काठमाडौं, साउन १ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक आजबाट सुरु हुँदै छ । पार्टीको एक समूह चोइटिएर नयाँ पार्टी बनाइसकेको अवस्थामा नयाँ विकसित परिस्थितिमा पार्टीको आगामी नीति तथा कार्यक्रम र योजना निर्माण गर्न काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा दिउँसो १ बजे उद्घाटन भई सुरु हुने माओवादीको सातौं विस्तारित बैठकमा देशभरबाट ५ हजार २ सयको हाराहारीमा सहभागिता रहने बताइएको छ । विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार, केन्द्रीय समिति, राज्य समिति सल्लाहकार र राज्य समितिका सदस्यहरूको सहभागिता रहनेछ । त्यसबाहेक पार्टीको आमन्त्रणमा केही विशेष अतिथिको सहभागिता पनि रहने बताइएको छ ।
विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकटबारे’ शीर्षकको राजनीतिक दस्ताबेज प्रस्तुत गर्ने भएका छन् । अध्यक्ष प्रचण्डको दस्ताबेज पोलिटब्युरो र केन्द्रीय समितिमा छलफल भई सुझावहरूसमेत समेटेर परिमार्जनसहित विस्तारित बैठकमा प्रस्तुत गरिनेछ । प्रचण्डको दस्ताबेजलाई आइतबार केन्द्रीय समितिको बैठकले परिमार्जनसहित पारित गरिसकेको छ । विस्तारित बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पार्टीभित्रको अवस्था र पार्टी बाहिरको राजनीतिक अवस्थाका बारेमा समीक्षाका साथै भावी कार्यदिशाका बारेमा छलफल हुने सचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । विस्तारित बैठकका सुझावसहित केन्द्रीय समितिले पार्टीलाई पुन: क्रान्तिकारी र थप सुदृढ बनाउने बोगटीको भनाइ थियो ।
एकीकृत माओवादी पार्टी विभाजन र संविधानसभाको विघटनपछिको विस्तारित बैठकको निर्णयलाई महत्त्वका साथ हेरिएको छ । माओवादी विस्तारित बैठकले लिने निर्णयले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पर्ने देखिएको छ । विस्तारित बैठकको सुझावसहित केन्द्रीय समितिको बैठकले भावी कार्यदिशा र संगठनात्मक योजना निर्माण गर्नेछ ।
विस्तारित बैठकको उद्घाटनका लागि मञ्च र समूह छलफलका लागि छुट्टाछुट्टै टेन्ट बनाउने काम आइतबार नै सम्पन्न भइसकेको छ । विस्तारित बैठकमा सहभागी हुन देशभरिबाट कार्यकर्ताहरू आइतबार नै काठमाडौं आइसकेका छन् । साउन ५ गतेसम्म चल्ने विस्तारित बैठकको व्यवस्थापनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान विस्तारित बैठक मूल आयोजक समितिले गरेको छ । विस्तारित बैठकका लागि हल व्यवस्थापन, आवास, यातायात, सुरक्षा, प्रचार–प्रसार, स्वास्थ्य, सरसफाइ लगायतका विभिन्न उपसमिति पनि गठन गरिएको मूल आयोजक समितिले बताएको छ । बैठकको सुरक्षाका लागि ६ सय स्वयंसेवक परिचालन गरिएको छ ।
यसअघि माओवादीको छैटौं विस्तारित बैठक २०६७ मंसिर ५–११ सम्म गोरखाको पालुङटारमा सम्पन्न भएको थियो । छैटौं विस्तारित बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनसँगै तत्कालीन उपाध्यक्ष मोहन वैद्य र उपाध्यक्ष डा. बाबुराम भट्टराईको फरक प्रतिवेदनमाथि छलफल भएको थियो ।
केन्द्रीय समितिबाट प्रचण्डको दस्ताबेज पारित
सोमबारदेखि सुरु हुने एकीकृत माओवादीको सातौं विस्तारित बैठकमा प्रस्तुत हुने अध्यक्ष प्रचण्डको दस्ताबेज केन्द्रीय समितिले पारित गरेको छ । केही सुझावसहित केन्द्रीय समितिको बैठकले प्रचण्डको दस्ताबेज पारित गरेको हो ।
‘केही साथीहरूले मौखिक सुझाव दिनुभएको छ, केही साथीहरूले लिखित रूपमै सुझाव पेस गर्नुभएको छ’ माओवादी सचिव पोष्टबहादुर बोगटीले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ‘केही सुझावहरू अहिले नै समेटेर परिमार्जनसहित विस्तारित बैठकमा दस्ताबेज प्रस्तुत हुन्छ । विस्तारित बैठकको सुझावसमेतलाई समेटेर केन्द्रीय समितिले अन्तिम दस्ताबेज निर्माण गर्नेछ ।’
प्रचण्डको दस्ताबेजमा संविधानसभाबाटै संविधान निर्माण गर्ने कुरालाई नै तत्कालीन कार्यदिशा बनाइएको छ । प्रचण्डले अहिलेका उपलब्धिहरूलाई संस्थागत गर्दै त्यसकै जगमा जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने उल्लेख गरेका छन् । पार्टीको पुनर्संरचना गर्ने र सबै गुट/उपगुट ध्वंस गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिको बैठकमा राम कार्की, स्वनाम साथीलगायतले लिखित सुझाव दिएका थिए ।
प्रचण्डको दस्ताबेजमा केन्द्रीय सल्लाहकार समितिले पनि सुझाव दिइसकेको छ । सल्लाहकार समितिको बैठक पनि आइतबार नै सम्पन्न भइसकेको छ । एकीकृत नेकपा माओवादीबाट असन्तुष्ट उपाध्यक्ष मोहन वैद्य समूह फुटेर नयाँ पार्टी बनाए पनि सल्लाहकार समितिलगायतका सबै निकायमा संस्थापन पक्षको करिब दुईतिहाई बहुमत रहेको छ । @ nepaleverestnews.com
0 comments:
Post a Comment