Monday, August 29, 2011

 सुदिप वि.क. 
धादिङबेसी भाद्र १२
धादिङका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले धादिङमा शैक्षिक सूचना सञ्जाललाई व्यवस्थित गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विकासका लागि सञ्चार अभियान, धादिङले आज धादिङबेसीमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा जिल्ला शिक्षा अधिकारी पौडेलले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । धादिङका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सूचना कम्प्यूटर नेटवर्क प्रणालीमा राख्नका लागि यथासम्भव प्रयत्न गर्ने उहाँको प्रतिबद्धता थियो ।
उक्त कार्यक्रम शुरु भएको चार वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको भनी गुनासो बढिरहेको सन्दर्भमा सञ्चार अभियानले आज सरोकारवाहरुको उपस्थितिमा सार्वजनिक बहस गरेको हो । जिल्ला शिक्षा कार्यालयले स्थानीय स्रोत केन्द्र मार्फत कम्प्युटर नेटवर्क प्रणाली स्थापना गरी विद्यालयहरुको तथ्यांक व्यवस्थित गर्न चार वर्ष अघि सामुदायिक विद्यालयमा इन्टरनेट सञ्जाल स्थापना गर्ने शिर्षकमा प्रत्येक श्रोत केन्द्रमा ५५ हजार ७ सय ८४ रुपैयाँमा खरिद गरिएको एक एक वटा ल्यापटप वितरण गरिएको थियो ।
शैक्षिक तथ्यांकलाई व्यवस्थित गर्न जिल्ला शिक्षा कार्यालय धादिङले जिल्लाका २० वटा स्रोत केन्द्र र पाँच वटा विद्यालयलाई र सात जना विद्यालय निरिक्षकलाई एक एक थान इन्टरनेट जडित ल्यापटप र १२ वटा विद्यालयलाई कम्प्युटर वितरण गरेको भएपनि ४ बर्षसम्म जिल्ला भित्र कम्प्युटर नेटवर्क प्रणालीको स्थापना हुन भने सकेको छैन ।
शिक्षा कार्यालयले उपलव्ध गराएको ल्यापटप सुचना प्रविधि संजाल स्थापना गर्नका लागि कार्यक्रमको मर्म र उद्देश्य अनुरुप सदुपयोग हुन नसकेको कार्यक्रमका सहभागीहरुको धारणा थियो । युनाइटेड मिसन टु नेपाल धादिङ क्लस्टरको सहयोग र जेड्स नेपालको संयोजनमा शुरु भएको सञ्चार अभियानको आजको कार्यक्रममा एकीकृत नेकपा माओवादीका धादिङ सहईञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी, जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा, युनाइटेड मिसन टु नेपाल धादिङ क्लस्टरका प्रमुख शशी घलान, विद्यालय निरिक्षकहरु, विद्यालय स्रोत व्यक्तिहरु, सञ्चारकर्मी र सामाजिक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले शैक्षिक सुधार र पूर्वाधार विकासको लागि जिल्ला शिक्षा कार्यलयले वितरण गरेको ल्यापटपको शैक्षिक सुचना प्रणाली विकासको लागि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए । गाउँदेखि जिल्लासम्म सुचना प्रविधि सञ्जाल स्थापना गर्ने लक्ष्यका साथ सरकारी कोषवाट खरिद गरी वितरण गरिएको ल्यापटप र कम्प्युटरको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्नुपर्नेमा सहभागीहरुले विशेष जोड दिएका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts