Thursday, May 23, 2013

  • राजु स्याङतान
उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुको लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउघरमा लठेप्रोले जिवनसंगी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता खोजे पछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययम स्तरको कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरु, कार्पेटको टुक्राटुक्रि, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, फ्याँकिएको कपिहरु । यी नै  थिए कोठाको शौन्दर्य । मनभरि उकुसमुकुुस लिएर सफा गर्न थाले । छेउमा एउटा पुरानो कपि, झ्यालबाट फुत्किएर आएको हावासगै फरफराई रहेको थियो । अगाडी पछाडीको भाग जलेको थियो । मुस्किलले काठमाण्डु भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो ।  जिज्ञाशा लाग्यो । सफा गर्न छोडेर पढ्न थाले ।
काठमाण्डु ! तिमीसँग मित्रता गाँसेको पनि आज १० बर्ष पुगिसकेछ । १० वटा हिउँदहरु तिम्रो चौतारीमा विताएँ मैले । यो १ दशक तिमीसँग मैले कुनै ठुलो अपेक्षा राखिन । न त गरेँ कुनै कुकर्म नै । बस् तिमीले घचेँडी रह्यौ म हिडीँरहेँ । यस्तो लाग्थ्यो तिम्रो र मेरो सम्बन्ध नङ र मासुको जस्तो । माछा र पानीको जस्तो । एक अर्काको परिपुरक । तिमी छौ र त म छु । म छु र त तिमी छौ । एक अर्का बिना अधुरो हामी । यस्तो सोंचेर १० वटा वर्षाहरु  तिम्रो छहारीमा विताएँ । जव तिमी फोहरको डङ्गुरले घिनाउँदै रुन्थ्यौ । म भोको पेट रातदिन तिमीलाई पसिनाले नुहाई दिन्थेँ । जब तिमी विजुली, ग्यास, पेटूोलको हाहाकारले चिच्याउँथ्यौ । म एक  मुठी सातु खाएर अध्यारो मै निदाउँथे र कामना गर्थें तिम्रो भागमा उन्ज्यालो परोस् । तिमी अव्यवस्था, अस्थिरता, कुसासनबाट क्षत विक्षत भएर सिमा पारी भाग्थ्यौ म जनआन्दोलन, जनयुद्ध भएर सागर झैं उरिन्थेँ र तिमीलाई माथी माथी उकाल्थेँ । तिमीे स्वप्नको दुनियाँमा नयाँ नयाँ अपाटमेन्ट र कोलनी चाहार्दै हिड्थ्यौ । म पसिना बनेर तिम्रो पैतलामा पोखिन आईपुग्थेँ ।  तिमी हिड्ने बाटोहरु भत्किएर खाडलहरुमा डलरको थैलीहरु तैरिन्थे । म हत्केला भरि स्वाभिमान बोकेर तिमी हिड्ने बाटोहरुमा नुनिलो आँशु बगाउँथे । तर खै त काठमाण्डु ? तिमी र म एकै भएको ? दुई नदिको किनार जस्तो तिमी सधैं ऐश्वर्यको ईन्द्र नगरमा सुनको थालीमा ज्यूनार गर्दैछौ र म सधैं अभावले चिथोरिएको एक जोडी नाङ्गो पैतला घिसार्दै वारी किनारै किनार हिडीरहेको छु । मैले बनाएको अग्लो अग्लो टावरहरुमा गणतन्त्रको नाराहरु लेखिए । मेरो आँशु पोखिएर बनेको दियोमा शान्तिको पानसहरु जलायौ । तर खै त काठमाण्डु ? फेरिएन मेरो निधारमा लेखिएको अभागीको मैलो दाग । अस्ति खुल्ला मञ्चमा एक जनाले भाषणमा भन्दै थियो “ नेपाल गणतान्त्रिक मुलुक हो । यहाँ सबै बरावरी हुनुपर्छ । जस्ले पसिना बगाएर मेहनत गर्छ उसैको घरमा पहिला दुईछाक मिठो मसिनो पाक्नुपर्छ । अनि मात्र साँचो गणतन्त्र नेपाल हुन्छ । आउँनुस् गरिव दुःखी जनताहरु मेरो पार्टीको झण्डामुनि गोलबन्द हुनुस्” । म त्यो दिन सारै खुशी भएँ । भोली पल्ट त्यही कार्यालय पुगेँ । गेटबाटै मान्छेहरु लाईनलागेका थिएँ । सोधेँ “ कतार जाने भए लाईन बस् ” । क्षण भरमै गणतन्त्रको रंगिन सपना सिसा झैं फुट्यो । के यहि हो काठमाण्डु नयाँ नेपाल भनेको ? सुन ! अर्को पनि कथा भन्छु म । सातबर्ष अगाडी तिमीले मलाई एउटा मोटरसाइकल किस्तावन्दीमा दियौ । तर मैले अहिलेसम्म पनि त्यो किस्तावन्दी तिरीसकेको छैन । मोटरसाईकल परारसाल कवाडीमा बेचिसकेँ । आज मेरो प्रत्येक मिनेटको पसिनाहरु किस्तावन्दीमा परेको छ । पसिनासँगै मेरो सपना, मेरो भविष्य सबै सबै किस्तावन्दीमा परेको छ । भन काठमाण्डु के यही हो नयाँ नेपालको नयाँ अर्थनिति ? अव म के गरुँ भन काठमाण्डु ? तिनै सडकको मैलो मान्छेहरुसंगै फिरौती माग्दै बालक अपहरण गर्न थालुँ ? या जन्म दिने देशलाई चटक्कै माया मारेर विदेश पलायन हुनु ? फेरि मेरो पासपोर्ट बन्दैन मेरो बाउ छैन । यो कस्तो जिन्दगी दियौं मेरो देश ! यो देश मेरो पनि हो । तर खै देशले मलाई आफ्नो भनेको काठमाण्डु ? तिमीलाई फुर्सद छैन होला । तर तिमीले मेरो गन्थन सुन्नै पर्छ । आज तिमीलाई सिंगार्ने प्रत्येक गरिबहरु पलायन हुँदै गयो भने तिमीलाई कस्ले बनाउँछ ? तर तिमी त राजनीति गर्दैमा ब्यस्त छौ । कस्ले सम्बोधन गर्छ म जस्ताको भत्किएको जीन्दगीलाई ?
काठमाण्डु आज म तिमीसँग पहिलो र अन्तिम पटक मेरो कहानी भन्दैछु । फुर्सद छ भने सुन छैन भने नसुन । म गाउँमा विशिष्ट श्रेणिमा क्।ी।ऋ। पास गरेर ठुलो मान्छे बन्ने सपना सजाएर काठमाण्डु आएँ ।  राजमार्गमा दाउरा बेचेर मेरी एक्ली आमाले यो भन्दा धेरै पढाउँन सक्ने अवस्था पनि थिएन । मैले जागिर खाएर आमाको अभावको दिनहरु कम भएको हेर्न चाहानु हुन्थ्यो । अचानक आमालाई बिमारले च्याप्यो । राजमार्ग छेउको श्रीसम्पति सबै बेचे र पनि आमाको रोग २० को १९ भएन । वीर हस्पिटलको क्ष्ऋग् मा आमा जीवन मृत्यूको दोसाँदमा छट्पटाउँदै हुनुहुन्थ्यो । ती लाख खोज्दै म सडक सडक भौतारिएँ । नेता देखी मन्त्रिसम्म, व्यापारी देखी उद्योगपति सम्म आमाको प्राण बचाउन जीवनको भीख माग्दै हिंडे । तर काठ्माण्डु  मैले  केहि पनि पाईन  । सडकको किनारमा आमाको फोटो राखेर भीख माग्न थाले । प्रतिदिन आमा सिकिस्त बन्दै जानुभयो । तर मैले पाँच लाख पु¥याउन सकिन । अन्तमा सडकको फोहरी मान्छेहरुसंग संगत भयो । चोरें, डकैती गरेँ । चन्दा उठाएँ । फिरौतिको काम गरेँ । काठमाण्डु ! म धेरै ढिलो भईसकेको थिएँ । अन्ततः आमाले मलाई एक्लै छोडेर जानु भयो । मेरो कहानी आमासंगै सुरु भयो आमासंगै सकियो । म को हुँ, कस्को छोरा हुँ अब चिनारी छैन मसंग । काठमाण्डु अरुपनि सुन्छौं ? अहँ भो तिमीसँग सुन्ने कान छैन । हेर्ने आँखा छैन । अनुभव गर्ने मानवता छैन । भोली बिहान कोठाभाडा दिईन भने घरबेटीले के गर्छ त्यो मलाई मात्र थाहा छ । मैनबत्ति सकिन लाग्यो । कुनै उपाए आएको छैन । यो मैनबत्तीसगै सकिन पाए पनि हुन्थ्यो । काठमाण्डु म तिमीसँग बस्दिन अव । भनि दिनु ति सारा शहरका अग्ला(अग्ला घरहरुलाई तिमीलाई बनाउने मान्छे एक पेट खान नपाएर चोभार डाँडा काटेर गयो भनेर ।तर उनिहरुले सुन्नेछैनन् । उनिहरु त ...........
त्यस पछिका अक्षरहरु चुरोटको ठुटासँगै जलेको थियो । मन छटपटिन थाल्यो । त्यो अपरिचित मान्छे को होला ? कहाँ गयो होला ? कोठाको कुना कुना उसको नाम, मोबाईल नम्बर, ठेगाना, भ्mबष् िक्ष्म् खोजेँ ।  घरबेटीलाई सोधँे । “एक हप्ता अगाडी उ त्यो झ्याल फोरेर भाग्यो” । म स्तब्ध भएँ । यस्तो पनि जिन्दगी हुन्छ र ?  काठमाण्डौंमा ठूलो मान्छे बनेर यो देशको नाम उँचो राख्ने सपना बोकेको एउटा गरिब कहाँ गयो होला ? संक्रमणकालको जाँतोमा भविष्य पिसेर यो काठमाण्डौं देखि हारेको एउटा टुहुरो कहाँ गयो होला ? संघर्षको विभिन्न ढोकाहरु ढक्ढक्याउने प्रयत्न गर्न बिर्सिएर त्यो अपरिचित अन्जान मान्छे कहाँ गयो होला ? म थाकेर भुँईमा बसे । आफ्नै समस्याका चाँङहरु वरिपरि घुम्न थाल्यो । कागजको टुक्राहरुमा मेरो आफ्नै समस्याका अनगिन्ति प्रश्नहरु देख्न थालेँ । त्यो अन्जानको प्रतिबिम्ब चुरोटको ठुटाहरुमा देख्न थालेँ । एकाएक त्यो अपरिचित मान्छे कोठाको कुनामा बसेर मलाई जिस्क्याईरहेको जस्तो लाग्यो । भन्दै थियो “ म काचँको सिसा फोडेर भागे । तर तिमी आयौ ? सुन, यो काठमाण्डु धनिहरुको लागि मात्रै हो ” यहाँ मानवता कौडीको भाउमा बिक्री हुन्छ । यहाँ स्वाभिमान टुडिखेलमा झुन्डिएर मरिरेहेको छ । यहाँ स्वार्थ पाखण्ड, ढोङीहरु मात्र बाँच्न सक्छ ।  न्याय, स्वतन्त्रता,समानता, प्रेम, स्नेह, सबै सबै उहिल्यै जंग बहादुरको पालामा मरिसक्यो । उ मेरो अगाडी ठिङ्ग उभिएर बोलीरह्यो । हेर्दा हेर्दै उ, म जस्तै देखिन थाल्यो । म आत्तिएँ । मोबाईलको घण्टी बज्यो । म त एकोहोरो टोलाएर बसेछु । फोनले झस्कायो । फोन उठाएर फेरि कोठा सफा गर्न थालेँ । आज  म जहाँ जहाँ पुग्छु, जुन जुन गल्ली, भिडहरुमा पुग्छु तिनै अपरिचित मान्छेलाई खोजीरहेको हुन्छु Syangtanraju2010@gmail.com

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts