Monday, September 1, 2014

श्रावणको गर्मी अलि अलि सञ्चो नहँुदैमा किन डराउनु र ? मैले यस्तै सोचेर साँझपख दुखेको शरीरलाई सान्त्वना दिएँ । राती त असाध्यै भयो, ज्वरो पनि एक सय दुई डिग्री, मलाई डर लाग्यो । पौने बाह्र बजे हरिदाइलाई घरमै लिन बोलाइ अस्पताल गएँ । रातिको समय डाक्टरसाब पनि आउनुभयो, ल्याबका साथीहरु पनि खट्नुभयो ।
दुई बजे राती पत्तो लाग्यो – टाइफाइड अनि पिसाबमा इन्फेक्सन । दश दिन त पुरै बेड रेस्ट गर्नु पर्ने डाक्टरसाबको सल्लाह । अब भने मेरो सातो गयो । चार दिन पछिका लागि तय भएको हाम्रो बेइजीङ भ्रमण के हुन्छ त ? डाक्टरसाबले सान्त्वनाको भाषामा सबै औषधीहरु इन्जेक्सनको माध्यमबाट दिएर सकेसम्म चाँडै सुधार गर्न प्रयास गरि हेरौं भन्नुभयो ।
साँच्चै डाक्टरसाबले भने जस्तै मेरो स्वास्थ्यको सुधार छिटै भयो । म बेइजीङ जान सक्ने भएँ, ११ गते बिहान औषधी इन्जेक्सनकै माध्यमबाट लिएर म काठमाण्डौ तर्फ लागें । गोविन्द भाइ अलि ढिलो मात्र काठमाण्डौ आइपुग्ने कार्यक्रम थियो । केही सानो तिनो प्रारम्भिक तयारीको काम मैले गर्नुपर्ने थियो । दुबै जना बिरामी अनि विदेशको यात्रा । साँझ दाजुभाइ भेट भएपछि गफगाफको विषय नै भयो एकैछिनका लागि ।
एड्भान्स एकेडेमीले चिनियाँ भाषाको कक्षा शुरु गरेपछि प्रिन्सिपल र डाइरेक्टरहरु आमन्त्रित रहेको १५ दिने कार्यक्रममा सहभागि हुन र विश्व मै तिव्रतर आर्थिक बृद्घिदर हासिल गरिरहेको छिमेकी मित्रराष्ट्र चिनको राजधानी शहर बेइजीङ भ्रमणको अवसर जुटेकाले हामी हाम्रो स्वास्थ्यलाई पनि ध्यानमा राख्दै भ्रमण एवं कार्यक्रममा पनि सहभागि हुन चाहिरहेका थियौं । हानवान, बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको निमन्त्रणा, नेपालका लागि चिनियाँ राजदुतावास र वल्र्ड कल्चरल नेटको सहयोग र सहकार्यमा हाम्रो यात्रा तय भएको थियो । जम्मा ३३ जनाको टोलीको नेतृत्व बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । धेरैजसो साथीहरुसँग एअरपोर्टमा नै चिनजान भएको हुँदा हामी एक आपसमा खुलीसकेका थिएनौं । यात्राका क्रममा नै चिनजान भएपनि घुलमिल हुन चाँहि धेरैबेर लागेन । साँच्चै बेलुका बेइजिङ पुग्दासम्म त सबै चिरपरिचित जस्तै भएका थियौं ।
हामी बेइजिङ पुग्दा रात धेरै छिप्पिसकेको थियो । हामीलाई स्वागत गर्नका लागि जिम्मेवारी लिनुभएकी प्रोफेसर आफ्ना सहयोगीहरुका साथ तयार हुनुहुन्थ्यो । हामीसँग कुरा गर्न सदैव दोभाषेको आवश्यकता पर्ने ती परिपक्व प्रोफेसरले १५ दिनको बेइजिङ बसाइलाई अत्यन्तै व्यवस्थित गर्न कुनै कसर बाँकी राख्नुभएन । राती एक बजेतिर गेन्दाङ इन्स्टिच्युट अफ टेक्नालोजीको पाहुना कक्षको न्यानो स्वागतले आफ्नै घरमा पुगेजस्तो भान भयो ।
हाम्रो टोलीमा देशका विभिन्न भागबाट आउनुभएका प्रबुद्घ व्यक्तित्वहरु हुनुहुन्थ्यो । हामी दाजुभाई एउटै कोठामा बस्ने भएपछि रुपा कस्तो पर्ला भन्ने पीर पनि भएन । हामी एउटै कोठामा बस्ने साथीलाई रुम पार्टनर अर्थात छोटकरीमा रुपा भन्ने गरेका थियौं । यो रुपा शब्द बेइजिङबाट शुरु भएर काठमाण्डौ सम्मनै गफ गर्नका लागि राम्रो मसला बनिरह्यो । यो ‘रुपा’ शब्द सानतिना कुराले पनि धेरै खुसी बनाउन सहयोग पुग्छ भन्ने कुराको उदाहरण नै बन्यो ।
यात्राको क्रममा भाषामा बुझाइको समस्याले गर्दा खानपानमा धेरै साथीहरुलाई समस्या परेको थियो । गोञ्झाओ बाट बेइजिङ सम्मको यात्रामा त झन बढि भाषिक समस्या देखियो, भोगियो । यात्राका क्रममा धेरै साथीहरु विदेश यात्राका लागि थोरै अनुभवी थियौं । तर हाम्रो समानता भनेको हामी सबै विद्यालयका सञ्चालक एवं प्रिन्सिपलहरु थियौं ।
रमाइलो र उत्साहले भरिपूर्ण यात्रा भएपनि राति अबेर भइसकेकाले हाम्रो बिरामी शरीरलाई आरामको सख्त आवश्यकता भइसकेको थियो । औषधीका ट्याब्लेटहरुको लागि अत्यावश्यक आहाराको जोहो गरेर राती दुइ बजे सुत्ने तरखर गर्दा नेपालमा भर्खर बाह्र बजेको थियो ।
क्रमशः

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts