अन्नपूण पोष्ट डटकम बाट साभार
काठमाडौं : एमाओवादी नेता बाबुराम
भट्टराईको सानेपास्थित निवासमा गत मंगलबार उनीनिकट नेताहरूको गोप्य बैठक
बसिरहेको थियो। पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक
सभासद्को सूचीप्रति असन्तुष्ट नेता भट्टराई, टोपबहादुर रायमाझी, हिसिला
यमी, देवेन्द्र पौडेल, प्रभु साहलगायत अध्यक्ष पुष्पकमल दाहालविरुद्ध
प्रतिवादको रणनीतिबारे त्यहाँ छलफल गरिरहेका थिए।
निर्वाचन आयोगमा अर्को सूची बुझाउन साहले पटक-पटक भट्टराईलाई दबाब
दिइरहेका थिए। रौतहटबाट आफू प्रत्यक्षमा निर्वाचित भए पनि अशोक जैसवाललाई
समानुपातिक सूचीमा सभासद्का लागि सिफारिस गरेको भन्दै साह रिसले चुर भएको
बैठकमा सबैले बुझेका थिए। साह र जैसवालबीच सम्बन्ध चिसो छ।
आयोगमा सूची बुझाउनुपर्ने साहको भनाइलाई नेता रायमाझीले पनि साथ
दिइरहेका थिए। रायमाझी, साहलगायतका अधिकांशले बेग्लै सूची लिएर आयोग जान
भट्टराईलाई मनाइसकेका थिए।
बेग्लै सूची बनाउन दाहालसँग असन्तुष्ट अर्का नेता नारायणकाजी श्रेष्ठ
पक्षका नेताहरूको संख्या गन्दै ४० प्रतिशतको हिसाब भइरहेको थियो। त्यतिकैमा
पौडेलले भने, 'निर्वाचन आयोगमा अलग्गै सूची लैजाँदा पार्टी फुटिहाल्यो नि।
हामीले पार्टी फुटाउनै खोजेका हौं? अहिले फुटाउनु हुँदैन।' उक्त भनाइलाई
रायमाझी र साहले प्रतिवाद गरेका थिए।
त्यतिबेलै भट्टराई निकट अर्का नेता राम कार्कीको फोन आयो। टेलिफोनबाटै
कार्कीले अलग्गै सूची लैजान आफू सहमत नभएको जनाउँदै अध्यक्ष दाहालसँग कडा
रूपमा छलफल गर्न सुझाव दिए। पौडेल र कार्कीको यस्तो धारणा सुनेपछि भट्टराई
हच्किए। त्यसपछि बैठकमा दाहाललाई चेतावनी दिने र अर्का असन्तुष्ट नेता
श्रेष्ठसँग छलफल गरेरमात्र अगाडि बढ्ने निष्कर्ष निकालियो।
'केही साथी सनकमा आएर आयोगमा जाऊँ भन्थे। आयोगमा गएपछि त पार्टी
फुटिहाल्थ्यो नि', पौडेलले अन्नपूर्णसँग भने, 'हामी सबैतिरबाट घेराबन्दीमा
छौं। फुटेपछि हामीले कसैको पनि समर्थन पाउँदैनौं, सिध्दिन्छौं, हामी फुटका
पक्षमा छैनौं।'
विगत २५ वर्षदेखि दाहाल र भट्टराईबीचको अन्तरविरोध अध्ययन गर्दै आएका
कार्कीले भने, 'पार्टी हारेर कमजोर भएका बेला आपसमा झगडा गर्ने होइन।
दुवैतर्फबाट उक्साउने गरी वक्तव्यबाजी गर्ने थिए, मैले तपाईंहरू बसेर छलफल
गर्नुस् भनेर सबैसँग फोनमा कुरा गरेको हुँ।' निर्वाचनअघि ओखलढुंगामा गाडी
दुर्घटना हुँदा घाइते भएका कार्की आराम गरिरहेका छन्।
भट्टराई निवासमा बैठक भएकै दिन कोटेश्वरस्थित लीलामणि पोखरेलको निवासमा
श्रेष्ठ समूहको बैठक बसिरहेको थियो। त्यहाँ श्रेष्ठलगायत लीलामणि,
गिरिराजमणि पोखरेल, विश्वभक्त दुलाल, विश्वनाथ साह, डीआर पौडेल, राजु
खड्कालगायत सहभागी थिए। नेताहरू मकैभटमास र मूलाको अचार खाँदै दाहालका
कमजोरी केलाउँदै श्रेष्ठका पनि गल्ती औंल्याइरहेका थिए।
श्रेष्ठ भट्टराईसँग मिलेर दाहाललाई ठूलै 'सबक' सिकाउने कोसिसमा थिए।
रणनीति तयार हुँदै थियो। तर अधिकांश सहभागीले अध्यक्ष दाहालले बोलाएको
केन्द्रीय कार्यालयको बैठकमा गएर आफ्नो धारणा नराखेको भन्दै श्रेष्ठको
आलोचना गरेका थिए। लीलामाणि र दुलालले भट्टराईसँग सहकार्य गरेर अगाडि बढ्नु
घातक हुने धारणा राखे। यी दुई नेताको भनाइमा श्रेष्ठबाहेक सबैको समर्थन
देखियो।
त्यसपछि भट्टराईसँग मिलेर ४० प्रतिशतको हस्ताक्षरसहित आयोगमा सूची लैजान
श्रेष्ठ पनि हच्किए। श्रेष्ठ किन आएका थिए भन्ने जिज्ञासामा लीलामणिले
भने, 'मेरो घरमा भट्टराईबाहेक सबै नेता चिया पिउन आउँछन्।'
भट्टराई र श्रेष्ठले आआफ्ना पक्षको गोप्य बैठक गरेकै दिन साँझ दाहाल
निवास लाजिम्पाटमा पनि अर्को बैठक चलिरहेको थियो। बैठकमा दाहाल,
पोस्टबहादुर बोगटी, वर्षमान पुन, अग्नि सापकोटा, हितराज पाण्डे, हरिबोल
गजुरेललगायत सहभागी थिए। बैठकमा दाहाल अब के गर्ने भन्दै थिए। नरम कुरा
कसैले गरेनन्। बोगटीबाहेक सबैजसो उकास्नेमै थिए। सबैलै एकै स्वरमा सूची
कुनै हालतमा हेरफेर गर्न नहुनेमा दाहाललाई उक्साए।
उकास्ने नेताहरूले दुई वर्षअघि भट्टराई र श्रेष्ठको मोहन वैद्यसँग
धोबीघाटमा भएको गठबन्धन स्मरण गराउँदै पार्टी फुटे पनि सूची नसच्याउन
दाहाललाई तयार पारे। 'दक्षिणपन्थीहरूको उक्साहटमा पार्टी फुटाउन
बाबुरामहरूले ४० प्रतिशत सभासद् मागेका हुन्। जानीजानी पार्टी फुटाउने
संख्या पुर्याइदिन हामी तयार हुनु हुन्न। बोल्ड निर्णय गरेर जानुपर्छ',
बैठकमा दाहाललाई सूची नसच्याउन उकास्ने नेताहरूको भनाइ उद्धृत गर्दै एक
नेताले भने।
उनीहरूले धोबीघाटस्थित कृष्णबहादुर महराको निवासमा समानुपातिक सूचीमाथि
अघिल्लो दिन छलफल गर्दा टोपबहादुर र गिरिराजमणिले मागेको सभासद्को संख्या
४० प्रतिशत पुग्ने तथ्यांक पेस गर्दै तर्क पुष्टि गरिरहेका थिए।
त्यसपछि दाहाल पक्षको सूची कुनै हालतमा परिवर्तन नगर्ने निष्कर्ष
निस्कियो। यस्तो निष्कर्ष आउन लाग्दैछ भन्ने थाहा पाएपछि भट्टराई र श्रेष्ठ
दुवै समूहको संयुक्त बैठक हरिसिद्धिमा बस्यो। त्यो बैठकले सूची आयोगमा
नबुझाउने तर दाहालविरुद्ध विरोध दर्ता गरेर उनको 'मनपरीतन्त्र' को भण्डाफोर
गर्ने नीति पारित गर्यो।
यस्तो निष्कर्ष निकालिएको दुई दिनपछि भट्टराईले आफ्नै निवासमा पत्रकार
सम्मलेन गरी भनेका थिए, 'पार्टी फुटाउनु अपराध हुन्छ।' यी सबै गतिविधिपछि
दाहालनिकट नेता वर्षमानले शुक्रबार अन्नपूर्णसँग भने, 'जे होस् अहिलेलाई
पार्टी फुट्नबाट जोगियो।'
0 comments:
Post a Comment