राजु स्याङ्तान |
एकीकृत ने.क.पा.(माओवादी)ले जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको दिशामा जाने कार्यदिशा तय गरेको छ । एमाओवादीले राजतन्त्रको अन्त्य, संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा, धर्मनिरपेक्षता,समावेशी र समानुपातिक सिद्धान्तको स्थापना लगायतका केही राजनैतिक उपलब्धिलाई जनवादी क्रान्तिका पुरा भएका आंशिक राजनैतिक उपलब्धिको रुपमा संस्थागत गर्न खोजेको देखिन्छ । बाँकी रहेको जनवादी क्रान्तिको कार्यभार अव आर्थिक क्रान्ति, उत्पादन संघर्षको माध्यमबाट पुरा गर्न सकिन्छ भन्ने एमाओवादीले निति लिएको छ ।
कार्ल माक्र्स भन्नु हुन्छ “मानिसको चेतनाले उनिहरुको अस्तित्वलाई निर्धारण गर्दैन, अपितु उल्टो उनीहरुको सामाजिक अस्तित्वले उनीहरुको चेतनालाई निर्धारण गर्दछ ”। यस भनाई बाट प्रष्ट हुन्छ कि, समाजको कुनै पार्टी अथवा ब्यक्तिको चेतनाले, उनीहरुको अस्तित्वलाई निर्धारण गर्दैन, उसको उल्टो उनीहरुको सामाजिक अस्तित्वले उनिहरुको चेतनालाई निर्धारण गर्दछ ।
के छ रुस र चिनको कम्युनिष्ट भन्दा फरक नेपालको कम्युनिष्टहरुको आचरण ? नेपाल मै अन्य कम्युनिष्ट भन्दा केमा फरक छ एमाओवादी पार्टीको ब्यवहार ?आज यो विश्व जगतमा चासोको विषय बनिरहेको छ । एमाओवादी पार्टी भित्र देखिएका केही सांस्कृतिक आचरणगत पक्षको छोटो चर्चा गरौं । पहिलो पक्षःपार्टी भित्र दृष्यभन्दाअदृष्य ढंगले चिन्तनमा अझ बढि बर्ग उत्थान भइरहेको पाईन्छ । सर्वहारा आचरण, आर्दश हात्तीको देखाउँने दाँत भएको छ । स्तर अनुसारको कम्युनिष्ट ठगको जमात दिदानुदिन बढ्दोछ । श्रमको संस्कृति दन्त्य कथा भएको छ । हिजो जनयुद्धमा प्रचण्ड र बाबुरामलाई एक झल्को हेरेर मर्न पाए हुन्थ्यो भन्ने इमान्दार कार्यकर्ताहरु आज घरबारी बन्दकी राखेर अरबको खाडीमा नचाहेरै पलायन हुन विवस भइरहेकोछ । यसको दुष्परिणाम स्वरुप, एमाओवादी दलाल, तस्कर, गुण्डा,लोभि पापी र डनहरुको आश्रय स्थल बन्दै गइरहेकोछ ।एमाओवादी पार्टी भित्र लेनिनवादी संगठनात्मक सिद्धान्तमा अघोषित परिवर्तन भएको छ । अव एमाओवादीको पार्टी सदस्य बन्नको लागि निम्न चार सर्तहरु पुरा गर्नु पर्ने देखिन्छ । पहिलो सर्त, सदस्य बन्न चाहाने ब्यक्ति,धुर्त फटाहा र जाली चरित्रको हुनु पर्ने । दोस्रो सर्त, शहरमा चार पाँच तले महल र चिल्लो पजेरो हुनु पर्ने । तेस्रो सर्त, माओवादीका नेताहरुलाई समय समयमा रेखदेखगर्दै आएको हुनु पर्ने, र चौथौ सर्त, फेल भएको भए पछि सर्टिफिकेटको चाँङ हुनु पर्ने ।आफु रुपान्तरण भएर समाज रुपान्तरण गर्ने महान लक्ष्य बोकेको पार्टीको यो दुर्दशा साँच्चै सोचनिय छ ।
दोस्रो पक्षः १९ औं सताब्दीमा दुनियाँ थर्काउने सोभियत संघ अन्ततः सांस्कृतिक रुपान्तरणको अभावमा गल्यामगुर्लुम ढल्यो ।चिनियाँ क्रान्ति सांस्कृतिक विघटनसँगै लाखौंको बलिदान ब्यर्थ भयो । नजिकैको यिनमिठो इतिहास आजका कम्युनिष्टहरुले सिक्नु पर्ने उदाहरणहरु हुन् । मानिसले भाषणमा के बोल्न भन्ने प्रधान होइन रहेछ । प्रधान त उसले के गर्छ ?उसको चिन्तन, आचरण कस्तो छ?भन्ने कुरा नै निर्णायक हुँदोरहेछ । समाजलाई समाजवादमा पु¥याउँने अभियन्ताहरुले के पहिला आफु परिवर्तन हुनु पर्दैन ? के आर्थिक क्रान्ति गरेपछि तुरुन्तै समाजवादमा पुगिन्छ ?समाजको कस्तो सांस्कृतिक स्वरुपलाई समाजवाद उन्मुख संस्कृति मान्ने ? सांस्कृतिक रुपान्तरण बिना आर्थिक क्रान्तिको मात्रै नाराले समाजमा झनै, सक्नेले कमाउ मोज गर, नसक्ने कतार जाउ जस्तो देखिने खतरा छ । सहकारी, जनकम्यून नितिकति पयाप्त छन् ? यि अहम सबालहरुमा क्रान्तिकारी पार्टीको ध्यान गएको देखिदैन ।
तेस्रो पक्षःआज समाज बजारवाद, उपभोक्तावादद्धारा खण्ड खण्डमा बिभक्त भएकोछ । क्रान्तिकारी भन्नेहरुले आत्मियता, कमरेडली भावना उहिल्यै रोल्पाको जंगलमा छोडेर आएको देखिन्छ । दिनभर सांस्कृतिक रुपान्तरणको चर्को वकालत गर्दै हिड्ने, बेलुकी जाँडपाटीमा आधारात सम्म झुम्ने, कविता,लेख ,दस्तावेज, कार्यपत्रहरुमा ठुला ठुला कम्युनिष्ट आर्दशका कुरा गर्ने, बेलुकी डान्सवारमा गएर नाइटोमा पैसा छर्ने, दिनभर महिला समानता र हकहितको मिटिङमा प्रमुख अतिथि बनि भाषण गर्ने, यता भित्र भित्रै अघोषित श्रीमतिहरुलाई सन्तुलन मिलाएर राख्ने, दलित सम्बन्धि कार्यशालामा घण्टौं मिठो भाषण गर्ने, बेलुकी आफैसँग घरमा आएको साथीलाई “आमाले मान्नु हुन्छ दुःख नमान्नु है”, भन्दै ढोका बाहिरै राख्ने, यी र यस्तै सांस्कृतिक विचलनका तत्थ्यहरु आज एमाओवादी पार्टी भित्र सामान्य भइसके ।
चौथो पक्षः अर्को महत्वपूर्ण प्रश्न भनेको नेपालमा चलिआएको सांस्कृतिक परम्पराहरुको रुपान्तरणको प्रश्न हो । हाल चलिआएको सांस्कृतिक परम्पराहरु उच्च हिन्दु जातिय वर्णाश्रम ब्यवस्थामा आधारित छ । प्रगतिवादी साहित्यकार आहूति भन्नु हुन्छ “कार्ल माक्र्सले गर्नु भएको महान संश्लेषण ‘धर्म मानिसको लागि अफिम हो’, नेपाली कम्युनिष्ट आन्दोलनले धर्मबारे लिएको यही निति वाक्यका वरपर यहाँसम्म की यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ ”। माथीका भनाईबाट के प्रष्ट हुन्छ भने माक्र्सको उक्त महान संश्लेषण प्रति समेत नेपालका कम्युनिष्टहरुले गहिरिएर सोचेका छैनन् । नेपालमा कम्युनिष्टकै सरकार भएको बेला कुनै जातिलाई धर्मको नाममा राँगो काटेर खान बजेट नै छुट्याइन्छ । चार्ड पर्वको बेला सिङ्गै पार्टी पङ्तिलाई बिदा गरिन्छ । धार्मिक बिधि अनुसार सिलान्यास गर्न ठुला नेता नै पुग्छन् । देउसी खेल्न सिङ्गै पार्टी पंतिलाई सर्कुलर गरिन्छ र जान्छन् देउसेहरु बलिराजाले पठाको भन्दै । श्रीमतिलाई खुट्टाको पानी खुवाउँछन् । नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएका यी अन्तन्तै ठिट लाग्दा उदाहरणहरु हुन् । समाजवादको दिशा तिर लम्किएको क्रान्तिकारी पार्टीले माथिका गम्भिर सबालहरु तिर सोच्न जरुरी छ ।
केही सकरात्मक प्रयासहरुः
६० बर्षको जिवनमा कम्युनिष्टहरुले केही थोरै तर महत्वपुर्ण कार्यहरु भने गरेको पाईन्छ ।१० बर्षे जनयुद्धको अवधीमा सामन्तवादका सांस्कृतिक रुपहरु माथी प्रहार ग¥यो । जनयुद्ध कालमा गाइको पवित्रता माथी निकै ठुलो प्रहार गर्ने काम भयो । जनयुद्धका योद्धाहरुले गाईको मासु खाए । यो चानचुने परिघटना थिएन । सामन्तवादी हिन्दु एक तन्त्रिय बर्णाश्रमब्यवस्थामाथिठुलो धक्का थियो । त्यस्तै जनयुद्ध अवधीमा छुवाछुत, उचनिच जस्ता जातको आधारमा शोषण गर्ने सामान्तवादको परम्परा माथि पनि ठुलो प्रहार भयो ।अन्र्तजातिय बिवाहहरु प्रशस्तै भए । अर्को महत्वपुर्ण थालनी, महिलाले छोए बन्दुक पड्कदैन भन्ने पितृसत्तात्मक शोषणको जालो समेत धुजा धुजा हुने गरि च्याते । जनयुद्धमा देखिएका यि क्रान्तिकारी कदमहरु थिए । कम्युनिष्टहरुले यसैलाई नयाँ संस्कृति, जनसंस्कृतिको नमूनाको रुपमा संस्थागत गरि अगाडी बढाउनु पथ्र्यो । तर जनयुद्धको नयाँ मोडसँगै ति मुल्य, आर्दश र क्रान्तिकारी कदमहरु धरमराएको देखिन्छ ।
अन्तमाः
एमाओवादी पार्टीले अवलम्बन गरेको नयाँ कार्यदिशा साँच्चै नयाँ र चुनौतिपुर्ण छ ।सांस्कृतिक रुपान्तरण बिना नै समाजवादमा पुगिन्छभन्ने सोच्नु कम्युनिष्ट पतनको नयाँ श्रृङखला थप्नु मात्र हुनेछ ।तत्काल ध्यान दिनु पर्ने केही विषयहरुनिम्न बुँदाहरुमा उल्लेख गर्न सकिन्छ ।
१.१९१७मा महान अक्टोवर समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि
पनि पार्टी भित्र घुसेका गलत चिन्तन, बिचारका बिरुद्ध तत्कालिन रुसी कम्युनिष्ट पार्टीले १९३४ मा केन्द्रीय समितिको बैठक नै आयोजना गरेर सांस्कृतिक रुपान्तरणको विषयमा सिङ्गो पार्टीलाई सर्कुलर नै जारी गरे जस्तै नेपालमा पनि यस विषयमा तत्काल पहल लिन आवश्यक छ ।
२. एक जना कम्युनिष्टले के गर्नु हुन्छ ? के गर्नु हँुदैन भन्ने आधारभूत प्रश्नदेखि माक्र्सको ३ गर तिन नगर र माओका ध्यान दिनु पर्ने कुराहरु जस्ता कम्युनिष्ट बन्ने आधारभुत प्रस्थापनामा अव अझै नयाँ विकास गर्नुपर्ने जरुरी देखिन्छ ।
३. पार्टीको केन्द्रीय समिति मै संस्कृतिविदहरुको छुट्टै विज्ञ टिम बनाएर नयाँ कार्यदिशा अनुरुपको नयाँ सांस्कृतिक नीत कस्तो हुने भन्ने बारेमा ब्यापक बिचार बिमर्श गरि छुट्टै प्रस्ताव पास गरिनु पर्छ ।
४. उक्त प्रस्तावलाई देश ब्यापी रुपमा प्रशिक्षण, अन्र्तकृया, गोष्ठी गरि सिङ्गो पार्टी पंतिलाई प्रशिक्षित गरिनु पर्छ ।
५. नेपालमा मनाउदै आएका चार्डपर्वहरुको बारेमा प्रष्ट धारणा बनाई जनवादीकरणको लागि पहल गरिनु पर्दछ ।
५. पार्टी भित्रको सांस्कृतिक सङ्घ संस्थाहरुले साहित्यकला, गीतसंगीत मार्फत सांस्कृतिक रुपान्तरणको अभियानलाई देशब्यापी सञ्चालन गर्नु पर्दछ ।
६. पार्टी भित्र घुसेका गैरसर्वहारा चिन्तन र व्यवहारको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै त्यस्ता गलत प्रवृतिलाई सामाजिक बहिस्कारसम्मको कारवाही पार्टीले गर्नु पर्दछ ।
७. अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखा परेका राजनैतिक वैचारिक कमजोरीको मात्रै समिक्षा गरेर पुग्दैन । सांस्कृतिक रुपान्तरणको अभावमाअसफल क्रान्तिको सांस्कृतिक पक्षको विशेष समिक्षा गरिनु पर्दछ ।
यी यावत सबालहरुमा गम्भिर भएर अगाडी बढ्दा प्रतिक्रान्तिको नेपाली संस्करण रोकिने र नयाँ युगको सुरुवात हुने निश्चित छ । अन्यथा वस्तु बिनासको प्रमुख कारण आन्तरिक नै पहिलो हुने गर्दछ । ०७० असार १० गते जनुक्तिमार्गमा प्रकाशित
0 comments:
Post a Comment