Monday, September 16, 2013

विश्वराज अधिकारी
सामान्यतया अपाङ्गता भन्नाले शरिरको देखिने कुनै अंग सद्दे अवस्थामा नरहेको अवस्था हो भन्ने हाम्रो वुझाइ छ । सामान्य मानिसले वुझ्ने भाषामा भन्ने हो भने हात खुट्टा वा यस्तै महत्वपूर्ण शारिरीक अँगमा समस्या भएको मानिसलाइ यस्ता मानिसको रुपमा हामी वुझ्ने गर्दछौं । तर अपाङ्गता भनेको अवस्था हो । हामीले मानिसलाइ होइन, समस्यालाइ संवोधन गर्नुपर्दछ । त्यसकारण आजकल अपाङ्ग मानिस भन्नुको सट्टा अपाङ्गता भएको व्यक्ति भनि संवोधन गरिनुपर्दछ भन्ने मान्यता विकसित भएको छ । अपाङ्गतालाइ कुनै व्यक्ति विशेषसंग जोडिनुहुन्न यो जोकोही माथि पनि हुन सक्छ , हामी व्यक्ति केन्द्रीत होइन ,समस्या केन्द्रीत हुनुपर्छ ।
अपाङ्गतालाइ फरक क्षमता भनेर पनि परिभाषित गर्न खोजियो त्यसले झन समस्या ल्यायो । 

सामान्य व्यक्ति सरह काम गर्न असमर्थ व्यक्ति भएको कारणले राज्यले विशेष ध्यान दिनुपर्ने व्यक्तिलाइ फरक क्षमताको पगरी गुथाएर कुनै अर्थ हुन्न । समस्या भएको कुरा लुकाएर कसैलाइ फाइदा हुन्न , त्यसकारण फरक क्षमता भनेर समस्यालाइ लुकाएर आत्मरतीमा रमाउनु अपाङ्गता भएका व्यक्तिलाइ रुचिकर हुन सकेन ।
अपाङ्गता भन्नाले सामान्य मानिस सरह कार्य गर्न वाधा वा अडचन भएको व्यक्ति संझनुपर्दछ । अरु सरह पूर्ण सहभागी हुन यस्ता व्यक्ति वंचित हुन्छन । शारिरीक मात्र होइन, मानसिक ,वौद्धिक  वा इन्द्रिय सम्वन्धी दिर्घकालीन अशक्तताद्धारा सृजित अवरोध नै अपाङ्गता हो । अशक्तता दिर्घकालीन हुनुपर्छ, अल्पकालीन होइन । अशत्तताले अरु सरह सहभागी हुन वाधा खडा गर्छ । त्यही कारणले अपाङ्गता भएको व्यक्ति अवसरवाट वंचित हुन्छ । “अपाङ्गता भएका व्यक्ति भन्नाले शारिरीक, मानसिक , वौद्धिक वा इन्द्रिय सम्वन्धी दिर्घकालीन अशक्तताद्धारा सृजित विभिन्न अवरोधहरुसंगको अन्तरक्रियाको कारणले समाजका अन्य व्यक्तिहरु सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन वाधा भएको व्यक्ति समेतलाइ जनाउनेछ ।” (सिआरपीडी महासन्धी,२००६ को धारा १) यस परिभाषा अनुसार अपाङ्गता भित्र देहायका अवस्थाहरु समावेश हुन्छन
– दिर्घकालीन अशक्तता भएको अवस्था (अस्थाहि अशक्तता विरामी ,घाइते वा अन्य अवस्थामा जो पनि हुनसक्छ)
–अशक्तताले अवरोध सृजना गर्ने अवस्था
– अवरोधले समान्य व्यक्ति सरह सहभागी हुन वाधा पु¥याउने अवस्था
नेपाल कानून अनुसार “शरीरका अँगहरु र शारिरीक प्रणालीमा भएको समस्याको कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै सञ्चारसमेतवाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालन गर्न एवँ सामाजिक जिवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाइ अपाङ्गता भनिन्छ ।”
समस्या एवँ कठिनाइको प्रकृति अनुसार नेपाल कानूनले अपाङ्गतालाइ ७ प्रकारमा वर्गिकरण गरेको छ, 
१.शारीरीक  अपाङ्गता, शारिरीक रुपमा देखिने समस्याहरु जस्तो वाल पक्षघात, मष्तिष्क पक्षघात, माँसपेशि विचलन, जोर्नी र मेरुदण्ड सम्वन्धी स्थायी समस्या, होचापुडका आदि ।
२.दृष्टि सम्वन्धी अपाङ्गता, आँखाको देख्ने शक्तिमा समस्या भएकाको २ अवस्था हून्छ,
क.दृष्टि विहीनता, पुरै नदेख्ने ,  उपचारवाट पनि १० फिटको दुरीवाट हातको औला छुट्टयाउन नसक्ने , स्नेलेन चार्टको पहिलो लाइनको अक्षर ३÷६० पढन नसक्ने
ख) न्यून दृष्टियुक्त
थोरै देख्ने 
 उपचारवाट पनि २० फिटको दुरीमा औला छुट्टयाउन नसक्ने, चार्टको चौथो लाइनको अक्षर ६÷१८ पढन नसक्ने ।
३) सुनाइ सम्वन्धी अपाङगता 
कानको सुन्ने शक्तिमा समस्या भएका
क) वहिरा
पुरै नसुन्ने -  नसुन्ने ,अस्पष्ट वोल्ने वा वोल्न नसक्ने र सञ्चारका लागि साँकेतिक भाषा प्रयोग गर्नुपर्ने, ८० डिसेवल ध्वनी पनि सुन्न नसक्ने
ख) सुस्त श्रवण , थोरै सुन्ने
 कम सुन्ने तर सफासंग वोल्न सक्ने,सुन्नलाइ कानमा   श्रवणयन्त्र राख्नुपर्ने । ६५ डेसिवल देखि ८० डेसिवल सम्म ध्वनी सुन्न सक्ने  
४) श्रवण दृष्टिविहीन
आँखा पनि नदेख्ने ,कान पनि नसुन्ने दुवै समस्या भएका
५)  स्वर वोलाइ सम्वन्धी अपाङ्गता 
वोल्दा स्वरको उतारचढावमा कठिनाइ , वोली प्रष्ट नहुने, वोल्दा शव्द वा अक्षर दोहोरिने अर्थात भकभके वोली भएका
६)  मानसिक अपाङ्गता ः
क)  वौद्धिक अपाङ्गता -सुस्तमनस्थिति 
स्मरण शक्ति नभएका ,सिक्न कठिनाइ हुने , उमेर र वातावरण अनुसारको क्रियाकलाप गर्न नसक्ने तथा  वुद्धिको विकास नभएको अवस्था
ख)  मानसिक अस्वस्थता
मानसिक अस्वस्थता वा कमीकमजोरी (पागलपन)
ग)  अटिज्म 
अस्वभाविक प्रतिक्रिया, एकै क्रिया दोहो¥याउनु
७) वहु अपाङ्गता -
माथि उल्लेखित दुइ वा दुइ भन्दा वढि प्रकारको अपाङ्गता भएको अवस्था-
नेपाल सरकारले सुस्तमनस्थिति भएका तथा पूर्ण अशक्तता भएका अपाङ्गताका व्यक्तिको समस्याको संवेदनशीलता महशुस गरी उनीहरु आफु स्वयँ सहभागी हुने तथा प्रतिनिधित्व गर्न नसक्ने हुनाले तिनीहरुको हकमा सहभागिता, सुविधा तथा प्रतिनिधित्व समेतका लागि आमा वावु वा प्रत्यक्ष रुपमा पालनपोषणमा संलग्न व्यक्तिलाइ अभिभावक वा सरोकारवाला मानिनेछ भन्ने व्यवस्था गरि उनीहरुको हकमा अभिभावकको अधिकारलाइ सुनिश्चितता गरेको छ ।
(लेखकः अधिकारी वौद्धिक अपाङ्गता अभिभावक संघ, धादिङको अध्यक्ष  हुनुहुन्छ )

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts