Sunday, August 10, 2014

अर्जुन खतिवडा
२०६८ साल पौषको पहिलो साता धादिङमा दैनिक पत्रिका संचालन गर्नुपर्ने कुरा पटक–पटक उठे । सन्दर्भ त्यतिबेला मात्रै होइन कात्तिक मंसिरताकादेखी नै खासखुस कुरा चलिरहेकै थियो । एकदिन एउटा सानो बैठकमा म आफैंले पनि जिल्लामा दैनिक पत्रिका सञ्चालन गर्न सकिने भएकाले व्यवसायीक रुपमा दैनिक पत्रिका संचालनको प्रस्ताव नै गरेको थिएँ । पत्रकार महासंघ जिल्ला शाखाले त्यसको नेतृत्व गर्दा उत्तम हुने राय मैले राखेको थिएँ । पत्रिका प्रकाशन गर्ने कुरामा साथीहरु सहमत नै भए पनि महिनाको पूरै दिन कम्प्युटरमा को बस्ने ? भन्नेमा टुङ्गो लगाउन गाह्रो भएपछि कुरा त्यसै सेलाएको थियो ।
०६८ मंसिर पहिलो साता सरस्वती छापाखानाका दाजु रुद्रबहादुर खत्रीले आफ्नो घरमा सानो सल्लाह गर्न भनेर बोलाउनुभयो मेरो पनि त्यति धेरै काम थिएन म उहाँको घरमा आउछु भनेर निधो दिएँ । केही समयपछि दाईको घरमा पुग्दा उहाँको घरको छतमा आदरणीय गुरु रमेश अधिकारी, जिल्लामा पत्रकारहरुको अगुवाको रुपमा चिनिनुभएका केशव अधिकारी, सुशर्दन खतिवडा, सानुवाबु तिमल्सिना लगायतका साथीहरु चिया पिउँदै बसिरहनुभएको रहेछ । म पुगेपछि उहाँहरुले मलाई पनि चिया मगाउनुभो । चिया पिउँदै कुरा औपचारिक रुपमा सुरु भयो ।
माधुर्य स्वरमा सबै साथीहरुलाई सम्बोधन गर्दै आदरणीय गुरु रमेश सरले आफूहरु जम्मा हुनुको कारण बताउनुभयो । केशव अधिकारीको पहलमा उहाँले हामीलाई सहजीकरण गर्नुभएको रहेछ । केशव अधिकारीले पनि आफूले कुरा उठाउनुको कारण बताउनुभयो । मैले उहाँहरुको कुरा सुनिसकेपछि आफूले बाहिर बसेर सक्दो सहयोग गर्ने तर, टिमभित्रै बसेर काम गर्न नसक्ने अवस्था रहेको कुरा राखेँ तर, उहाँहरुले मबाट धेरै आशा गर्नुभएको कुरा पटक–पटक गर्नुभो । उमेरका हिसावले म सबैको भाई नै थिएँ, धेरै समयसम्म छलफल चलेपछि दिर्घकालीन रुपमा  काम गर्नेगरी मात्रै आफूले काम गर्ने बताएँ । रमेश सर, सुदर्शन, रुद्रबहादुर र केशव दाईले पनि मलाई विश्वस्त पार्नुभयो । अन्तमा काममा सहयोग गर्ने बचन दिएँ । पत्रिका सुरु गर्दा मसँगै रामचन्द्र भण्डारी र सानुवावु तिमल्सिनाले ४÷४ हजार रुपैयाँ  खर्च गर्न पाउने गरी काम सुरु गरेका थियौँ । ४ हजार रुपैयाँलाई तत्कालको लागि तलव नै मान्ने तर, लिखित रुपमा तलब नलेख्ने भन्ने भयो त्यतिखेर न्यूनतम पारिश्रमिक निधारण समितिले आफ्नो काम तिब्र रुपमा अगाडि बढाएको थियो । सुरुमा मैले सुरुमा मैले १० दिन व्यवस्थापकको रुपमा काम गरेँ तर, सधैँ पुरा कार्यालय कर्मचारीदेखी सम्पादकको जिम्मेवारीसम्म बहन गर्नुपथ्र्यो । पौष १० गते सुरु गरेको पत्रिकाको १६ गते नै उपसम्पादक बनेँ । पत्रिका प्रकाशन प्रत्यूष पब्लिकेशन प्रालिको स्वामित्वमा गर्ने निर्णय अनुसार सुरुमा त्यसको अध्यक्ष रुद्रबहादुर खत्री नै रहनुभएको थियो ।
सुरुमा करिब साढे दुई महिनाजति टिममा रहेका सबै साथीहरु उत्साहका साथ काम गर्ने, सबै दुःखहरु बिर्सेर जाने वातावरण थियो । पत्रिका सुरु गरेका बेला केशव अधिकारीलाई त झन् महाभारतको युद्ध नै जितेको जस्तो भएको थियो तर, विडम्बना धादिङ उद्योग वाणिज्य संघले गलौंदीमा आयोजना गरेको धादिङ महोत्सवको समाचार लेख्ने विषयमा केशव अधिकारीको सामान्य विमति रह्यो । उहाँले समाचार लेखेर दिनुभयो । त्यो समाचार रुद्रबहादुर खत्रीकै निगरानीमा रामचन्द्र भण्डारीले सच्याउनुभएको थियो म पनि त्यहाँ नै थिएँ । त्यहि दिनदेखी सबै साथीहरु एक ठाउँमा आउने र काम गर्ने वातावरण बनेन । केशव अधिकारीले राजनीनामा लेखेर पटक–पटक कार्यालयको इमेलमा पठाउनुभएको थियो । मैले रमेश सरलाई के गर्ने भन्ने बारे कुरो पनि राखेको थिएँ । रमेश सरले उहाँहरु आउनुहुने भएकाले पत्रिका निरन्तर प्रकाशन गर्नुस् भन्ने कुरा गर्नुभो मैले त्यहि अनुसार काम गर्दै गएँ पनि । पत्रिका प्रकाशन जारी राखेको करिब १ हप्ता पछाडि केशव दाईले आफ्नो नाममा व्यापार गरेको भन्दै एउटा पत्रिकामा लेख नै प्रकाशन गर्नुभयो । पछि रमेश सरले नै अब उहाँहरु नआउने भन्दै नाम हटाउन भन्नुभयो ।
अब पत्रिकामा सहयोग गर्ने एक जना साथी रामचन्द्र मात्रै हुनुहुन्थ्यो । मलाई आकाश खसेजस्तो भान भयो । त्यतिबेलासम्म पत्रिकाको सम्पदक रमेश सर नै रहनुभएको थियो ।  उहाँले पत्रिका प्रकाशनको काममा त्यति धेरै समय दिन नभ्याएको कुरा गर्दै ०६९÷चैत्र १५ गतेबाट औपचारिक रुपमा विश्वराज दाईलाई सम्पादक बनाएर छाड्भयो । त्यसपछि प्रस्तावित प्रत्यूष प्रकाशन प्रालिलाई विश्वराज दाईले प्रत्यूष मिडिया प्रालिको रुपमा स्थापित गर्नुभयो । प्रत्यूष दैनिकको जिम्मा लिएको केही समयमा नै उहाँले पनि त्यति धेरै समय पत्रिकालाई दिन सक्नुभएन । म त्यसअघि नै ०६९ पौष १६ गते नै उपसम्पादक, ०६९ भदौ १५ गतेदेखी कार्यकारी सम्पादक बनेर आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेको थिएँ ।
काम गर्ने क्रममा ०७० साउनमा सामान्य प्राविधिक कारणले पत्रिका प्रकाशन गर्न सकिएन । प्राविधिक कठिनाईकै वीचबाट ०७० साउन ३२ गतेदेखि राजकुमार दाईले प्रधानसम्पादक बनेर पत्रिका निरन्तर प्रकाशन गर्न आग्रह गर्नुभयो । मैले नमानेपछि धेरै दाजुहरुले कर गरेपछि करैकरको वीचमा प्रधानसम्पादकको पदमा हस्ताक्षर गराउनुभयो । अब प्रधानसम्पादक बनेपछि म फेरि केही समय काम गर्ने मानसिकतामा पुगेँ । त्यहाँकै दिनदेखी मेरो तलब बल्ल सात हजार निर्धारण गरिएको थियो । केही समय काम गरेपछि ०७० को दशैं विदामा घर गएको बेला केही जँड्याहाहरुको हुलले मलाई कुटपिट गरे मेरो हात भाँच्चिनुका साथै विभिन्न अंगमा चोट लागेर घाइते बनेँ । त्यसपछि मेरो अनन्य मित्र नारायण सिलवालले केही दिन सहयोग गर्नुभयो । त्यसबेला पत्रिका प्रकाशन एकलौटी भएको जस्ता विभिन्न प्रकारका आरोपहरु पनि लागे । त्यतिबेला बद्री अधिकारीलाई ब्यवस्थापकको जिम्मा दिई काम गरिएको थियो । बजारको कामपनि सन्तोषजनक नभएको कुरा टीममा उठे । टीममा मतभेद बढ्दै गयो र पत्रिका प्रकाशन हुन सकेको थिएन ।
कम्पनीका शेयर सदस्यदेखी प्रकाशन टीमको बैठक पनि धेरै नै भए बैठकमा ८० प्रतिशत काम अनुत्पादक भएपछि अन्योलकै वीचमा टीम रहनु स्वभाविक नै थियो । सिंगो टीमले काम गर्ज नसकेको अवस्थामा एक सदस्य एक्लैको हिम्मत आउने भन्ने कुरा विरलै हुनेगर्छ । ०७१ साउनसम्म धेरै होमवर्क गरेपनी काम अघि नबढेपछि म निराश भएर बसेँ । ०७१ साउन १७ गते राजकुमार दाईले पत्रिका प्रकाशन गर्ने सल्लाह हुँदै गएकाले काम गर्न धादिङ आउन भन्नुभयो । मैले केही मिनेटपछि कुरा गर्ने र आफू बाटोमा रहेको बताएँ । म जब सेल्टरमा पुगेँ दाईलाई फोन नलागेपछि एउटा मात्रै भनेपनि एसएमएस् गरेँ । मैले दाईलाई फोन गर्न भने तर कुनै रेस्पोन्स आएन । बद्री अधिकारी भने निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो । पत्रिका प्रकाशन गर्ने सल्लाह भएपछि म बद्री अधिकारीको खबरपछि काठमाण्डौबाट धादिङ आएँ । बुझ्दा साथीहरुले पहिलो दिन तयारी भईसकेकोले भोली आउँदा पनि हुने खबर गर्नुभयो । भोलीपल्ट ०७१ साउनको १८ गते म बिहानै कार्यालय पुगेर पत्रिका पढेँ तर मेरो प्रधानसम्पादकको पद हटिसकेको रहेछ । त्यसबारे मसँग कुनै सल्लाह नै भएको थिएन ।
पत्रिकाको जन्म देखिनै मैले गरेको दुःख काम सूरु गर्दाताकैका साथीहरुले देख्नुभएको रहेनछ । राम्ररी बुझ्नु पनि भएन । राजकुमार दाईदेखी अरु साथीहरु त म भन्दा धेरै पछाडि आउनुभएको थियो । उहाँहरुलाई पत्रकारीताको मर्म त्यति धेरै बुझ्ने सामथ्र्य पनि नहोला यो मलाई पहिलेदेखी नै लाग्थ्यो । साथीहरुसँग मलाई त्यति धेरै गुनासो पनि छैन । विषयमा दख्खल नराख्नेहरुसंग गुनासो राख्नु कुनै अर्थ पनि छैन , गुनासो त जान्नेछु भन्नेहरुसँग मात्रै राख्ने हो । मलाई लाग्थ्यो साथीहरु बाटोमा भेट्दा समेत नबोल्नेसम्मको स्थिति हुँदैन । एउटा कार्यक्रममा एकजना साथीले “उहाँ अर्कै पत्रिकाको मान्छे हो” भनेर समेत चिनाउन भ्याउनुभयो । धेरै दुःखका बावजुत जन्माएको पत्रिकाको बैठक नै नबसि वा निर्णय नै नगरी एक्कासी साउन १८ गतेदेखी प्रधानसम्पादकको जिम्मेवारीबाट हटाइयो । अहिलेसम्म औपचारिक जानकारी पनि पाएको छैन न कि निर्णय नै भएको छ । पत्रिका प्रकाशनको विषयमा मैले कतै टिप्पणी पनि गरेको छैन । परम्परा नै अंगालेर काम गर्दा उपलब्धी कम हुने भएकाले नयाँ काममा नयाँपन आउनुपर्छ भन्ने नै मेरो मान्यता हो, यसर्थ आगामी टीम पनि मैले दिर्घकालीन देखेको छैन । पत्रिकाको आन्तरिक स्वरुप, भाषा सुद्धिको अवस्था झनै बिग्रिएको पाएको छु । स्वरुपै विग्रिएपछि मेरो मन अँध्यारो नै छ । पीडै–पीडाको वीचबाट बचाउँदै ल्याएको सँस्था आफूबाट धेरै टाढा पुगेकोले टाढै बसेर पत्रिकाको दिर्घजीवनको कामना गर्नुभन्दा अरु कुनै शब्दै रहेन मसँग ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts