Wednesday, July 25, 2012

सुदिप विश्वकर्मा/ काठमाडौं, १० साउन । राजधानीका अधिकांश शाखा सडक विस्तारसँगै निर्माण नहँदा बर्खाको हिलो र हिउँदको धुलोका कारण सर्वसाधरण सास्तीमा परेका छन् । सरकारले विस्तार गरेको सडक निर्माण गर्न नसक्दा सडकमा हिंड्ने यात्रीले बर्खायामको अविरल वर्षासँगै सवारीसाधनले छ्याप्ने हिलोले सास्ती भोग्नुपरेको हो । सडक विस्तार गरेर ठूलो कार्य गरेको भन्न रुचाउने महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, उपत्यका विकास प्राधिकरण यो समस्या भने देखे–नदेखे जसरी बसेका छन् ।
थापाथली–बुद्धमार्ग–शंखमुल सडकखण्ड रोपाइँ गर्न तयार 
पारेको धानखेतजस्तै भएको छ । खन्ना गार्मेन्टबाट बालकुमारी इमाडोल गाविस जाने सडकको हालत पनि उस्तै छ । भाटभटेनी बानेश्वर, भीमसेनगोला, कुपण्डोल, प्रगतिनगरलगायतका ठाउँमा सवारीसाधनले छेप्ने हिलो र सडकबीचमा परेका खाल्डाखुल्डीको हिलोको कारण सर्वधसाधारण हिंड्न सकेका छैनन् । सडक विस्तार गरिएका राजधानीका अधिकांश गल्ली सडकको हालत बिग्रँदो अवस्थामा छ । त्यसमाथि सडकको पेटी नहुँदा सडकबाटै हिंड्नुपर्ने बाध्यताले सर्वसाधारण सवारीसाधनले छ्याप्ने हिलोको सिकार बनेका छन् ।
बुद्धनगरका रत्नबहादुर लिम्बु बर्खाको हिलो र हिउँदको धुलोले बिरामी हुने, बाहिरै निस्कन नसक्ने बताउँछन् । ‘सवारीसाधनले छ्याप्ने हिलोको कारण बाहिर हिंड्न पनि गाह्रो हुन्छ, कतै जाउँ भने कपडा एकछिनमै मैलो भइहाल्छ, कपडा धुनैको समस्या भयो । पानी पनि छैन, काठमाडौंमा  हिलोले सताएको छ ।’ उनी भन्छन्, ‘हिलोको कारण नाक, कान र घाँटीमा समस्या देखिएको छ ।’ चाबहिलकी देवकी अधिकारी पानी परेपछि छोराछोरीलाई विद्यालय पठाउनै नसकिने बताउँछिन् । बाटोको हिलो र सवारीसाधनले छ्याप्ने हिलोले छोराछोरीको विद्यालयको ड्रेस नै हिलाम्यै हुने उनको गुनासो छ ।
कोटेश्वरका इन्द्रबहादुर राई भत्काइएको सडक निर्माण नहुँदा आफूहरू पैदल हिंड्न नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । उनी भन्छन्, ‘बाटोमा हिंड्दा गाडी आउनासाथ डराएर भाग्नुपर्छ, यो त महासमस्या भयो, पेटी त नभत्काएको भए हुने थियो नि, नबनाउनेले किन भत्काउने ?’ शंखमुल बस्ने गणेश फुयाँल विस्तारित सडक निर्माण नहुँदा सर्वसाधरणले ठूलो सास्ती भोग्नुुपरेको बताउँछन् । सवारीसाधनले छ्याप्ने हिलोको कारण अफिस जाने कपडा धोएर साध्य नलागेको उनको भनाइ छ ।
महानगरीय ट्राफिक महाशाखा, सडक विभाग, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिकालगायतको सरोकारवाला निकायसँग सहकार्य गरेर उपत्यकाको झन्डै ३३ स्थानमा ३५ सडकको विस्तार गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पवन गिरी सडक विस्तारपछि निर्माणमा ढिलाइ हुँदा राजधानीका सर्वसाधरणलगायत ट्राफिकलाई समेत समस्या परेको बताउँछन् । सडक भत्काएर नै निर्माण गर्ने भएकाले केही प्राविधिक कारणले सडक पुनर्निर्माण कार्यमा समस्या भए तापनि छिट्टै यो समस्याको समाधान हुने उनको भनाइ छ । राजधानीमा हाल २ सय ६५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने ४३ किलोमिटर ग्राबेल तथा बाँकी २५ किलोमिटर माटे सडक छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाटो विस्तार गर्नुपूर्व आङ्खनै कार्यकक्षमा बाोलाएर सडक डिभिजन कार्यालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, खानेपानी विभाग, ढलनिर्माण विभागलगायत कार्यालय प्रमुखहरूलाई संयुक्त रूपमा सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न निर्देशन दिएका थिए । तर, महिनौंै बितिसक्दा पनि त्यसमा खासै चासोसमेत कार्यालय प्रमुखहरूले देखाएका छैनन् । बर्खायाममा वर्षा बढ्ने भएकाले पनि सडक निर्माण कार्य नभएको बताउँछन् डिएसपी गिरी ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी राजधानीका शाखा सडकहरूको समस्या विकराल भएकाले आफूहरूले सरकारसँग रकम मागेर साउन महिनाभित्र काम सुरु गर्ने बताउँछन् । राजधानीका अधिकांश सडक निर्माणको जिम्मा सडक विभागले लिएकाले पनि आफूहरूको भागमा चार–पाँच वटा सडक निर्माण गर्ने जिम्मा रहेको उनी बताउँछन् । आफूहरूको जिम्मामा रहेको सडक पनि रकम अभावका कारण निर्माण गर्न नसकेको उनको गुनासो छ ।
राजधानीमा यातयातको साधन बढेका कारणले पनि सडक छिट्टै भत्कने गरेको अधिकारी बताउँछन् । काठमाडौं उपत्यका सडक डिभिजन कार्यलयका अनुसार हाल उपत्यकामा ३ सय ३९ किलोमिटर सडक सञ्चालनमा छ । वार्षिक रूपमा काठमाडौंको सडक निर्माण तथा मर्मतका लागि १८ करोड रूपैयाँ विनियोजन गरिन्छ । सरकारले सडकलाई व्यवस्थित पार्नका लागि भन्दै २० किलोमिटर सडक विस्तार गरिसकेको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts