Sunday, September 16, 2012

प्रमोद धिताल
आज साहित्य, कला, मानवीय मूल्य, बौद्धिक सम्पदादेखि लिएर मानवसंस्कृतिका हरेक पक्षहरु बजारको कब्जाभित्र कैद हुँदै गएका छन् । साम्राज्यवादको अमोघ अस्त्रको रुपमा मानिसका दिमागहरु उपभोक्तावादी संस्कृतिका औपनिवेशिक आश्रयस्थल बन्दै गएका छन् । ठीक र बेठीक, अश्लील र श्लील, नैतिक र अनैतिक, उन्नत र निचको बीचमा अब कुनै भेद बाँकी रहेजस्तो लाग्दैन । यो विकृत पूँजीवादको उपभोक्तावादी अस्त्रको कमाल हो । बिस्तार–बिस्तारै भीड संस्कृति मौलाउँदै गइरहेको छ । यस्तो भ्रम सृजना गर्न खोजिंदैछ या त्यसले ठाउँ लिन खोज्दैछ कि मानौं भीड संस्कृति नै जनसंस्कृति या अबको राष्ट्रिय संस्कृति हो । जब कि भीड संस्कृति र जनसंस्कृति एउटै हुनै सक्दैनन् । जनसंस्कृतिभित्र जनताको हितमा असल पक्षहरुको समावेश भएको हुन्छ । त्यसमा स्वाभाविकता हुन्छ, त्यसमा जनजीवनकासंघर्ष, सहकार्य, आशा, आकांक्षा र सपनाहरु सन्निहित हुन्छन् । जब कि भीड संस्कृतिमा विकृतिलाई नै संस्कृतिको रुपमा बजारले आफू खुशी उत्पादन गर्छ र स्थापित गर्दछ । नकारात्मक रुचीलाई सकारात्मक रुचीको रुपमा जबर्जस्ती खाए खा नखाए घिच गरेर  जनतामाथि थोपर्छ ।
बजारको उपभोक्तावादी निरंकुशतालाई एकचोटी गीतसंगीतको समसामयिक विषयसँग जोडेर हेरौं । त्यसो त गीत संगीतसँग जोडिएका सबै पक्षहरु वगीर्य हुँदैन नै । त्यसका कतिपय पक्षहरु निर्वर्गीय हुन्छन् । जस्तो कि संगीत, बाजा र मानिसका स्वरहरु प्राविधिक पक्ष हुन् । तर गीतसंगीतको माध्यमबाट जे जस्ता शब्द एवं शब्दहरु मार्फत् अर्थहरु सम्प्रेषित गरिन्छ ती कुराहरु वर्गीय हुन्छन् । तिनीहरुले प्रदान गर्ने सन्देशले कुन वर्गको, कुन संस्कृतिको अनि कुन कुराको पक्षपोषण गर्छन् त्यो महत्वपूर्ण कुरा हो ।
आजभोलि तीजका गीतहरुले बजार गरम भएको छ । यातायातका साधनहरु, होटल, पसल, गाउँदेखि लिएर शहरका विद्यालय, क्लब, संघसंस्था, राजनीतिक दल निकटका महिला संगठनहरुसम्म सबैतिर तीज कार्यक्रम अन्तर्गत मुलतः नाचगानतिर मानिसको ध्यान आकर्षित गरेको छ । हिजो कुनै बेला हिन्दु सामन्तवादको दह्रो पक्षपोषण गर्दै आइरहेको तीज पर्वले समाजमा केही निश्चित मूल्य र मान्यताहरुको प्रतिविम्बन गथ्र्यो । तर आज तीज पर्वलाई उपभोक्तावादी बजारले खर्लप्पै निलिदिएको छ । यो पर्व अब मानिसको विशुद्ध धार्मिक आस्थामा बाँच्ने अवस्थाको अन्त्य भएको छ । यो र यस्तै अन्य परम्परागत, धार्मिक मूल्य मान्यताहरुलाई बजारले आफ्नो कब्जामा लिएर एउटा ठिमाहा संस्कृतिको निर्माण गरेको छ । अब यो टिक्ने भनेको ऐयाशीपूर्ण खानपान, खर्चिलो र तडकभडकपूर्ण पहिरन, उत्ताउला र अश्लील गीत नृत्यहरुको प्रस्तुतिभन्दा अरु केही होइन ।
अन्य चाडपर्वहरुको हकमा पनि यही नियम लागू हुन्छ । तर महिलासँग सम्बन्धित पर्व मानिएकोले उनीहरुलाई उृपभोक्तावादी बजारको श्रृगारिक मालको विषयवस्तुको रुपमा प्रस्तुत गर्न झनै सजिलो बनाइदिएको छ । यतिखेर तीज गीतको नाउँमा जेजस्ता  गीतहरुको निर्माण भएको छ, मानवीय मूल्य, महिला अस्मिता, उन्नत जनसंस्कृतिको निर्माणको कोणबाट हेर्दा कहिनेर पनि योगदान गर्दैनन् । केही अपवादलाई छोडेर यिनीहरुले बजारको माग र आवश्यक्तालाई पूर्ति गर्ने काम गर्छन् । व्यावसायिक कलाकारिताको नाउँमा गीतका सर्जक तथ गायकहरुले मानवीय मूल्य, सामाजिक दायित्व र अस्मितालाई केन्द्रमा राखेर होइन तत्काल के बिक्छ भन्ने मनसायले वा आफ्नो रुचिलाई नै जनताको रुचि बनाएर पस्किरहेका छन् । व्यावसायिकताको नाममा यो अश्लीलता, विकृति र रुग्णताको व्यापार हो र भीड संस्कृतिको पक्षपोषण हो ।
बजारको मान्यता यही हुन्छ कि सकेसम्म हरेक चीजलाई आकर्षक मालमा परिणत गर, अकूत नाफा कमाऊ । जुन चीज नाफाको वस्तु बन्न सक्दैन त्यसलाई रछ्यानमा मिल्काइदेउ । यतिखेरको अवस्था त्यही हो । जोकरलाई महान बनाएर पेश गर्नु अनि महानलाई जोकर बनाएर पेश गर्नु यसको विशेषता हो । त्यसैगरी उत्कृष्टलाई निकृष्ट बनाएर उपेक्षाको बिषय बनाउनु अनि निकृष्टलाई उत्कृष्ट बनाएर विकाउ मालमा बदल्नु नै यसको आदर्श हो ।
बजारको नजरमा अहिले त्यही व्यक्ति उत्कृष्ट हो जसले महंगो गाडी चढ्न सक्छ, महंगो मोबाइल प्रयोग गर्न सक्छ, महंगो सुट प्रयोग गर्न सक्छ, महंगा र आकर्षक गहनाहरु लगाउन सक्छ, महंगो रक्सी पिउन सक्छ । जसले सस्ता बजारिया मालहरु प्रयोग गर्छ उसको कद त्यति नै होंचो हुन्छ । जसलाई बजारका आधुनिक उपभोग्य बस्तुहरु सस्तो दाममा पनि प्रयोग गर्न र्नै सुिवधा प्राप्त छनै ऊ कुनै पनि मूल्यको हुँदैन । उसको अगाडि हिनताबोधले ग्रस्त हुनुसिवाय अर्को विकल्प हुँदैन । अहिलेको मानिसको मूल्याङ्गनको आधार यही हो । त्यसको लागि जस्तासुकै नैतिक, अनैतिक कर्तुतहरु पनि जायज भएका छन् । किनकी बजारले अब नैतिक र अनैतिकताको  बीचमा पनि भदे समाप्त पार्दै लगेको छ । सक्छौ लुट सक्दैनौ लुटिन तयार भएर बस । यस्तो मान्यतालाई स्थापित गरेको छ उपभाक्तावादी बजारले ।
त्यसको लागि आम्दानीका जस्तासुकै जायज नाजायज धन्दाहरुले आज प्रश्रय पाउन थालेका छन् समाजमा । नैतिक अर्धपतनको डलाग्दो यात्राले तीव्रता पाउँदै गएको छ । यसर्थ हामी के निष्कर्ष निकाल्न सक्छौं भने अब पूँजीवादी उपभोक्तावादको आदर्श कुनै उन्नत सामाजिक चेतनाले युक्त नवमानवको निर्माण गर्नु होइन बरु उपभोगको संसारमा आजीवन भौतारिरहने निर्जीव कठपुतली तयार गर्नु हो, जसले पुँजीवादको नाफको अधिकार यात्रालाई सुरक्षित बनाउन सकोस् । बजारले निर्माण गरेका उपभोग्य वस्तुहरुको उपभोग मात्र मानिसको पतनको कारक होइन । बरु बजारले जुन मनशायका साथ संस्कृतिलाई आफ्नो नाफा उद्योगको हतियार बनाउन खोज्दैछ त्यही मिशन मनुष्यका लागि खतरनाक बन्दै गएको छ । उसले मानिसको मन, मस्तिष्क र बौद्धिकतालाई पनि आफ्नो उपनिवेश बनाएर मालको उपभोक्ता मानिसलाई होइन मानिसको उपभोक्ता माललाई बनाइरहेको छ । जसले गर्दा भयानक पतनशील संस्कृतिको आधार तयार गरेको छ ।
साभारः जनउभार साप्ताहिक

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts