दिपक लामिछाने |
जनताद्धारा पराजित भइसकेपछि पनि सामन्त, दलाल, शोषक वर्ग परिवर्तन र क्रान्तिकारीको जनसमर्थनबाट अत्तालिँदै १० गुणा बढि षड्यन्त्र, धोका, अपराधहरुको साहरा लिँदै प्रतिक्रान्तिको आधार तयार पार्न हर सम्भव हर्कतहरु गर्दछन् । यहि इतिहासको निश्कर्षलाई पुनःप्रमाणीत गर्दै, धादिङ जिल्लाको उत्तरी भेगमा उदाउँदो युवा नेतृत्व कमरेड विजय तामाङको कांग्रेसी गुण्डाहरुद्वारा निर्ममतापूर्वक हत्या भएको दुःखद् खबरले सिङ्गो पार्टी तथा धादिङवासी परिवर्तनकारी जनसमुदायलाई यति खेर शोकाकुल बनाएको छ । जन समुदायद्धारा पराजित पुरानो बिचार बोकेका सामन्त, दलालहरुको प्रतिनिधिहरुले यस्तो प्रकारको अपराधिक घटना घटाउनु अस्वभाविक पनि रहेन । प्रतिक्रियावादी शक्तिहरु आफ्नो गुमेको स्वर्ग फिर्ता गराउने दिवास्प्नामा यस्तै प्रकारको योजनाबद्ध षड्यन्त्रपूर्ण, अमानविय विभत्स हत्या र आंतकको साहारा लिन पुग्दछन् । यो उनीहरुको नियति हो ।
क्रान्तिकारी विचार सँग हार खाएपछि उनीहरु सांघातिक हमला, डर, त्रास, भ्रम छर्दै निर्मम र पाशविक हत्यासम्म पुग्नु कायताको पराकाष्टा हो । केही महिना अगाडी जिल्ला कमिटिको आन्तरिक प्रशिक्षणमा भेट हुँदा “म विजय तामाङ, दार्खा गा.वि.स.का केही साथीहरु माथि माओवादी पार्टीमा सक्रिय भएको देखेर स्थानिय कांग्रेसी गुण्डाहरुले राजनैतिक आस्था कै आधारमा विभिन्न दुःख दिने, अपशब्द प्रयोग गर्ने, विभिन्न धम्किपूर्ण व्यवहार गर्ने क्रियाकलाप जारी छ ।” भनि बताउनु भएको थियो । त्यति नै बेला जिल्ला ईन्चार्ज सहभागी दार्खाको एक कार्यक्रमलाई लक्षित गरि उक्त गुण्डाहरुले नजिकैको जंगलमा बसेर हवाई फायर गरी कार्यक्रम विथोल्ने नियतले शंकास्पद गतिविधि गरेपछि जिल्ला नेतृत्वदल तत्कालिन जिल्ला प्रहरी प्रमुखललाई उक्त स्थानमा भैरहेको क्रियाकलाप नियन्त्रण गरी आम जनतालाई सुरक्षाको प्रत्याभुति गराउन आग्रह गरिएको थियो । अफसोच जनताको जिउ धनको सुरक्षाको प्रत्याभूति दिने जिम्मा पाएको प्रहरीबाट त्यसलाई चासो देखाइएको पाईएन र अन्ततोगत्वा दुश्मनका हरेक चुनौतिहरुको सामना गर्दै जनभावना, चाहना र समस्याहरुको समाधान, विकास निर्माण तथा अग्रगामी विचारको नेतृत्व गर्दै निरन्तर अगाडी बढिरहनु भएका क.विजयको तिनै कांग्रेसबाट संरक्षित पेशेवर हत्यारा गुण्डाहरुको जमातको षड्यन्त्रपूर्ण योजनामा परि २०६९ मंसिर १८ गते गुम्दीको सातदोबाटोमा झुक्याएर पछाडीबाट खुडा प्रहार गरी लखेट्दै गोलीहानी निर्ममतापूर्वक विभत्स हत्या गरे ।
यसरी एक जुझारु, निडर, कर्मठ सर्वहारावर्गीय विचारबाट लैस एक क्रान्तिकारी योद्धालाई नेपालको क्रान्तिमा लामबद्ध परिवर्तनकारी जनताले गुमाउनु प¥यो । जनताको आशाको केन्द्र, भरोसा योग्य, सरल मिजासका धनी कमरेड विजयको हत्याबाट जिल्ला पार्टीलाई मात्र नभएर नेपालको क्रान्तिलाई गम्भिर क्षति हुन पुगेको छ । यस घटनाले सम्पूर्ण क्रान्तिकारी मार्गमा आवद्धभई अग्रगामी निकासका लागी लागीपर्नुभएका देशभक्त, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, पेशाकर्मीहरुलाई मर्माहत बनाएको छ साथै सर्तक पनि ।
दुश्मनले देखाएको धरपकड, आतंक, डर, धम्की, हत्याबाट क्रान्तिकारीहरु कहिल्यै विचलित हुदैनन् बरु शोकलाई शक्तिमा बदल्दै अझ निडर, धारिलो विचार, क्रान्ति प्रति ढृड विश्वास राख्दै क्रान्तिको महान् यात्रामा लामबद्ध हुन्छन् भन्ने कुरा भोलिपल्ट गरिएको शव यात्रामा जिल्ला भरका युवाहरु, शिक्षक, विद्यार्थी, किसान, देशभक्त तथा अग्रगामी विचार भएका जिल्लावासी जनसमुदायहरुको विशाल भिडले शवयात्राबाट हत्याराहरुलाई खबरदारी गर्दै क.विजयप्रतिको जनसमर्थन प्रदर्शन गरे । सदरमुकामबाट शवयात्रा सुरु हँुदा चोक चोकमा जनसमुदायहरु आशुधारा बगाउदै शोकाकुल मुद्रामा क.वियज प्रति गहिरो सहानुभुति व्यक्ति गरि शवयात्रामा सहभागीहुदै थिए क.विजयको निधनमा सम्पूर्ण जनता शोकाकुल थिए । घटनाको उचित फैसला र अपराधिहरुलाई कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता सहित आत्मिय नेतालाई श्रद्धासुमन व्यक्त गर्दै लामबद्ध भई अन्तिम दाहसंस्कारमा सहभागी भैरहेका थिए । उत्तरी भेगमा क्रियाशिल एक लोकप्रिय, जनपक्षियकाम गर्ने, जनताको इच्छा, चाहाना तथा समस्या समाधानमा महत्वपूर्ण पहलकदमी गर्ने एक होनाहार योद्धा क.विजयको सामना गर्ने आट गर्न नसकेर षड्यन्त्रपूर्ण तरिकाले निर्ममतापूर्वक हत्या गरि घृणित अपराध गरे पनि एक क्रान्तिकारी योद्धा मारे हजारौ क्रान्तिकारी योद्धा जन्महुन्छ यो इतिहासबाट प्रमाणित नियमलाई पछ्याउदै इतिहासले यी सबै कुराको फैसाला अवश्य पनि गर्ने नै छ ।
यथा–स्थितिवादी र परिवर्तनकामी क्रान्तिकारी शक्तिहरु बीचमा भिषण टक्राव भैरहेको तथा संक्रमणकालको सही व्यवस्थापन चुनौतिको रुपमा देखा परिरहेको अहिलेको सन्दर्भमा जनतालाई हत्या, आंतक, लुटपाट, डर, धम्की, पाशविक अपराधिक क्रियाकपालहरुद्धारा तर्साइ निरुत्साहित पारी प्रतिगमनको आधार खडा गर्ने कुनियतका साथ नियोजित रुपमा घटाइएको भए पनि विश्व इतिहास र क्रान्तिमा संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, अग्रगामी परिवर्तनकारी पक्षधर सम्पूर्ण एक गोलबन्द भै अगाडी बढेमा प्रतिक्रान्तिकारी निरंकुल दलाल, सामन्तहरु कही पनि सफल भएका छैनन् र यहाँ पनि हुने छैनन् उनिहरु पछारिने नै छन् भन्ने कुरा नेपालको १० बर्षे महान् जनयुद्ध, तथा आन्दोलनहरुले प्रमाणीत गरिसकेको छ । शहिद कमरेड विजयले देखाउनुभएको बाटोमा निरन्तर अगाडी बढ्ने ढृढ प्रण गर्दै अघि बढ्दै इतिहासको उचित कालखण्डमा इटको जवाफ पत्थरले दिने बाचा गरौँ । यसरी मात्र क.वियज प्रति साँचो श्रद्धान्जलि हुनेछ । जनताका आदरणीय प्यारा नेता त्यो सुन्दर फुल फक्रदै गर्दा हामी विचबाट षड्यन्त्रपूर्ण जालमा पारि दुश्मनले धुजा–धुजा पारिदियो । हामीले अझ धेरै कोपिलाहरु फुलाउनु छ देशलाई सुन्दरफुलहरुले सजाउनु छ त्यसैले हामी वहाँको पदचापलाई निरन्तर अविचलित रुपमा पछ्याउदै निरन्तर अघि बढिरहने छौँ नेपालको क्रान्तिलाई क.वियजको अभाव खट्किन दिने छैनौ । हृदय भरिको माया र श्रद्धा सहित क. विजयलाई हार्दीक श्रद्धाञ्जली !
0 comments:
Post a Comment