Monday, April 2, 2012

टेकमान शाक्य
संविधानसभाको चुनाव पश्चात नेतृत्वप्रति धेरै आशा र भरोसा गरेका नेपाली जनता अहिले त्यति नै निराश भइरहेका छन् । जनताको अधिकार सुनिश्चित गर्ने कसम खाई गएका नेताहरुले अब देख्दै छन् तोरीको फूल । गाउँमा काम नपाएर राजनीति गर्ने चाउरेहरु जनताले दिएको भोटले लाउरे बन्दै राजधानीमा महंगा महंगा घर बनाउन गर्न व्यस्त देखिन्छ अहिले । २०६४ चैत २८ गतेको कुरा हो । त्यतिखेर मतको झोली तुम्बो बोकेर मलाई एक भोट चाहियो भन्दै घरघरमा भिख माग्दै हिँड्नेहरुले नै अहिले उक्त विजयलाई जनता ठग्ने भाँडो बनाउँदै छन् ।
    हुन त भन्नेहरुले तीललाई ताड बनायो पनि भन्न सक्लान् । नेपाली जनताले संविधान निर्माणको लागि पठाएको व्यक्ति पदीय लुछाचुँडिमा व्यस्त देखिन्छ । विचरा ! त्यही पनि भ्याएका छन् त्यति गर्न पनि । संविधानसभाको चुनावपछि अहिलेसम्म ४ जनाको नेतृत्वमा मन्त्रीमण्डल गठन भइसकेको छ । के ४ बुँदाको संविधान निर्माण हुन सकेको छ अहिलेसम्म ? के नेपाली जनताको लागि ४ मिनेट सोचेका छन् संविधान निर्माणकर्ताहरुले ? यस विषयमा नेपाली जनताले आवाज उठाउनुपर्ने देखिन्छ । 
    जनताको पक्षमा संविधान बन्ला र केहि नयाँपनको अनुभुति गरुँला भनेर बसिरहेका जनताका आशाहरु अहिले ‘आकाशको फल आँखा तरी मर्’ भनेझैँ निराशामा बद्लिरहेका छन् । संविधान निर्माण गर्ने समय थप्ने क्रम कहिल्यै पनि रोकिएन यो देशमा । त्यसैले त संविधान बन्नेमा नेपाली जनताहरु विश्वस्त हुन पाएका छैनन् । संविधान निर्माण पश्चात् यो देशमा अब केही हुने भयो भनेर आशा गरी बसेका नेपाली जनताहरु हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई सम्झेर बस्न बाध्य छन् । दश बर्षिय जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनमा देशको लागि सहिदहरुले हाँसेर पवित्र रगतको खोलो बगाएको आज व्यर्थ भएको छ । जसले बलिदानी प्रकट गरे उसैको घरको चुल्लोमा आगो बल्न धौ(धौ छ । के यहि हो नयाँ नेपाल ? के नेपाली जनताले चाहेको यहि हो ? सबै जनताको लागि सुहाउने संविधान निर्माण गर्नेछौँ भन्ने प्रतिबद्धता नेताहरुसँग हुनसक्छ । तर के आफुले आफैँलाई बुझ्न एकचोटि सोचेका छन् त उनीहरुले ? के रणनीति रच्दै छन् त नेपाली जनताको लागि ? कतै बाहिरी कभर मात्र बदलेर पुरानै संविधानलाई ब्यँुताउन खोजेका त होइनन् ? हो, नेपाली जनताको लागि सन्त्रासको विषय बन्न पुगेको छ अहिले । यदि यस्तै हन लागेको हो भने नेपाली जनतालाई मान्य हुने छैन । खाउँ खाउँ लाउँ भन्ने बेला आफ्नो प्राण त्याग गर्ने ती विर सपूतहरुको योगदान सम्झेर किन अगाडी बढ्दैनन् त उनीहरु ? नेपाल एक संघिय लोकतान्त्रिक देशमा बदल्ने अभियानको संक्रमणकालमा धमिलो पानीमा माछा मार्न चाहने शक्तिहरुले अहिले संविधान निर्माणमा पनि बाधा पु¥याइरहेको पाइन्छ ।
    नेपालीको मनमा संविधानसभामा कुशल र योग्य व्यक्तिलाई संविधान लेख्नको लागि पठाएको रहेनछौँ कि भन्ने आशंका पैदा हुन थालेको छ । अखिर जे भएपनि नेपाली जनतालाई नयाँ र कुशल संविधानको आवश्यक छ । जनताले मत दिएर संविधान निर्माणको लागि पठाएको व्यक्तिले जनताको आँखामा छारो हाल्ने काम गर्नु हाम्रो लागी सुखद कुरा होईन । अब पनि देशमा जनपक्षिय संविधान भएन भने नेपाली जनता माफि दिने वालामा छैन । त्यसैले राज्यकोषको ढुकुटी रित्याएर जनतालाई ठगिखाने भाँडो बनाउनेहरु पदमा बस्ने अधिकार एक सेकेण्ड पनि छैन  । नेपाली जनताको संविधान सभाको चुनाव पश्चात जे आशा र अपेक्षा थियो, त्यो सबै निराशामा परिणत भएको छ । जेठ १४ भित्रमा संविधान नबनाएमा समय थप्ने काम नर्ग नमिल्ने भन्दै सर्वोच्च अदालतले निर्णय गरिसकेको छ । तर पनि संविधान निर्माण गर्ने छाँटकाँट छैन नेताहरुको । भन्न त भन्दैछन् जसरी पनि जेठ १४ भित्रमा संविधान जारी हुन्छ भनेर । तर खै विश्वास छैन संविधान आउने कुरामा भने । बच्चालाई लालिपप दिएर फकाए जसरी नेपाली जनतालाई जेठ १४ गते भित्रमा संविधान जारी गरेर नै छाड्छौँ भन्नु आश्वासनको दलदलमा फसाउनु सरह हो । यदि जनतालाई अझै झुट बोल्दै हिँडेको हो भने जनता त्यसै चुप बस्ने छैन । पदिय लुछाचँुडिमा व्यस्त राजनेताहरुले नेपाली जनताको लागी असल संविधान निर्माणम ध्यान पुर्याउनु आवश्यक देखिन्छ अहिले । काम गर्ने  भोक्कै मर्ने र काम नगर्ने चौरासी बेन्जनको बज्जा लिने प्रवृत्ति देशमा यथावत नै छ । यो देशमा बोल्न सक्नेको मिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि नबिक्ने अवस्थामा छ । जसले बोल्यो, त्यसैले जान्यो भनेझैँ भैरहेको छ यो देशमा ।
    यतिबेला जेठ १४ ले सताएको हुनसक्छ संविधान निर्माणकर्ताहरुलाई । समय रहुन्जेल सरकार निर्माण गर्न र झत्काउनमा ब्यस्त रहे उनीहरु । ४ बर्षसम्म भोलिवादी परम्परालाई अगाडि बढाउँदैमा ठिक्क भयो । अव अन्तिम दिन नजिकिँदै छ जेठ १४ गते । यो समय जति नजिक हुँदै छ त्यती नै छटपट लागिरहेको छ उनिहरुलाई । अझ भन्ने हो भने त दिनहुँ मन्त्रीहरुको कर्तुत पर्दाफास हुँदैगर्दा स्पष्ट हुन्छ की, संविधान निर्माण हुनेमा ग्यारेन्टी छैन । यो भन्दा पहिले पनि भ्रष्ट नेताहरुले राज गद्दीको हुकुम नचलाएका होइनन् । फरक यति हो की पहिले पहिले गुपचुप थियो, अहिले सार्वजनिक छ । जेपि गुप्ता जस्ता भ्रष्ट व्यक्तिले भरिएको मन्त्री मण्डलको रुपमा यो सरकार विस्तारै परिचित हुँदैछ । नेपाली जनताको आसंका यो पनि छ की कतै प्रधानमन्त्री पनि कुनै अभियोगको कारण राजिनामाको दावेदार बन्नुपर्छ की ? आखिर जे भएपनि जनताले चाहेको नयाँ संविधान अशल र कुशल हो । असल र कुशल संविधानको अभावमा नै जनता त्रासित बन्न पुगेको हो । गराएर खान पल्केकाहरु यहाँ तँ कराई राख म आफ्नो सुर छाड्दिन भन्दै अगाडी बढ्नेहरुमात्र छन् । यसको मतलव यो हो कि, नेपाली जनताले चाहेअनुरुप संविधान नबन्नेमा पक्का छ । जनताको पसिनाको कदर नभएसम्म यो देशको नागरिक हुनुमा गर्व गर्नु व्यर्थ छ । यदि यस्तै अबस्था सिर्जना हुने हो भने संविधान निर्माण भएर पनि केहि फाईदा छैन । त्यसैले संविधान बनोस् त जनताले चाहेको होस् । जनतालाई धोका दिने काम कसैबाट पनि नहोस् भन्ने नेपाली जनताको चाहना हो । साभार जनमुक्तिमार्ग साप्ताहिक

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts