डा. टीकाराम पोखरेल |
आमसञ्चार जगतमा एउटा भनाइ छ- ‘कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने चाहिँ सनसनीपूर्ण समाचार बन्छ ।’ भनाइ प्रष्ट छ हुनपर्ने कुराहरु भए भने समाचार हुँदैनन् नहुनुपर्ने कुराहरु भए भने चाहिँ ती उत्कृष्ट समाचार बन्छन् ।
आजकल पत्रपत्रिकाका पाना हेर्ने हो भने वा रेडियो र टेलिभिजनमा देख्ने सुन्ने हो भने यस्तै कुकुरलाई मान्छेले टोकेको मनसाय भएका नकारात्मक, अप्राकृतिक, अनौठा र सनसनीपूर्ण समाचारहरुले भरिएको हुन्छ ।
आजकल पत्रपत्रिकाका पाना हेर्ने हो भने वा रेडियो र टेलिभिजनमा देख्ने सुन्ने हो भने यस्तै कुकुरलाई मान्छेले टोकेको मनसाय भएका नकारात्मक, अप्राकृतिक, अनौठा र सनसनीपूर्ण समाचारहरुले भरिएको हुन्छ ।
पछिल्लो समय च्याऊ झैँ खुलेका इ–पेपरहरुमा यसका प्रकारका समाचारको अझ बढी जगजगी छ । सत्य हुन् वा नहुन सनसनीपूर्ण समाचार मिडियाको पहिलो प्राथमिकतामा पर्दछ । त्यो समाचारको के महत्व छ भन्दा पनि त्यो समाचारले पाठकलाई कति तान्दछ भन्ने कुरामा मात्र मिडियाहरुको ध्यान केन्द्रित हुँदा आजकल नकारात्मक समाचारले मिडिायहरुका पाना भरिने गरेका छन् ।
पञ्चायत कालमा यदाकदा तत्कालीन पञ्चइतरहरुका सनसनीपूर्ण समाचार छापिन्थे । सत्य कति झुटा कति जनता आफैँ खुट्याउन सक्तैनथे । सत्यबाट गुमराहमा हुन्थे जनता । तथापि ती समाचारले धेरैलाई हैरानी भने पाथ्र्यो । कहिले पञ्चलाई हैरानी कहिले पञ्चइतरलाई हैरानी । दशवर्षे द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका उपल्लो तहका नेताहरुको मृत्यु भएको भन्नेसम्मको समाचार छापिन्थ्यो पत्रिकामा । अनि पत्रिका बोकेर दोहोरो भीडन्तमा फलानोको मृत्यु भन्दै हकर कराउँथ्यो । बजार एकैछिनमा सनसनीपूर्ण बन्थ्यो । पत्रिका किन्नेको मारामार चल्थ्यो । पछि पत्रिका पढ्दा थाहा हुन्थ्यो माथिल्लो तहको नेताको नामसँग ठ्याक्कै नाम मिल्ने कुनै तल्लो तहको कार्यकर्ता भिडन्तमा मारिएको हुन्थ्यो । समाचार सत्य भए पनि समाचारभित्रको मनसाय सत्य हुँदैनथ्यो । असत्य समाचारको खेती । मनसायमाथि कारवाही गर्न सक्ने कुनै कानुन थिएन, छैन । कसले कसलाई कारवाही गर्नु । झुक्याउने मनसायका यस्ता समाचार केही पत्रिकाको दिनचर्या नै बन्थ्यो र अझै पनि बनिरहेको छ ।
किन नकारात्मक कुरा मात्र छापिन्छन् पत्रिकामा ? किन बजारमा गालीगलौज बिक्छ ? आरोपप्रत्यारोप किन मान्छेको दिमागमा छिटो पस्छ ? के राम्रा कुरा छैनन् हामीसँग ? के राम्रा कुरा नभएर नै नकारात्मक कुरा छापिएका हुन् त ? प्रश्न स्वाभाविक छ । प्रश्न यो हुँदाहुँदै पनि नकारात्मक समाचार लेख्ने पढ्ने र प्रचार गर्नेहरुको रिले दौड जारी छ ।
सकारात्मक कुरा हुँदै नभएकाले मात्र नकारात्मक कुरा छापिएको होइन । हामीकहाँ थुप्रै सकारात्मक कुराहरु पनि छन् । खासगरी राजनीतिक चेतनाका दृष्टिले हामी धेरै अगाड छौँ । दश वर्षे द्वन्द्वले गरेको सबैभन्दा देखिने उपलब्धि नै राजनीतिक चेतनाको जागरण हो । छोटो समयमा हामी चेतनाको दृष्टिले धेरै अगाडि पुगेका छौँ । शिक्षामा भएको प्रगति, विज्ञान र प्रविधिमा भएको सर्वसाधारणको पहुँच, अभिव्यक्ति स्वतन्त्रताको उपभोग जस्ता मानव जीवनकै अमूल्य उपहार हामीले उपभोग गर्न पाएका छौँ । जुन कुराहरु हामीभन्दा धेरै विकसित भनेर दाबी गर्ने देशका जनताले समेत निर्वाध रुपमा उपभोग गर्न पाएका छैनन् । तर उपभोग गर्न पाएर पनि यी कुराहरुको उपभोग गर्न पाएको अनुभूति जनतालाई गराउन वा बुझाउनबाट भने हामी चुकेका छौँ ।
यतिबेला आमनेपालीहरु नकारात्मक कुराहरुबाट निर्देशित छन् । नकारात्मक विचार र अभिव्यक्तिलाई आमनागरिकको मन मस्तिष्कबाट हटाउन नेताहरुले नै भूमिका खेल्न पर्ने हो । तर दलका नेताहरु नै नकारात्मक कुराको प्रतिस्पर्धामा उत्रेपछि आमनागरिकको दिमागमा पनि नकारात्मक कुराको छाप लाग्नु स्वाभाविक हो । नेता जनताको र जनता नेताको हुनै सकेनन् । नेताको सरोकार जनतासँग भएन आफ्नो प्रतिस्पर्धी दलसँग मात्र भयो । दलका नेता समाजका अविभाक हुन् । तर जनतालाई नेताले सकरात्मक अभिभावकत्व दिनै सकेनन् । अथवा नेता असल अभिभावक हुनै सकेनन् । अभिभावक नै नकारात्मक प्रतिस्पर्धामा उत्रेपछि परिवारका अन्य सदस्यको दिमागमा सकारात्मक कुरा हुुन नसक्नु स्वाभाविक नै हो ।
राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तन धेरै ठूलो कुरा हो, तर सबै होइन । राजनीतिक परिवर्तनले मात्र देश समृद्धशाली हुँदैन । देशलाई एउटा संमृद्धशाली घर जस्तो बनाउने हो भने आर्थिक परिवर्तन गर्नु आवश्यक छ । राजनीतिक परिवर्तन सम्मृद्धिको जग मात्र हो तर जगबाट घर माथि उठाउने प्रयास भएन । मतलब आर्थिक परिवर्तन भएन । आर्थिक परिवर्तन नभएसम्म आमजनता जो अत्यन्तै दयनीय जीवन बाँचिरहेका छन् तिनीहरुले परिवर्तनको अनुभूति गर्न सकेनन् । राजनीतिक परिवर्तन राजनीतिक प्राणीका लागि मात्र भयो । राजनीति निरपेक्ष जनताले त्यसलाई उपलब्धिको रुपमा लिन सकेनन् ।
संवृद्धशाली घर नबनेपछि जनता नाङ्गै आकाशमुनि बस्नु स्वाभाविक पनि थियो । फलत नांगो आङ्ग र भोको पेटहरुलाई आफू परिवर्तनको मालिक भएको अनुभुति भएन । राजनीतिक परिवर्तन भनेको परिवर्तनको जग मात्र हो । आर्थिक परिवर्तन नभएसम्म भोका नांगा जनताको लागि परिवर्तन नहुने रहेछ तर आर्थिक परिवर्तनको जग भनेको राजनीतिक परिवर्तन हो भन्ने कुरा जनतालाई बुझाउन परिवर्तनकारी दलहरु सफल भएनन् । जनतालाई गौण शक्ति र आफ्ना इतरदलहरुलाई चाहिँ प्रमुख शक्ति ठान्दा दलहरु आरोपप्रत्यारोपमै समय गुजार्न पुगे । फलस्वरुप जनताको आँखामा नेताहरुको नकारात्मक छवि मात्र पर्न गयो । दलहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धा नै नेताहरु जनताबाट टाढिनुको मूल कारण बन्यो । प्रतिस्पर्धाको अस्वस्थ्य रोग बढेर यतिसम्म भयो कि परिवर्तनका लागि काँधमा काँध मिलाएका दलहरु नै एक अर्कालाई चाहिँ परमसत्रु र हिजो परिवर्तनका बाधक भएर बसेका शक्तिहरुलाई चाहिँ मित्र शक्ति ठानेर प्रतिगामी काँधमा काँध मिलाउने प्रतिस्पर्धामा उत्रिए ।
जनआन्दोलन २०४६ को परिवर्तनका सहकर्मी दुई ठूला शक्ति कांग्रेस र एमालेले परिवर्तनको छ महिनासम्म पनि सहकार्य गर्न सकेनन् । एक अर्काप्रति पानी बाराबारमा उत्रिए । बरु उनीहरु पूर्वपञ्चहरुको राप्रपासँग साँठागाँठ गर्न पुगे । आलोपालो दुवै शक्तिले राप्रपासँग कुम जोड्न भ्याए । राजनीतिमा कोही स्थायी सत्रु र स्थायी मित्र हुँदैन भन्दै अप्राकृतिक गठबन्धनको प्रतिस्पर्धामा परिवर्तनकारी दलहरु लागे ।
कांग्रेस एमालेको यो चालाले उनीहरुलाई जनताबाट टाढा पु¥यायो भने कांगे्रस एमालेको अस्वस्थ प्रतिस्पर्धाले रणनीतिक रुपमा राप्रपालाई फाइदा भयो । २०६२÷६३ को जनआन्दोलन–२ पछिको अवस्थामामा आइपुग्दा स्थिति झनै विकराल भयो । राजतन्त्रलाई फाल्न महत्वपूर्ण भूमिका खेल्ने माओवादीको एउटा घटकले राष्ट्रवादीका नाममा राजतन्त्रसँग नै साँठागाँठ गर्ने सम्मका अभिव्यक्ति दियो । ‘सौताको रिसले पोइको काखमा फोहोर गर्ने’ भने झैँ व्यवहार स्वयम् हिजो राजतन्त्रको अन्त्यका लागि भूमिका खेलेको नेकपा–माओवादीले नै ग¥योे । अहिले यसको रणनीतिक फाइदा राप्रपा नेपाल लगायत राजावादीलाई भैरहेको छ । कमल थापा र राजावदीहरु अहिले वैद्य र भट्टराईको अभिव्यक्तिको लगानीमा फोकटमा
ब्याज पाइरहेका छन् । काम यस्ता भएपछि सकारात्मक समाचार कसरी छापिनु ? जस्ता गतिविधि उस्तै समाचार छापिनुु अस्वाभाविक त होइन । तर कारण यतिमात्र होइन । सकारात्मक समाचार नछापिनुका पछाडि अरु पनि केही कारणहरु रहेका छन् । पाठकको स्तर र आमजनताको मनोविज्ञानले पनि यसमा काम गरेको छ । वौद्धिक पाठकले बौद्धिक खुराकको अपेक्षा गर्दछ । गुदी भएका कुराहरु पढ्छ । अनुसन्धानमूलक समाचार तथा लेखमा रुचि राख्दछ । तर हामीकहाँ त्यो स्तरका पाठक सारै कम मात्रामा छन् । त्यसैले जस्ता पाठक उस्तै सामग्री प्रकाशित गर्नु मिडियाको पनि बाध्यता नै छ । भन्ने गरिन्छ( संसारमै अरुको नकारात्मक कुरा गर्ने र त्यसमा रमाउनेको संख्या दक्षिण यसियाली मुलुकहरुका मानिसमा बढी छ । त्यसमा पनि नेपाल र भारतमा त्यो संख्या बढी छ । हामी नेपाली तुलनात्मक रुपमा भारतीयहरु भन्दा पनि नकारात्मक कुराबाट बढी निर्देशित छौँ । त्यसैले हाम्रो यो परम्परागत विशेषणलाई हटाएर हाम्रो संमृद्धिको पनि समाचार दिनु छ, पढ्नु छ । आफ्नो आङ कन्याएर कति धुलो उडाउनु ?
0 comments:
Post a Comment