भनेको, पहिले संकटकाल लगाउन नमानेपनि पछिचाहिं संकटकाल लगाउने मान्ने मानसकिताका साथ प्रधानमन्त्रीलाई भेटन जानुभएको थियो ?
–सुरुमा संकटकाल लगाउँ भन्दा मैले नै नमानेको हो । केही भन्नासाथ ‘हो हो’ भन्दै समर्थन गर्ने कुरा भएन । संकटकालै भएपनि लगाएर संबिधानसभा बचाउने बिकल्पबारे छलफल गर्न जाँदा अपमानित गरेर फर्काइयो । १२ बज्नुभन्दा ५ मिनेट अघि बैठक सुरु गरेर ५/६ दिन लगेर भएपछि संविधान बनाउन सकिन्छ भन्ने थियो ।
सभामुखले त बैठक सुरु नै गर्न मान्नु भएन रे ?
- सभामुखले त सुरु गरिहाल्नु हुन्थ्यो । एजेण्डा लिएर त जानु पर्‍यो नि सभामुखकहाँ । ४ वर्षको रिपोर्ट पेश गछौं हामी भनेर सभामुखलाई विश्वास त दिलाउनु पर्‍यो नि ।
तर, एकल पहिचानको पक्षमा बहुमत पुग्ने देखेर नेम्वाङले प्रक्रिया नै सुरु गर्न मान्नु भएन भन्ने छ नि ?
- दुई तिहाईको कुनै सम्भावना थिएन । संविधानसभा भंग नगरेर पार्टीहरुको बीच बसेको भए भइहाल्थ्यो नि । केही सहमति नै हुन नसकेको भए स्वभाविक रुपमा संबिधानसभा भंग हुन दिएको भए भइहाल्थ्यो नि ।
त्यही त, संविधानसभा भंग हुन दिने र सरकारलाई पनि कार्यकारी अधिकार प्रयोग गर्न नदिने रणनीतिमा कांग्रेस-एमाले थिए भन्ने माओवादी-मधेसी मोर्चाको आरोप सत्य रहेछ है ?
- यसै पनि त यो सरकार कामचलाउ भइसक्यो । उहाँलाई के भ्रम थियो भने एक घण्टा अघि संविधानसभा भंग गरिदिँदा अब पावरफुल प्रधानमन्त्री हुन्छु । राष्ट्रपति केही पनि हैनन् । हामीले जे चाह्यो, त्यही हुन्छ भन्ने थियो । अगाडी बाबुराम भट्टराई र पछाडी पुष्पकमल दाहाल प्रचण्ड जीले यो मुलुक हाँक्छौं भनेर सोच्नु भएको थियो । तर, संविधानमा त्यस्तो कुनै व्यवस्था छैन् । उहाँ त एकदम निरिह, अधिकारविहीन, दैनिक काम चलाउने, दिर्घकालिन निर्णय गर्न नपाउने प्रधानमन्त्रीका रुपमा रहनु भएको छ । अर्को आएर नबसेसम्म मात्र बस्ने हो उहाँ । तर, संविधानसभा भंग गरेपछि उहाँको अभिव्यक्ति त यो मुलुकको सम्पूर्ण कार्यकारी अधिकार मेरो हातमा छ, २०४७ सालको संविधान हैन यो, अन्तरिम संविधानले दिएको प्रधानमन्त्री हो भनेर दम्भको घोडामा सवार हुनुहुन्थ्यो । जब बास्तविकता बोध गराइयो, बल्ल उहाँ शिथिल हुनुभो ।
संविधानसभा विघटनको दोष रत्ति पनि एमाले कांग्रेसको भागमा छैन ?
- हामीले के गर्नु पथ्र्यौ ? सबैकुरा छाडेर आत्मसमर्पण गर्ने ? माओवादी छापको संविधान स्वीकार गर्नु पथ्र्यो ? मलाई बताइदिनुस् कि हामीले के गर्नुपथ्यो ? खुरुखुरु माओवादी सेनालाई राखेर संविधान बनाउनु पथ्र्यो ? समानान्तर सेना राखेर सत्ता कब्जा गर्न दिनुपथ्र्यो ? हो सुरुमा हाम्रो कमजोरी भनेको उहाँहरुको सेना र हतियार राखेर संविधानसभा चुनावमा जाने काम गर्‍यौं ।
तपाईहरुको दोषी कति प्रतिशत ?
- एउटा बलात्कारीले एउटा केटीलाई बलात्कार गर्‍यो । केटीको दोष कति प्रशितश छ भनेर सोधेको जस्तो भो । केटी बलात्कृत भएकी छे, अनि उसैको दोष खोज्ने ? एउटाले मनपरी गरेको छ, अनि हाम्रो दोष खोज्ने ? हो, माओवादीलाई चिन्नमा हाम्रो कमजोरी भएको हो । कतिपय अन्तरिक कुराहरु होलान् । जस्तो शासकीय स्वरुप, राज्य पुनःसंरचनाबारे बेलैमा प्रष्ट आफ्ना कुराहरु राख्न सकिएन । तर, त्यसले नै संविधान बन्न नदिएको हैन ।
तपाईहरुले भनेको जस्तै प्रधानमन्त्रीले निर्वाचनको घोषणा नगरि संविधानसभालाई स्वतः विघटन गर्न दिएको भएपनि अहिलेको भन्दा के नै फरक हुन्थ्यो र ?
- यसले त सहमतिको राजनीतिक यात्रामा ब्रेक लगाएको छ । अविश्वास बढाएको छ । त्यही बसेर छलफल गर्दा गर्दै नभएको भए सवैको सामुहिक दोष हुन्थ्यो । तर, हामीसँग विभिन्न विकल्प त बाँकी नै थिए नि । सर्वोच्च अदालतले पनि अर्को निर्वाचनको घोषणा गर्ने अधिकार सरकारलाई हैन, संविधानसभालाई दिएको हो । उहाँले संविधानसभालाई अस्वीकार गर्नु भो ।
तपाईहरुले त माओवादीले सेना र हतियार बुझाए चुट्कीको भरमा संविधान बन्छ भनेर भन्नु भएको थियो नि, किन बनेन ?
- हो, प्रचण्डले हामी अधिकतम रुपमा लचिलो हुन तयार छौं । तपाईहरुको कुरालाई पनि समेटर अघि बढ्छौं भन्नु भएकाले हामीले त्यसो भनेका हौं । त्यही अनुसार हात्तिबनमा प्रस्ताव पनि आएको थियो, फेरि पछि हट्नु भो । जम्मै अड्काउने कुरा उहाँहरुकै छ । विमतीहरु हेर्नु हुन्छ भने उहाँहरुकै छ । माओवादी लचिलो हुँदै गयो, मिल्यो, भएन मिलेन ।
तपाईले नै हैन, संविधानभा हाम्रो चाहना नै हैन, माओवादीका कारण स्वीकार गरको भनेको ?
- मैले भनेकै हो । संविधानसभा घाँडो हुन्छ भनेर मलाई त्यसबेला नै लागेको थियो । मान्छे घाँडो भएपनि मित्र भएपछि त स्वीकार गर्नु नै पर्छ, यस्तै भएको हो
अबको निकास के त ? फेरि संविधानसभाको निर्वाचन ? फेरि संक्रमणकालका नाममा बर्षौ समय र अर्बौ सक्ने ? फेरि पनि संबिधान बन्ने कसरी ग्यारेन्टी गरेर तपाईहरु संबिधानसभा चुनावमा जानुहुन्छ ?
- हो, जनता निकै दिक्क भइसकेका छन् । पैसा धेरै खर्च भइसक्यो । संविधानसभा, संसद, स्थानीय निकाय, प्रधानमन्त्री, राष्ट्रपतिको निर्वाचन गर्नु पर्ला । कति बटा निर्वाचन गर्ने ? यसमा अर्बौ खर्च हुन्छ । अनि अर्बौ त्यसमा खर्च गर्ने हो भने कहिले विकास गर्ने ? मुलुक असफल हुन्छ, टाट पल्टिन्छ । यो अबस्था भएकाले पनि अब नयाँ शिराबाट सोच्नुपर्‍यो । अन्तरिम संविधान भएकाले अर्को संविधान नबनाई विकल्प छैन् ।
तपाईको विचारमा अबको विकल्प के त ?
- गम्भीर भएर सोच्नुपर्छ हामीले । तपाईहरुसंग कुरा सकेपछि आजै गम्भीर भएर अध्ययन गर्ने तयारीमा छु ।
अहिले सविधानसभा पुनःस्थापनाको विकल्प अघि आएको छ नि ?
-त्यो सजिलो छैन । सबै विषयमा सोच्नुपर्छ । त्यसको परिणाम नसोचि भन्न हुँदैन् ।
अहिलेसम्मका उपलब्धीलाई स्वीकार गरेर बाँकी बिषय आयोग बनाएर टुंगाउने भन्ने पनि प्रस्ताव आएको छ ?
- सबै विकल्पमा सोच्नु पर्छ गम्भीर भएर छलफल गर्नुपर्छ । ४७ सालमा हामीले ३ महिनामा संविधान बनाएका थियौं । हामीले त्यसबेला सामान्यबाट विस्तारै जटिल हुँदै अन्तिममा मूख्य विषयमा सहमति गरेका थियौं । कामको बैज्ञानिक तरिका थियो । यस पटक त त्यस्तो केही भएन । संविधानसभा अध्यक्ष, संवैधानिक अध्यक्षलाई सहभागी गराइएन् । यस पटक मुल गार्जियन भएन र मुल टिममा विश्वासको वातावरण भएन ।
अब संविधानसभा निर्वाचन भयो भने एजेण्डा त जातीय मुद्दा नै हुन्छ । त्यहाँबट निर्वाचित भएर आउने दुईवटा अतिबादी धारकै हुन्छन् । त्यस्ता प्रतिनिधिबाट फेरि सम्झौताको संबिधान कसरी आउंछ भन्ने ग्यारेन्टी गर्न सक्नुहुन्छ ? तपाईका अध्यक्षले त चुनाव स्वीकार्ने भनिसक्नुभयो ।
- संविसभामा जानु ठिक हुन्छ कि, संसद चुनावबाट टुङ्गो लगाउने, आयोग बनाउने कि भन्नेबारे गम्भीर छलफल गर्नुपर्छ । कम खर्चिलो, जनताले स्वीकार गर्ने उपायहरु खोज्नुपर्छ ।
एक सातासम्म पनि तपाईहरु एक अर्कालाई गाली गर्नमात्र ब्यस्त हुनुहुन्छ, मोर्चाबन्दी गरेर मुठभेडमा जाने तयारीमा हुनुहुन्छ । आखिर सहमतिको बिकल्प छैन भने किन पाखुरा सुर्काएर लड्न कस्सिनुभएको ?
- पहिलो संकटको कारक भनेको यहि सरकार भो । यो सरकारले सहमति विथोल्ने काम गरेको छ । यसले अविश्वास पनि बढाएको छ । माओवादीको सत्ता कब्जाको कुराले लोकतन्त्र नै खतरामा परेकोमा सबैभन्दा बढी चिन्तित छौं । पत्रकार, ब्यापारी, नागरिक सबै चिन्तित छन् र त्यसको कारक भनेको यो सरकार भएको छ । त्यसो भएकाले यात्रालाई फेरि सुरु गर्नु छ भने यो सरकार हट्नु पर्‍यो, सहमतिको राजनीतिको नयाँ यात्रा प्रारम्भ गर्नुपर्‍यो । त्यही सहमतिका आधारमा नै अनेक विकल्पहरु मध्येबाट एक वा कुनै नयाँ उपाय निस्कछ भने त्यसलाई रोज्नुपर्छ र मुलुकलाई निकास दिनुपर्छ ।
तर, राष्ट्रपतिले पत्र पठाएर सरकार कामचलाउ भइसकेको भनेको अवस्थामा राजीनामा माग्नुको अर्थ छ ?
- बाबुराम भट्टराईले मैले राजीनामा दिइसकेको छु भन्ने त स्वीकार गर्नु पर्‍यो नि । उहाँ भन्नै चाहनुहुन्न । भन्यो कि मेरो कुसी फुत्क्यो भन्ने परेको छ उहाँलाई ।
त्यति भने सबै कुरा मिल्छ ?
राजीनामा अर्थात स्वेच्छाले मैले छाँडे त भन्नु पर्‍यो । उहाँलाई त मेमो पठाएर बताउनु परेको छ तपाईको हैसियत यो हो भनेर । यो मुलुकमा कार्यकारी अधिकार भएको एउटै व्यक्ति छ, त्यो हो डा. बाबुराम भट्टराई भन्ने उहाँलाई दम्भ थियो । राष्ट्रपतिले मेमो पठाएर तपाई आफ्नो हैसियतमा बस्नुस है भनेपछि बल्ल उहाँलाई अलिअली ज्ञान भएको छ । सत्ता छोड्नु पर्ला भनेर कति आतंकित ?
उसो भए अब सरकारको पक्षधर र विपक्षी गठवन्धन सडकमा उत्रने र भिड्ने ?
-यसले राम्रो गर्दैन । नैतिकता नामको चिज भइदिएको भए बाबुरामजीले अहिल्यै आजको आजै म छोड्न तयार छु, बरु सहमति गरौं भन्नु पर्ने हो । संविधान बनेन भने एक मिनेट पनि बस्दिन भनेर उहाँले नै भनेको हैन ? तर, १२ बजेपछि त ‘कोन हे माइकालाल’ भन्ने जसरी प्रस्तुत हुनु भो । लाज लाग्दैन ? सरम नामको चिज छैन ? नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेर सहमति पनि गरिसक्नु भएको थियो । उहाँले त्यसो भन्नासाथ सहमतिको अर्को सरकार बन्न समय पनि लाग्दैन । एक दिन कांग्रेसमा मारामार होला, एक जनाको नाम आउँछ नै ।
भनेको सरकार नफेरि केही हुन्न ?
- उहाँहरुको सत्ता कब्जाको सोच छ भन्ने हामीलाई लागिराछ । बाबुराम जीको अभिव्यक्तिले त्यही भनिराछ । उहाँ अहिले पनि आउनुस् त कहाँ छ भर्‍याङ भनिरहनु भएको छ । माओवादी सत्तामा टिक्न खोज्नुको कारण के हो मलाई बताउनुस् न । कुन नैतिकताले उहाँ बस्नुहुन्छ ?
संबिधान संसोधनसहित सवै बिषयमा प्याकेज सहमति गरेर सरकार फेरे हुँदैन ?
- हुँदैन । विश्वासको कुरा हो । विश्वास के के बाट बढाउन सकिन्छ, त्यही गर्नुपर्‍यो । पहिले सरकारको कुरा नटुंगाई बिश्वास बढ्दैन ।
अब के गर्ने त ?
अब गर्ने भनेको सहमति नै हो । कसैले पनि एक्लै हाँक्न सक्दैन । माओवादीले आफ्नो उग्रवादी एजेण्डा छाड्नु पर्‍यो । सत्ता कब्जाको रणनीति छोड्नु पर्‍यो । ढाँट छल गर्न छोड्नु पर्‍यो र बचनको पक्का हुनुपर्‍यो । बल्ल सहमति हुन्छ ।
अबको सहमति पुरानै चार दलबाट खोज्ने कि अहिले चर्चामा आए जस्तो गोलमेच सम्मेलन वा बृहत राजनीतिक सम्मेलन आदि बाट ?
- यो त नेपालको राजनीतिमा लामो समयदेखि रहेका र नयाँ उदय भएका बाहेकका शक्तिहरुको त परीक्षण नै भएको छैन । संविधानसभालाई आधार गरेर नै तीन दलबीच सहमति खोज्ने हो । अब बाटोमा प्रत्येकले दावी गर्दै हिड्लान, ति सबैलाई ल्याउने ?
त्यो त देखिसकियो नि । कांग्रेस-एमाले गठवन्धनमा नामै नसुने, हैसियत नै नभएका दल पनि देखिए ?
- हाहा हा…. अब यस्तै हुन्छ हुलमुलमा ।
फेरि तपाईहरुको सहमतिको स्वरुपको झल्को पनि जनताले देखिसकेका छन् । सहमतिका नाममा स्थानीय निकायमा दलहरुले अकुत भ्रष्टाचार गरेको प्रष्ट भएसक्यो । फेरि राष्ट्रिय सहमतिका नाममा बर्षौ मिलेर खाने हो ?
- अब निर्वाचनमा जानुपर्छ । त्यसअघि शिविरमा रहेका लडाकूहरुको व्यवस्थापन गर्नुपर्छ । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गाउनु पर्छ ।
सहमतिका नाममा एक वर्षभन्दा बढी धकेल्दैनौं भनेर तपाई ग्यारेन्टी गर्न सक्नुहुन्छ ?
- अबश्य । म एक वर्षभन्दा लम्ब्याउने पक्षमा पहिले पनि थिइन र अहिले पनि छैन । म संविधानसभालाई अनन्तकालसम्म लब्याउनु हुन्न भनेर दृढतापूर्वक उभिएको थिएँ । शान्ति प्रक्रियाका कारण मात्र लम्बिएको हो ।
संविधानसभा विघटन भएपछि त्यसले घोषणा गरेको गणतन्त्रको पनि औचित्य सकियो । राजतन्त्र फर्किनुपर्छ भन्ने कुरा पनि आइरहेको छ नि ?
- यस्ता बाहियात कुराको कुनै अर्थ छैन । नेपाल जनताको चाहना र भावना अनुसार नयाँ युगमा प्रवेश गरेको छ । नयाँ कुनै राजामहाराजाको त कुरा छाड्नुस्, कुनै अधिनायकवादीहरुलाई पनि ठाउँ छैन ।
अब सहमतिका लागि गोलमेच सम्मेलन भयो भने एउटा शक्तिका रुपमा राजाबादीहरु उपस्थित हुन पाउने कि नपाउने ?
- राजाको ? इतिहास भइसकेको राजालाई ल्याउने हो भने राणालाई पनि ल्याउनु पर्‍यो नि । -हाँस्दै) लिच्छविकालका राजाहरु, जयस्थिति मल्ललाई किन नबोलाउने ?
- अब सहमति भएपछि पनि तपाईहरुले असंवैधानिक काम त गर्नै पर्ने भो हैन । अब मिलेर संबिधान मिच्ने कि एक्लै भन्नेमात्र विवाद हो हैन ?
- संविधानमा टेकेर नै अघि बढ्ने हो । संवैधानिक विधिबाट नै उपायहरु निकाल्नुपर्छ । एउटा, दुई वटा धारा निलम्बन गर्नुपर्ला । त्यसैले हतार गर्न भएन । हाम्रो बानी हतारमा काम गर्ने, फुर्सदमा पछुताउने छ ।
तर, बाधा अड्काउ फुकाउको धारा प्रयोग गर्दा राष्ट्रपतिलाई सक्रिय बनाउनु पर्‍यो । त्यो नजिरलाई टेक्दै राष्ट्रपतिले भोलिका दिनमा गलत मनसायले एक्लै कदम चालिदिए भने ?
- कुनै पनि अवस्थामा राष्ट्रपतिले स्वविवेकमा कुनै काम गर्न पाउने व्यवस्था छैन् । राष्ट्रपतिले गर्ने भनेको जनप्रतिनिधिमुलक निकायको सिफरिसबाट आएको वा राजनीतिक सहमतिबाट आएको सिफरिसबाट हो । संविधानको मर्म पनि त्यही हो र जनताको आग्रह पनि त्यही हो । अहिलेका तीन पार्टीमा पनि सहमति नगर्ने, खुराफाति गर्ने र बिगार्ने त्यही एउटा-माओवादी) हो भन्ने जनताले बुझेका छैनन् । गोएबल्स शैलीमा प्रचार गरिन्छ, गोहीको जस्तो आँशु झारिन्छ र जनताले त्यसलाई पत्याउँछन् पनि ।
भनेपछि नारानकाजी रोएर जनतालाई भ्रममा पारे ?
- हामीले पनि ग्लिसिरिन लगाएर जानु पर्ने रहेछ । हा हा हा…. -लामो हाँसो)
तपाईहरुले संबिधानसभा भंग गर्नुको एउटा कारणमध्ये पार्टीलाई तत्काल फुटबाट बचाउने भन्ने थियो क्यारे । संविधानसभा भंग भएपनि पार्टी भने फुटबाट नबच्ने भयो है ?
- त्यस्तो त मलाई लाग्दैन । एउटै विचारधारा रहेकाहरु मिलेर नै जानुपर्छ । तर, कसैको पनि व्यक्तिगत स्वतन्त्रतालाई तपाईले हनन गर्न सक्नुहुन्न । हामी धेरै फुटहरुलाई प्रोत्साहन दिने भन्दा मिलेर जाने पक्षमा नै छौं ।
तर, एमाले त जातीय एजेण्डाकै आधारमा फुट्ने भयो । तपाईहरुको पार्टीलाई त बाहुन क्षेत्रीहरुको जनैबादी पार्टीमा परिणत गरिदिने भए नी ।
– कम्युनिष्ट पार्टीको स्थापना गर्ने पाँचै जना नेवार हुन् । जात भनेर त हामी एमाले भएका हैनौं । सबैभन्दा ठूलो विभेदको शिकार त दलित भएका छन् । बाहुनलाई दोष दिएर हुने कुरा हैन् । बाहुन क्षत्री सबै धनी, अरु सबै गरिब भन्ने त छैन नि ।
जातीय पहिचानमा सहमत हुन सक्ने कि नसक्ने ?
–हामीले पार्टीको केन्द्रीय समितिमा आउनुस्, छलफल गरौं भनेको छौं । हामी सहमतिकै पक्षमा छौं तर, एमालेलाई कमजोर पार्टी बनाउन खोज्नेहरुलाई बलियो बन्न दिनुहुन्न । माओवादीले त एमालेलाई फुटाउनै खोजेको छ ।
अशोक राई लगायतका नेताहरु त बैठकमा आउनै छाडिसके ?
-बढी चिन्तित भएर, कसरी मिलाउने भनेर उपाय खोज्नतिर लागेर नआउनु भएको होला । -हाँसो)

हेर्नुहोस् भिडियोको सम्पादीत अंश

 

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts