Monday, March 24, 2014

केशरीप्रसाद पन्त
विकासको मूल आधार नै शिक्षा हो । शिक्षा विना सभ्य र समृद्ध समाज निर्माण हुन सक्दैन । शिक्षाको उज्यालो ज्वोतीले नै मानिस ज्ञान, विज्ञान र सिप हाँसिल गर्न सक्षम बन्छ ।  आजका बालबालिकाहरु शिक्षाको ज्वोतीबाट नै भविष्यको योग्य र राष्ट्रका कर्णधार बन्न सफल हुन्छन् । तसर्थ नेपालको अब बन्ने नयाँ संविधानमा उच्च शिक्षा सम्म पढ्न चाहने विद्यार्थीहरुका लागि लाग्ने खर्चको व्यवस्था सरकारले गर्नुपर्छ र दक्ष जनशक्ति उत्पादन पश्चात रोजगारीको सुनिश्चितता हुने कुरा समावेश गरिनुपर्छ, तब मात्र युवा शक्तिलाई विदेश पलायनबाट रोक्न सकिन्छ र सक्षम राष्ट्र निर्माणमा टेवा पुग्नेछ । त्यसैले बाल(बालीकाहरुका लागि लिइने एस.एल.सी परीक्षा पनि सहज र सरल ढंगबाट लिइनुपर्छ ।
किनभने अभिभावकहरुको ठूलो लगानी, विद्यार्थीहरुको मेहनत र शिक्षकहरुको विशेष योगदानलाई पनि व्यवस्थापकहरुले बुझ्नु पर्ने हुन्छ । फलामे ढोकाको रुपमा रहेको एस.एल.सी (प्रवेशीका) परीक्षा विद्यालय स्तरको मापन गर्ने कसी हो ।
अघिको तीतो पछिको मीठो भन्ने कुरा एस.एल.सी परीक्षाको नतिजाले वोध गराउंछ । २०७० सालको एस.एल.सी परीक्षा यहि चैत्र ६ गतेबाट शुरु भएको छ । जुन परीक्षामा अधिराज्य भरिबाट नियमित तर्फबाट ४,१९,३५२ र एकजाम्टेड तर्फबाट १,४६,७३३ गरी जम्मा ५,६६,०८५ परीक्षार्थीहरु आफ्नो भविष्यको नतिजा कोर्दै छन् । यसै भित्र हाम्रो जिल्ला धादिङबाट नियमित तर्फ छात्र २,५६३ छात्रा २,९७९ गरी जम्मा ५,५१५ र एक्जाम्टेड तर्फ छात्र ४१७ र छात्रा ८४६ गरी जम्मा १,२६३ गरी कूल जम्मा ६,७६८ जना परीक्षार्थीहरु समावेश छन् । यीनिहरु सबैको भविष्यको छिनोफानो कस्तो हुने हो ? जस–अपजस कसले लिने हो ? समय आउंछ पर्खंदैन भने झै समयको सहि सदुपयोग भयो भएन, परीक्षा पश्चात परीक्षाफल प्रकाशन पछि अवगत हुने कुरा हो । त्यति वेलाको हाँसो र खुशीयालीको रोमाञ्चकमा रमाउनेहरु र पीडाको बेदनामा छट्पटाउनेहरुको आ–आफ्नै कथा र व्यथा प्रस्तुत हुनेछन् । तर सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु भने झैं धैर्य धारणा गर्ने शक्ति र सामथ्र्य प्राप्त गर्न सक्नुपर्छ ।
    राम्रो लाउन, मीठो खान, सुख(सयलमा जीवन विताउन कसलाई पो मन पर्दैन र ? यसो भन्दैमा कसले कुन बेला, कसरी, के गर्न हुन्छ  र के गर्न हुंदैन भन्ने कुरा पनि त विद्यार्थीहरुले बुझ्नु पर्छ । गुरु र मान्यजनको अर्ति, उपदेश कति पालना गर्न सकियो, कति सकिएन भन्ने कुरा विद्यार्थीहरुले समयमा बुझ्न सकेमा कालान्तारसम्म चलिरहने यो एस.एल.सी परीक्षा जोकोहिलाई पनि असहज हुने छैन । औषधी र अर्ति तीतो हुन्छ भन्ने कुरा बुझ्नु पर्छ र संस्कृतका नीति श्लोकको पनि ख्याल गर्नुपर्छ । श्लोकमा भनिएको छ– “काक चेस्टी, बको ध्यान, स्वन निन्द्रा तथैवच, अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षणम” अर्थात् कागको जस्तो चल्याख्याई, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निन्द्रा, थोरै खाने बानी र घर छाड्ने अथवा एकान्तमा बसेर पढ्ने यी पाँचवटा लक्षणहरु पालना गरेर अगाडि बढ्ने विद्यार्थी कहिल्यै निराश हुनुपर्दैन र भविष्य सदा सुखमय हुन्छ । तर सहि मार्ग निर्देशित गर्ने जिम्मेवारी भने शिक्षकको हो । शिक्षकको चरित्रले विद्यार्थीलाई अनुशासित हुन र सभ्य बन्न प्रेरणा मिल्छ, त्यसैले शिक्षक यान्त्रिक र जड हुनुहुन्न । विद्यार्थीका जिज्ञासा तत्काल समाधान गर्न असहज भएमा भोलिपल्ट भएपनि हल गरिदिनुपर्छ । हाम्रा पूर्वज गुरुहरुले टन्न झोलाभरि शैक्षिक सन्दर्भ सामाग्रीहरु राखेर मनचिन्ते झोला बोकेको भन्दै कक्षामा अध्यापन गर्नुभएको उदाहरण पनि हामिसंग छ । तर विडम्बना हाम्रा केहि शिक्षकहरु पाठ(योजना निर्माण गर्ने वातावरण सम्भव नभएतापनि रित्तो हात जाने गर्छन् र पाठ कहाँ पुग्यो भनि विद्यार्थीहरुलाई सोेधेर अध्यापन गर्ने गर्छन् । कहिले काँही असहज हुन पुग्दा झुटो कुरा बताउन वाध्य हुन्छन् । परिणाम विद्यार्थीहरुको कलिलो मष्तिष्कमा कस्तो छाप पर्ला ? शिक्षकले जे पायो त्यो वोल्दा, खानुहुन्न भन्ने कुरा खाँदा र गर्न हुन्न भन्ने कुरा विद्यार्थीको सामुन्ने गरिंदा उत्पन्न हुने दुस्परिणामको ख्याल अवश्य गर्नु पर्नेहुन्छ । शिक्षकको विरुद्ध वोल्दा विद्यार्थीले सोच्न सक्ने वातावरण श्रृजना हुने अवस्था ल्याउन शिक्षकले आफूसंग भएको ज्ञान, सिप, प्रेरणा र ईमान्दारी पूर्वक विद्यार्थीलाई सम्प्रेषण गर्न सक्नुपर्छ । शिक्षकले जीवनको मूल्य बोध गराउनदेखि लिएर गलत बाटोमा हिड्दा हुने दुष्परिणामका बारेमा विद्यार्थीलाई हरपल सचेत गराउनुपर्छ ।
सन्दर्भबस कक्षामा केहि कमजोरी गर्ने विद्यार्थीलाई गोबरगणेश, लद्दु, फटाहा, मूर्ख, कामै नलाग्ने आदि शब्दहरु प्रयोग गरेर गाली गर्ने प्रवृत्तिले बाल मष्तिष्कमा एकपछि अर्को नकारात्म छाप पर्न जाने हुनाले कुनै पनि शिक्षकले यो व्यवहारदेखि टाढा रहनुपर्ने हुन्छ । हुनत पुरानो शिक्षामा शारीरिक र मानसिक दण्ड दिएर घोक्ने विद्या सिकाउने गुरुको अर्ति उपदेश पाएर बनेका हामी शिक्षकले अहिलेको परिवेश र अवस्था पनि कयौं दक्ष जनशक्ति उत्पादन गरी सकेको अवस्थामा सरकारको सहीनीति नआएको कारणबाट प्रवेशीका परीक्षा शुद्ध र मर्यादित बनाउन सकिएको छैन ।
विद्यार्थीको सही मूल्यांकन गर्नका लागि परीक्षा प्रणाली र परीक्षा केन्द्रमा एकरुपता हुनु जरुरी छ । परीक्षा मर्यादित हुनुपर्छ भन्ने सबैको चाहाना छ तर परीक्षा संचालकहरुको परीक्षार्थीको सुविधामा त्यति ध्यान दिइएको छैन । अनावश्यक ढंगबाट परीक्षार्थीहरुलाई तनाव हुने खालका वातावरण र मानसिक दवावबाट मुक्त गराउन सक्नुपर्छ । तर्साएर मर्यादा कायम राख्न खोज्ने प्रवृत्तिलाई अन्त्य गरी उदार शासन प्रणाली शासकीय शैली र चरित्र अन्तरगत मानवीय मर्यादाको सम्मानलाई सर्वोपरी महत्व दिनुपर्छ । तसर्थ सबै परीक्षा केन्द्रमा प्रवेश गर्नुभन्दा अगाडि विद्यार्थीमा अपनाईने प्रक्रिया, बसाई व्यवस्थापनमा समावेशी भेद्भावपूर्ण व्यवहार अनुगमनकर्ता प्रवेश गर्दा अपनाईने सांकेतिक भाषा, सुरुक्षाकर्मीको व्यवहार, चिट चोर्ने प्रवृत्तिलाई निरुत्साहित जस्ता कार्यमा सुधार आउन सक्यो भने अवश्य पनि परीक्षा शुद्ध र मर्यादित हुनसक्छ नत्र भने परीक्षा प्रणालीमा नै प्रश्न चिन्ह खडा हुन्छ ।
    त्यसैले यस्ता परिपाटीलाई अन्त्य गर्न विद्यालय कक्षामा तलैदेखि सुधार गर्दै सिंगो राष्ट्र नीति निर्माणकर्ता, शिक्षक, अभिभावक, विद्यार्थी सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । नकि विदेशीहरुको प्रयोगशाला नेपालमा नरहोस् । विदेशिहरुको नक्कल नगरियोस् । देश, काल, परिस्थिति अनुसारको शिक्षा नीति लागु भयो भने, त्यहि नै देशविकासको मेरुदण्ड हुनेछ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts