Monday, March 24, 2014

राजु स्याङतान
........त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरु मडारिरहेको थियो । दुई बच्चाहरुलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर–पर हेर्दै आफैसँग हराउन थालीन् । गाडीको बेगसँग सरोकार थिएनउनलाई । रोसीखोलाको नागबेलीसँग पनि कुनै मतलव थिएन उनलाई । वेगिरहेको गाडीलाई उछिन्दै एक हुल पंछीहरु तिमाल डाँडा तिर सोझियो ।
उनका आँखाहरुले लोहोरी खेल्दै उडिरहेको पंछीको हुललाई निकै पर सम्म पछ्यायो । परदेशिदै गरेका जस्ता देखिने युवाहरु बाराम्बार गाडीको बेगले छोडी आएका पदचापहरु  फर्किफर्की हेर्थे । तर उनि वेपर्वाह तिमाल डाँडा तिर उडिरहेको पंछीको हुललाई हेरि रहन्थीइन् ।
गाडीले आफ्नो गन्तब्य (काठमाण्डौं) भेटाउन थालिसकेको थियो । म चाँही हिजो मात्रै काठमाण्डुबाट रामेछाप जाँदै गर्दाको यात्रा सम्झन पुगेछु । अघिल्लो दिन हामी केही साहित्यकार, पत्रकार साथीहरु काठमाण्डुको ब्यस्त जीवनको भारि बिसाउने र साहित्यको विषय खोज्न भनेर रामेछापको बेथानका लागि निस्किएका थियौं । स्वास्थ्यले साथ नदिए पनि साथीहरुसँग जाने बाचा गरेको थिएँ मैले । यात्रामा सहभागी थियौं स्तम्भकार दिलरत्न मानन्धर, पत्रकार तथा समिक्षक जि.यम. शर्मा, त्यसै गरि क्यामेरा पर्सन तथा युवा कवि थिए मंजिल शाह र एउटा म भएँ, टुटेफुटेको कविता लेखि टोपल्ने कल्पित यात्री ।
काभ्रे रोशी खोलाको तिरैतिर, तिमाल डाँडाको मनोरम श्रृङखलाहरु छिचोल्दै नार्के, मंगलटार, नेपालथोक हुँदै लुभुघाटमा पुगेर हाम्रो पहिलो दिनको याात्रा टुङ्गियो । त्यहाँपुग्दा साँझको ९ बजिसकेको थियो । हामी सबै जना थाकेका थियौं । लुभुघाटमा खाना बस्नका लागि राम्रो बन्दोबस्त रहेनछ । काठमाण्डुको धुलो टकटक्याउँदै थियौं । एक्कासी बाटो भन्दा माथिल्लो पट्टी जोड जोडले चिच्याएको आवाज काममा ठोकिन आई पुग्यो । बच्चाहरु चिल्लिविल्ली गर्दै रोएको सुनियो । एउटा पुरुष आवाज लुभुघाट थर्किने गरि गर्जिन थाल्यो । “राँडी, खै भात ? तेरो काम भात पकाउँने होईन ? मैले रक्सी खाएँ त मेरो बाउको सम्पति खाएँ । तास खेलें त मेरो बाउँको सम्पति खेलें । तेरो बाउको केही नास् भो ? भन् ए राँडी भन् ।”हलो जोत्दा सुतेको गोरुलाई चुटेको जस्तै आवाज आयो । जोड जोडले रोइरहेको नारी आवाज बन्द भयो । बच्चाहरु आमा ‘आमा’ भन्दै रुन कराउँन थाले । केहीबेर पछि नारी आवाज सुनिन थाल्यो । रुवाइ मिसिएको नारी आवाजमा साहराको खोजि सुनिन्थ्यो । “किन संसारमा जन्म दियौ आमामलाई ? रात दिन यस्तो अन्याय अत्याचार सहेर बस्नु भन्दा त बरु शहरमा गइ बेश्या बनेर बस्छु” । नारी आवाज झन जोड जोडले सुनिन थाल्यो । लुभुघाट भने मस्त निदाईरहेको थियो । के रे ? जा अहिले नै जा ? मेरो घरमा एक छिन नबस् ।” फेरि सुरु भयो कुटाई । नारी आवाज चित्कारमा परिणत भयो। उनि भन्दै थिइ “गुहार गुहार, मलाई मा¥यो मा¥यो, मलाई बजाउ” । हामी ज¥याक जुरुक उठेर झुपडिको नजिकै गयौं । आगनमा दुइवटा बच्चाहरु रोइरहेकाथिए । एक जना कुनै निर्जिव बस्तुलाई कुटे झैं एकोहोरो कुटिरहेको थियो । आगनमा लडिरहेको मान्छे उठ्न खोज्थ्यो । पिट्नेले एकसूरले पिट्थ्यो । हामी के गरौं गरौं भयौं ।पिटीरहेको मान्छे लौरो फालेर घर भित्र पस्यो । लडिरहेको मान्छे उठेर भाग्न खोज्दै थियो । भित्र गएको मान्छेले अध्यारोमा टिलिक्क टल्किने कुनै हतियार लिएर आयो रलर्खराउदै उठ्न खोजेको मान्छे तिर झम्टेर गयो । उ उठेर भाग्न खोज्दै थियो । त्यति नै बेला हामीले छापामार शैलीमा उसलाई च्याप्पै समायौं। उ आत्तियो, डरायो । भाग्न खोज्यो । “के गर्न लाग्नु भएको यो ? तपाईलाई कारवाही हुन्छ अब” । उ झन आत्तियो । कसो कसो उ हाम्रो हातबाट फुत्किएर अध्यारोमा विलायो । “यो अलाच्छिनी आए देखि घरमा सुःख छैन । परारसाल ससुरा खाई । पोरसाल दुहुना भैंसी खाई । अव यसपाली पोइ खान्छे यसले” । घरभित्रबाट एउटा कर्कस् बृद्धा आवाज खोकी मिसिएर आयो । आगनमा लडिरहेको महिलाले कसिलो गरि बच्चा  बच्चिलाई काखीमा च्यापिन् । अनि धरधरी रोईन् । हामी चार जना अकमक्क भयौं । “तपाईहरुलाई धेरै धेरै धन्यवाद छ, मेरो ज्यान बचाइदिनु भएकोमा।तर तपाईहरु को हो ? हामीले हाम्रो परिचय दियौं ।उनलेहामीलाई दलानमा बस्न गुन्द्री ओछ्याइ दिइन् । हाम्रो अगाडी बिकल्प थोरै थिए । हामीले रात त्यही बस्ने निधो ग¥यौं । महिलाले हुन्न भनिनन् ।
हामी घर भित्र पस्यौं । अध्यारो गुफा जस्तो घर । धुवाको मुस्लोले घर पुरै छोपिएको । कुनामा बुढीआमा सुतिरहेकी थिइन् । घरमा को आयो ? को गयो ? केही मतलव थिएन उनलाई । महिलाले हाम्रा लागि खाने कुराको जोहो गर्न लागिन् । “चार बर्ष अगाडी बिहे गरेर भित्रिएँ यस घरमा, यी दुईवटा छोरीहरु छन्, श्रीमान भनाउँदा जहिल्यै तास खेल्छ । थाल बटुका समेत बेचेर रक्सी खान्छ । बेलुकी आएर नकुटेको दिन छैन । लोग्ने भनाउदाले कुटेरै एक बर्ष अगाडी देब्रे हात भाँचियो । छाति सारै दुख्छ ।के गर्नु भाइ आफ्नो त भाग्य नै खोटो रहेछ” । उनि पिलपिल आँशु झार्दै ब्यथा पोख्न थालिन् । हामी शहरिया बटुवालाई बास दिने महिलाको बिलौना सारै नरमाइलो लाग्न थाल्योे । “भाइ शहरमा केही जागिर पाइन्छ होला नि है ? उनले पटक पटक बिना प्रसंग यही कुरा दोहो¥याइ रहिन् । “अनि दिदी तपाई हेर्दा पढे लेखेकै जस्ती देखिनु हुन्छ, किन बिहे गर्नु भा यस्तो घरमा ? दिलरत्न मानन्धरले जिज्ञासा राखे । “छ भाइ जिवनको छुट्टै कथा” । उनले अरु कुरा गर्न चाहिनन् । हामीले दुःख सुःख खाना खायौं । कोही टुकी बालेर यात्रासंस्मरण लेख्न थाले । कोही कथा तयार गर्छु भन्दै महिलालाई नानाथरि प्रश्नहरु सोध्न थाले । उनिप्रश्नकर्ता प्रति खासै ध्यान नदिई आफ्नो छोरीहरुलाई सुम्मुम्याउँदै आँशु झार्थिन् । साथीहरु चाँही कोही फोटो खिच्थे, कोही चाँही एकसुरले घोप्टो परेर लेखिरहेको थियो । मलाई भने दिउँसैबाट अलि सञ्चो नहोला जस्तो भइरहेको थियो । सब कुरा हेर्दा हेर्दै निदाएछु ।
बिहान झल्याँस्स ब्यूँझँदा कवि साथीहरु ठाउँको ठाउँ मै घुर्दैरहेछन् । बच्चाहरुको नाकमा झिंगाहरु तछाड मछाड गरिरहेको रहेछ । कुनामा बुढीआमा गनगन गर्दै थिईन् । महिला घर धन्दामा लागिसकेकी थिईन् । मेरो स्वास्थ निकै नै नाजुक भएको महसुस गरें । म सुतेको ठाउँबाट उठेर भित्तामा अडेस् लाएर बसें । अगाडीको मुल खाँबोमा एउटा सानो फ्रेममा फोटो देखें । नियालेर हेरें । त्यो फ्रेम भित्र एउटी कम्ब्याड लगाएकी महिला छापामारको फोटो रहेछ । नजिकै गएर हेरें । त्यो फोटो तिनै महिलाको रहेछ । कालो ध्वाँसोले निलेको फोटोमा उनि यस.यल.आर. बोकेर मुस्कुराइरहेकी थिईन् । कम्बरमा ग्रिनेट थियो । कुम देखि छाति हुँदै कम्बरसम्म गोलीको माला कुनै तिलहरि जडित पोते लहरिए जस्तै देखिन्थ्यो । चिटिक्क मिलेको जिउडाल, मुस्कुराईरहेको चम्किलो अनुहार, शिरमा सिन्दुरको डोभ छोपिने गरिबाँधिएको रातो तारा। आहा ! कस्तो राम्रो सुहाएका” मुहारमा न कुनै बन्धनको धाजाहरु, न कुनै पिडाको संकेत नै । म त हेरेको हेरै भएछु । “भाई के हेर्नु भा ? खै दिनुस् त” । उनले फोटो निकालेर पुछि अनि कागजले बेरिन् । ुदिदी तपाई छापामार ? मेरो स्वर आश्चर्य मिसिएर अस्वभाविक ठुलो भयो । साथीहरु ज¥याक जुरुक उठे  । “मेरो जीवनको छुट्टै कथा यही हो भाई ।” समयले कस्तो खेल खेल्दो रहेछ मान्छेको जीन्दगीमा । किन चुँडिएन पोतेको बन्धन ?किन फेरिएन एउटी छापामारको जिन्दगी ? साथीहरुले कुराको मेसो पाएछन् क्यार । कुनै ठुलो नेतालाई घेरे झैं उनलाई वरिपरि घेरेर बर्साउन थाले अनगिन्ति निर्उत्तरित प्रश्नहरु । “तपाई कसरी यहाँ आइपुग्नु भयो ? तपाईले ५ लाख पाउँनु भएन ? छापामार बन्दा र आजको दिनमा के फरक पाउँनु भएको छ ? तपाईले कतिवटा लडाई लड्नु भयो ? के तपाईको जीवनमा गणतन्त्रले केही प्रभाव पारेन ? उनि चुपचाप आफ्नो घरधन्दामा लागिरहिन् । साथीहरु फेरि कपि, क्यामेरा, रेर्कडर निकालेर पत्रकारिताको कर्मकाण्डीय चरित्र निभाउन थाले । उनको मुहार भावसुन्य थियो । प्रश्नहरुमा कुनै दिलचस्बी थिएन । मलाई भने सञ्चो नहोला जस्तो भयो । डक्टरको सल्लाह सम्झें । म भित्रभित्रै काठमाण्डौं फर्कने मनसायमा पुगिसकेको थिएँ ।
साथीहरु भन्दै थिए “साहित्यको विषय नै फुरेको छैन, कोही विरामी हुने, कोहीलाई गर्लफ्रेण्डको यादले सताउने, बेकार आईएछ” । साथीहरुले तितो पोखे । साथीहरुसँग सहयात्रा बिचमै टुटाउनु परेकोमा माफी माग्दैझोला बोकेर आगनमा निस्किएँ । क्यामेरा म्यान साथीले सिंगानको टाटाहरु बोकेका दुई बच्चाहरुको फोटो यङगल मिलाई मिलाई खिच्न थाले । “भोली पत्रिकामा आउँछ है तिमीहरुको फोटो” । बच्चाहरुलाई चुइङगम हातमा दिदै भने ।बास दिने महिलासँग बिदा माग्न उनलाई बोलाउँन थाल्यौं । कतै पनि देखिएन । यता उति हे¥यौं तर कतै पनि भेटिएन ।
अन्तमाउनि घर भित्रबाट बाहिर निस्किन् ।   हामीछक्क प¥यौं । उनि पेन्टर रातो टिसर्ट लगाएर, दुइ बालबच्चा र झोलामा लुगाफाटो बोकेर हाम्रो अगाडी ठिङ्ग उभिन आइपुगिन् । “भाइहरु शहरमा म जस्तालाई केही काम त पाइन्छ होला नि है, यो नर्क जस्तो जीवन भन्दा त बरु शहरमा भाँडा माझेरभए पनि दुई बालबच्चा हुर्काउँछु” । साथीहरु मुखामुख हेर्न थाले । के बोलुँ बोलुँ भयौं । आगनको डिलबाट उनि अघि लागिन् ।म पछि पछि लागें । साथीहरु हामीलाई हेर्दै हाँस्दै हाँस्दै बेथानतिर सोझिए ।
हामी सुनकोशी वारी नेपालथोक आएर गाडी चढ्यौं ।स्वास्थको कारणले उनिसँग खासै धेरै बोल्न सकिन । उनि गाडीको झ्यालबाट पर पर हेर्न थालि । पटक पटक झोलाबाट फोटो निकालेर सुम्सुम्याउँथिन् । “आमा हामी कहाँ जाने ? बच्चाहरुले धेरै पटक यो प्रश्न सोधिसकेको थियो । “जागिर खान जाने छोरी, यही उत्तर हुन्थ्यो उनको । “आमा, जागिर कस्तो हुन्छ ? मलाई धेरै दिनु ल ? छोरीको प्रश्न नियाउरो गरि सुन्थिन् अनिफेरि पर पर तिमाल डाँडा भन्दा पनि पर उडिरहेको चराहरुलाई हेर्थिन् । दुई छोरीहरुको टाउकोमा सुम्सुम्याउँदै पिलपिल पिलपिल आँशु झार्थिन् । “भाइ म जस्तोलाई काम त पाईन्छ नि है ? आँशु पुछ्दै प्रश्न गर्थिन् । “पाइन्छ नि दिदी किन नपाउँनु” । म उत्तर दिन्थें । “नपाए भिख मागेरभए पनि यी दुई लालाबाला हुर्काउछु पढाउँछु” । छापामार बनाउछु भाई म यिनिहरुलाई, मैले तोडेको बन्धन अपुरो भएछ ।” उनि दारा किट्दै मुठ्ठी  कस्थिन् अनि फेरि झ्यालबाट पर पर हेर्थिन् । हामी धुलिखेल नजिकै आइपुथ्यौं । सोचें यो बेसहारा महिला दुई बालबच्चा बोकेर कहाँ जान्छे अव । तावाको माछा भुङ्ग्रोमा भने जस्तै हुने त होइन ? हामी बनेपा कटेर काठमाण्डु तिर सोझियौं । गाडी जति जति नजिक आउँथ्यो । मलाई उति उति धेरै पोल्थ्यो । यो काठमाण्डु, मानवता हराएको काठमाण्डु, गरिवको आँशुमा चिप्लेटी खेल्न सिपालु काठमाण्डुमा आज फेरि एउटा बेसाहारा जिन्दगी थपिदैछ । फेरि सम्झें, उनले तोडी आएको बन्धन, उनले चुँडाली आएको एक लुङ् पोतेको साङ्ला भन्दात कयौं गुना प्रगतिशील छ उनले रोजेको बाटो । हामी भक्तपुर आइपुग्यौं । उनि अलि पर नगरकोटको काख नै काख भएर उडिरहेको पंछीको  हुल गहिरो गरि हेरिरहेकी थिइन् । अन्तमा आँट बटुलेरभनें । “दिदी तपाई अप्ठेरो मान्नु हुन्न भने एउटा कुरा भन्छु । म अलि पर चावहिलमा आमा र श्रीमती सँगै बस्छु । तपाई, म सँगैकेही समय बस्नु । तपाईको लागि म पनि काम खोजीदिन्छु । काम भेटे पछि जानु, हुन्न ? मेरो कुरा नसकिदै उसले भनिन् “भाई, तपाईलाई धन्यवाद छ, यतिका सहयोग गर्नु भयो । अव म कसैको साहरा बिना नै उठ्न चाहान्छु” । आजबाट मैले सुरु गरें नयाँ अभियान, जुन रोकिने छैन कुनै आँधी हुरीमा पनि । ”मैले पछिल्लो कुराको भेउ पाइन । गाडी कोटेश्वरमा आएर रोकियो । सडकमा साँझको बाग्लै बत्तिहरु बलेको थियो । “लौ त भाई कुनै दिन समयले भेट गराए फेरि भेटौंला . . ।” म त भावुक भइसकेछु । केही पनि बोल्न सकिन । उनी आफ्नो दुइ लालाबाला बोकेर गाडीबाट ओर्लिन् । क्षण भर मै उनि काठमाण्डुको भिडमा हराईन् । भारि मन र बिसञ्चो शरिर लिएर कोठामा आईपुगें । त्यसपछि बिरामीले तिन दिनसम्म सुतेको सुत्यै भएछु । तिन दिन पछिको विहान, जिवनसाथी अनिरा तलबाट नै चिच्याउँदै आई र एउटा दैनिक पत्रिका देखाउँदै भनि यो सब के हो? पत्रिका हेरें । ठुलो झड्का लाग्यो ।ओछ्यानबाट जुरुक्कै उठें । पत्रिकाको भित्री पेचमा ठुलो अक्षरले लेखिएको रहेछ “बिवाहिता, पुर्व छापामारलाई लिएर, कवि कल्पित यात्री फरार” । ०७० चैत्र १० गते जनमुक्तिमार्ग मा प्रकाशित

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts