Sunday, November 4, 2012

डा. टीकाराम पोखरेल
एककाइसौँ शताब्दीको आधुनिक संसारले हरेक मानिसका धर्म, संस्कृति र परम्परालाई मानव समुदायका पहिचानको रुपमा स्वीकार गरेको छ । जातजाति, भाषा, धर्म, भेषभूषा, राष्टिूयता, संस्कृति, परम्परा, वंशज र भौगोलिक सीमाकै कारण हरेक मानिसको अर्को मानिसको भन्दा फरक पहिचान छ । हिमाली, पहाडी, नेपाली, भारतीय, युरोपियन, अमेरिकी, अफ्रिकी, हिन्दू, मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट, तामाङ, शेर्पा, बाहुन, क्षेत्री आदि यस्तै विविध पहिचान हुन् । हरेक मान्छे यस्ता कुनै न कुनै पहिचानसँग जोडिएर आफ्नो चिनारी प्रस्तुत गर्दछन् ।
यस्ता पहिचानहरु हरेक व्यक्तिको अस्तित्वसँग जोडिएर आउने गर्दछ । हरेक मानिसको आस्था, विश्वास र विचार फरक फरक हुन्छ । आधुनिक मान्यता यो छ कि  हरेक मानिस आफ्नो आस्था, विश्वास र विचार बमोजिम आफूले चाहेको धर्म, आस्था र संस्कृतिसँग जोडिन स्वतन्त्र छ । तर पनि सामान्यतया मानिस आफ्नो परम्परागत धर्म, आस्था र संस्कृतिमै आफ्नो पहिचान बनाउँछ । शहरी सभ्यतामा केही हदसम्म आफ्नो परम्परागत धर्म, संस्कृतिबाट आफूलाई मन परेको अर्को कुनै धर्म वा संस्कृतिमा प्रवेश गरे पनि ग्रामीण र पिछडिएको समाजमा परम्परागत धर्म, संस्कृतिबाट अन्यत्र प्रवेश गर्नु संभव पनि छैन । धर्म, संस्कृति परम्परा सबै मानव समुदायका हितका लागि हुन् । मानवको भौतिक उन्नति र आध्यात्मिक आनन्दका लागि हुन् । धर्म, संस्कृति मानवीय पीडाका द्योतक हुन सक्तैनन् । मान्छेले जति धरै आफूलाई दुःख दिएर धर्म, संस्कृतिमा एकाग्र हुन्छ त्यति नै ईश्वर खुसी हुन्छन् भन्ने मान्यता अन्धविश्वास मात्र हो । मानवको उन्नति, हित र आनन्दका विपरीत त्यस्ता कुनै रीतिरिवाज, धर्म संस्कृति र परम्परा हुन सक्तैनन् । छन् भने ती सबै कुधर्म, कुसंस्कृति र कुपरम्परा हुन् ।
परापूर्वदेखि चलि आएका धर्म, संस्कृति र परम्परा त्याग्नुहुन्न भन्ने कुरा ठीकै हो तर समयसापेक्ष उदार र परिष्कृत भने हुनैपर्दछ । आज एक्कासौँ शताब्दीमा आइपुग्दा पनि कतिपय धर्मभीरुहरुबाट धर्मान्ध भई सर्वसाधारणलाई समेत भ्रममा पारेर धर्मका नाममा थुप्रै अधर्म गरिएका छन् । धर्मान्ध भएकै कारण युद्धहरु भएका छन् । अहिले पनि क्रिश्चियन र मुस्लिम वा मुस्लिम र हिन्दु बीच ठूलो खाडल छ । धर्मकै कारण भारत र पाकिस्तान दुई फरक फरक राज्य बन्न पुगेको इतिहास छ । अमेरिकी ट्वीनटावरको घटना पनि कुनै न कुनै रुपमा धार्मिक अन्धविश्वाससँग जोडिएका छन् । धर्मभीरु भएकै कारण मध्य युगमा युरोप सुतेको उदाहरण छ । बाबरी मस्जिद भत्काइएका घटना छन् । बोक्सीको आरोपमा हत्या गरिएका घटना छन् ।
 मानवबलि नै दिइएका उदाहरणहरु पनि यदाकदा नभएका होइनन् । धर्म, सस्कृति र परम्पराका नाममा मानव समुदायलाई दुखित बनाउने यस्ता घटना प्रसस्तै घटेका छन् । अन्धभक्तहरुले कुधर्म, कुसंस्कृति र कुपरम्परालाई नै आफ्नो धर्म, संस्कृति र परम्परा ठानेका कारण यस्ता घटना भएका हुन् ।  नेपालमा पनि परापूर्वकालदेखि नै धर्म, संस्कृति र परम्पराका नाममा धेरै कुसंस्कारहरु विद्यमान छन् । धार्मिक एवम् साम्प्रदायिक दंगाहरु नेपालमा कमै भए तापनि सामाजिक रुपमा धर्म, संस्कृतिको नाममा मानव अधिकार हनन भने भैरहेको छ । मूलतः हिन्दू संस्कृति र परम्परा महिला अधिकारमैत्री छैनन् । पौराणिक कालमा महिलाहरुलाई उच्चस्थान दिइएको भए तापनि पौराणिक कालपछि भने पुरुष र महिला बीच ठूलो विभेदको रेखा कोरिएकोे पाइन्छ । पितृसत्तात्मक समाजका कारण महिलालाई अधिकारको चेतना होइन कर्तव्यको बोध मात्र गराइएको छ । कुलधर्मको नाममा पुरुष अधिकार प्रयोग गर्छ महिला कर्तव्य निर्वाह गर्दछन् ।
पतिको दीर्र्घायुको लागि व्रत नारीले बस्नुपर्दछ । तर जसको दीर्घायुको लागि व्रत बसिएको छ उसले भने जति खाए पनि हुने मात्र होइन कि टिल्ल रक्सी नै खाएर हिँडे पनि अन्यथा मानिन्न ।  सुत्केरी हुँदा महिलाले अरु कसैलाई छुन नहुने तर सुत्केरी गराउनमा प्रमुख भूमिका निर्वाह गर्ने पुरुष भने चोखै रहने जस्तो अव्यवहारिक पद्धति महिलाहरुमाथि लादिएको छ । छाउपडीमा अरुले महिलालाई छुन नहुने भन्दै गोठमा राखिने वा अरुबाट टाढै बस्नुपर्ने नियम बाँधिएको छ । घरपरिवारको सुख, शान्ति र सम्वृद्धि र आरोग्यका लागि भन्दै महिलाले नै व्रत वस्नुपर्ने तर घरको मूल मालिक चाहिँ पुरुष नै हुने परम्परा चलिआएको छ । पतिको मृत्यु भए नारी विधवा हुन्छे, पत्नीको मृत्यु भएमा पति विधुर । विधावाले आजन्म विवाह गर्न नहुने तर विधुर पुरुषले भने विवाह गर्नैपर्ने सामाजिक मान्यता छ । मनोवैज्ञानिक रुपमा पनि धर्म, संस्कृति परम्परामा महिलाभन्दा पुरुषलाई विशेष दर्जा दिइएको छ । यो पुरुषप्रधान समाजको द्योतक हो ।
अधिकांश महिलाको लागि चाडबाड पीडाको पर्व हुने गरेको छ । तर पनि महिलाहरु चाडपर्वमा आफ्नो पीडा भित्रभित्रै लुकाएर आफ्नो कर्तव्य ठानी सबै जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । पूजापाठ गर्नेदेखि घरको सम्पूर्ण काम धान्ने र अतिथिको स्वागत सत्कारदेखि बालबच्चाको हेरविचार गर्नेसम्मका सबै काम महिलाकै भागमा पर्छ । यी काम महिलाले मात्र गर्नुपर्ने किन ? पुरुषले गरे पनि हुने हो । तर पुरुषले यी काम गर्नुपर्दैन । गरे पनि ऐच्छिक छन् तर महिलाका लागि अनिवार्य छन् । महिला भनेका परिवारको धर्म, संस्कृति र परम्परा धान्न हुर्केका हुन् तर पुरुष चाहिँ संसार जित्न जन्मेका हुन् भन्ने मनोवैज्ञानिक सोच अहिले पनि विद्यमान छ । पछिल्लो समयमा शहरबजारमा यस्ता सोचमा केही परिवर्तन आए तापनि ग्रामीण समाजमा यो सोचाईले जरा गाडेको छ ।
कानुनले बन्देज गरेका बोक्सी, दाइजो, देउकी, बालविवाह, बहुविवाह जस्ता विभिन्न कुप्रथाहरु पनि हाम्रो समाजमा अझै विद्यमान छन् । तर यी कुप्रथाहरुबाट पीडित हुने भनेका महिला नै हुन् । थोपरिएका यस्ता कुप्रथाहरुका कारण हाम्रो समाज कुरुप बनिरहेको छ । तर ग्रामीण समाजका केही कट्टरपन्थीहरु चाहिँ यो ठानिरहेका छन् कि यी संस्कारहरु हटेमा चाहिँ समाज कुरुप बन्छ ।
ग्रामीण र पिछडिएको समाजमा यस्ता कुप्रथाहरुलाई ईश्वरको कृपादृष्टिसँग जोडेर अझै पनि ठूलाठालू र टाठाबाठाहरुले फाइदा उठाइरहेका छन् ।  एकातिर पुरुषप्रधान समाज र ठूलाठालूको छायाँका कारण हाम्रो समाज र पुरुषहरुले नै धर्म, संस्कृति र परम्पराका नाममा महिलाहरु माथि विभेद गरिरहेका छन् भने अर्कोतर्फ महिलाहरु पनि चेतनाको अभावले गर्दा जानी नजानी यस्ता कुसंस्कारमा बाँधिन बाध्य भएका छन् । नारीधर्मको नाममा महिलाहरु यस्ता नारी विरोधी संस्कारको शिकार भैरहेका छन् । विरोध गरे समाजबाट मात्र होइन ईश्वरको ढोकाबाट समेत आफू बहिष्कृत हुने डरले महिलाहरु पनि यस्ता कुसंस्कारको कुनै न कुनै रुपमा समर्थक हुने गरेको महिला अधिकारको अनुगमनको दौडान कतिपय दुर्गम भेगमा भेटिन्छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ लगायत संयुक्त राष्ट्र संघद्वारा जारी अन्य दस्तावेजले महिलाहरुमाथि कुनै पनि बहानामा भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ । नेपालको अन्तरिम संविधान, २०६३ ले पनि महिलामाथि हुने भेदभावलाई बन्देज लगाएको छ । तर हाम्रै समाजमा धर्म, संस्कृति र परम्परालाई धान्ने नाममा महिलाहरु माथि समाजले विभेद गरेको छ । यो कानुनको खिल्ली उडाउने काम मात्र होइन धर्म, संस्कृति र परम्परामाथि पनि उपहास हो किनभने धर्म संस्कृति र परम्परालाई मानव समुदायमा घाउको मलमको रुपमा प्रयोग गरिनुपर्दछ न कि मानवीय पीडाको रुपमा । तर पुरुषको लागि मलम भए पनि महिलाका लागि पीडा नै भएको छ । यस्तै विभेदका कारणले कतिपय आधुनिक मान्यता राख्नेहरुले धर्म, संस्कृति र परम्पराको विरोध गर्ने गर्दछन् । कानुनी सवालसँग मात्र नभएर मानिसका मान्यता र परम्परासँग समेत जोडिएकोले यस्ता कुप्रथालाई  जरैदेखि उखेलेर फाल्न पनि कठिन छ । त्यसैले धर्म संस्कृति परम्परालाई गरिमायुक्त बनाउने हो भने यसलाई महिलामैत्री बनाउनुपर्छ, समयसापेक्ष परिष्कृत गर्दै जानुपर्छ । त्यसो गरिएन भने चाहिँ यस्ता मानवअधिकार विरोधी धर्म, संस्कृति र परम्परा कालान्तरमा इतिहास मात्र बन्न नजालान् भन्न सकिन्न ।  तष्पबचबm।उयपजबचभ२िनmबष्।िअयm

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts