मुलुक अकर्मण्यतामा फस्यो, देश अन्योलग्रस्त छ भन्ने बुझाइ जबरजस्त बढ्दै गएको छ भन्ने छ, यहाँ ठूलो दलको शीर्षस्थ नेता हुनुहुन्छ, यहाँलाई के लाग्छ ?
प्रचण्ड, अध्यक्ष, एनेकपा (माओवादी) |
मलाई त्यस्तो लाग्या छैन । सार्वजानिक कार्यक्रम, विभिन्न पार्टीहरूकँ बैठक, हाम्रो आफ्नै पार्टीको बैठकमा पनि प्रस्ट रूपमा के भन्दै आएको छु भने चुनौती र अप्ठ्यारा हुँदाहुँदै पनि अकर्मण्यतामै देश फस्यो भन्ने कुरा सही बिलकुल होइन । संविधानसभा कायम छ, संविधान निर्माण प्रक्रियामा पार्टीहरू लागिपरिरहेकै छन् । मैले अहिलेको स्थितिलाई के भनिराखेको छु भने समुद्रमा छाल चलिराखेको छ त्यो बाहिर नदेखिएको मात्र हो । त्यो देखिने वेला एकैचोटि देखिन्छ । त्यो सकारात्मक ढंगले नै देखिन्छ भन्ने भन्ने मेरो ठहर हो ।
हाम्रो अहिलेको शान्ति प्रक्रिया गतिमा नै छ, त्यो बाहिर प्रस्ट देखिने गरी अघि बढिराखेको छ । संविधान निर्माणबारे हामी अन्तिम चरणमा छौं । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याउने काम पनि अन्तिम चरणमा पुगेको छ, त्यो पनि जनताले देखेको कुरा हो । यसरी प्रगति भइरहेको बेलामा देश नै अकर्मण्यतामा फस्यो भनेर प्रचार गरिनु जनतालाई अनावश्यक ढंगले निराश पार्ने र आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका नखेल्नेहरूको प्रचारबाजी हो । यस प्रचारभित्र कहीँ न कहीँ प्रतिगामी हरूको इच्छा पनि सम्मिलित छ कि भन्न्ने आशंका मेरो छ, बरु म आम जनतालाई सतर्क रहन अनुरोध गर्दछु ।
संविधानसभाको म्याद सकिंदै गर्दा मुख्य दलहरूभित्र आन्तरिक घर झगडा बढेको यस स्थितिमा यस्तो बुझाइ हुनु अन्यथा हो र ?
यो संक्रमणकाल हो र संक्रमणकालको पनि अन्तिम चरण चलिराखेको छ । त्यसकारण मलाई के लाग्छ भने संक्रकणकालको अन्तिम प्रतिविम्वन हरेक पर्टीहरूभित्र पर्नु विज्ञानको नियम हो । यो त्यो नियमभन्दा बाहिर भएको छैन । पार्टीहरूका बीचको आपसी सम्बन्ध र पार्टीहरूभित्रको बहसमा नेपाली रजनीतिको संक्रमणकालीन प्रतिविम्वन छ, यसलाई अन्यथा ठान्नु हुंदैन । तर जतिसुकै अन्तर्विरोध र असहजजस्तो स्थिति देखिएता पनि पार्टीहरू र पार्टीहरूभित्रका विभिन्न विचारधारा र प्रवृतिहरूलाई के कुरा राम्ररी थाहा छ भने सहमतिको विकल्प छैन । यस प्रक्रियालाई निष्कर्षमा पु¥याउनुको विकल्प पनि छैन । संक्रमणकाल छिटोभन्दा छिटो टुङ्ग्याउनुको विकल्प पनि छैन भन्ने जस्ता नीतिगत र सैद्धान्तिक कुरामा म विमति देख्दिनँ, त्यसमा सहमति छ । विचारधाराहरू फरक–फरक हूँदाहँदै पनि अन्तिम निष्कर्ष चाहिँ के हो त ? सविधनसभा भङ्ग गरिदिने, शान्ति प्रक्रियालाई बीच बाटोमा नै छाडिदिने भन्ने कसैको छैन । यस्तो मत असाध्यै चर्को क्रान्तिकारी कुरा गर्नेहरूले पनि राखेको मैले सुनेको छैन । यस प्रक्रियालाई टुङ्ग्याउनै पर्छ भन्नेमा आउने गरेको पाउँछु । दलहरूमा संक्रमणकालको प्रतिविम्वन हुँदाहँुदै पनि यो निष्कर्षको नजिक छ । यो संक्रमणकालीन बेलाको अन्तिम क्षण हो, सकारात्मक निष्कर्षबाहेक अरू सोच्नु जो कसैका लागि पनि भुल हुन्छ, त्यो सबै शक्तिले बुझेका छन् ।
प्रधानमन्त्रीको राजीनामा मागिएको, पार्टीहरूभित्र घरझगडा भइराखेको, राष्ट्रिय सरकार गठन गरिनु पर्छ भनेर कांग्रेस र एमालेजस्ता दास्रो र तेस्रो ठूला दलले भनिराखेको र संविधानसभाको म्याद सकिँदै गइरहेको स्थितिमा पनि शान्ति र संविधान निष्कर्षमा पुग्छ भन्नेमा विस्वस्त हुनुहुन्छ ?
जे जे भए पनि शान्ति प्रक्रिया झण्डै झण्डै निष्कर्षमा पुगि नै सक्यो । सेना समायोजनको काम मात्रै बाँकी छ । समग्र शान्ति प्रक्रिया त नभनौँ, शान्ति प्रक्रिया भन्दा विभिन्न आयोगहरू, घाइते अपाङ्गदेखि, पुनर्निर्माणका कुराहरू पनि आउछन, यी त बाँकी रहन्छन् । तर सेना समायोजन र पुनस्र्थापनाको काम जो सम्पन्न हूदै छ त्यो नै मुख्य कुरा हो । यस अर्थमा जतिसुकै अप्ठ्याराहरू भए पनि यो टुङ्गिन्छ । यो टुङ्गिनु भनेको संविधान निर्माणका निम्ति राजनीतिक दलहरूमा जबरजस्त दबाब पर्नु हो । किनभने, सेना समायोजन टुङ्गिसकेपछि माओवादीलाई आरोपित गरेर चल्ने गरेका अन्य पार्टीहरूको मुख बन्द हुन्छ । माओेवादीले शान्ति प्रक्रिया रोक्यो भन्ने फोस्रो आरोप पनि सिद्धिन्छ । त्यसपछि जनताले बुझ्छ कि माओवादीले सबभन्दा बढी गम्भिर र जिम्मेवार भएर यस प्रक्रियालाई निष्कर्षमा पु¥यायो । जनताले यसरी बुझ्ने कुराले संविधान निर्माण गर्न सकारात्मक वातावरण बनाइदिन्छ । प्रतिक्रियावादी खालका शक्तिहरूलाई जबरजस्त दबाब पनि दिन्छ । यस अर्थमा मैले देख्छु कि संविधान पनि बन्छ । प्रक्रियामा जाँदा यो तीन महिनाको समयले संविधान निमार्णसँग सम्बन्धित केही विषयमा काम गर्न भ्याइँदैन कि भन्ने पनि छ, ती प्रक्रियालार्ई छोट्याउन सकिन्छ । समग्रमा शान्ति प्रक्रिया टुङ्गिन्छ र संविधान बन्छ, म ढुक्क छु ।
सेना समायोजनमा सबैका आ–आफ्नै अडान छन्, माओवादी, कांगे्रस, एमालेका फरक–फरक अडान छन् र नेपाली सेनाले समायोजनको सन्दर्भमा राखेको प्रस्ताव पनि छ, यो कसरी टुङ्गिन्छ ?
पार्टीहरूका आ–आफ्ना अडान त छन् नै । सहमतिका निम्ति भएका प्रयासहरूले के देखाउँछ भने अहिले नेपाली सेनाले ल्याएको सुझाव एउटा आधार हो, समायोजनको प्रक्रिया टुङ्ग्याउनका निम्ति यो एउटा सकारात्मक आधार हो । त्यसलाई इन्कार गर्न पार्टीहरू कसैलाई पनि सजिलो छैन । त्यसमा केही विषयहरू तलमाथि गर्न राजनीतिक सहमतिले गर्न सकिन्छ र गर्नु पर्छ पनि । जस्तै ¥याङकिङको विषय अथवा पोलिटिकल महत्वको विषयमा राजनीतिक दलहरूसँग मेरो छलफल भइराखेको छ । अहिले भइराखेको छलफलबाट हेर्दा मैले के देख्छु भने हामी यस विषयमा सहमतिको नजिकै छौं ।
माओवादी जनसेनालाई प्रमाण–पत्रसमेत दिनु हुँदैन भन्ने केही दल र हामी अपमानित भयौँ भन्ने जनसेनाको भावनाको केन्द्रीकरण कसरी सम्भव हुन्छ ?
दुबै पक्षको चित्त बुभ्mने गरी हुन्छ । जनमुक्ति सेनाका कमाण्डर कमरेडहरूसँग मैले नियमित छलफल गरिराखेको छु । जनमुक्ति सेनाले हीनताबोध गर्ने स्थिति बन्दैन र बन्न दिनु पनि हुँदैन । अरू राजनीतिक दलहरूले पनि अन्ततः जनमुक्ति सेनालाई हीनतामा पारियो भने बिग्रिन्छ भन्ने बुझिसकेका छन् । त्यसकारण जनमुक्ति सेनालाई पनि सम्मानजनक ढंगले नै लाने र अन्य पर्टीहरूको अडानलाई पनि अलिकति सम्बेधन गर्ने भएर अगाडि बढ्छ ।
यी सबै प्रक्रियाको नेतृत्व अहिलेको सरकारले गर्छ या यो सरकार बदलिन्छ ? चर्चामा रहेजस्तै राष्ट्रिय सरकार या प्रधानमन्त्रीको राजीनामा या यस्तै–यस्तै अरू केही हुन सक्ने सम्भावना पनि छ ?
सरकारको कुरो र शान्ति प्रक्रियाको कुरो एउटै होइन, यी अलग–अलग कुरा हुन् । अहिल्यै अर्को सरकार बनाउने भन्ने कुरातिर लाग्दा त्यसले समय खाने र झन् शान्ति र संविधानको कुरो भाँडिने हुन्छ । त्यसले प्रक्रियालाई अल्मल्याउने र जनतामा अकर्मन्यता र भ्रम सृजना गर्न सक्छ । कमसेकम सेना समायोजनको प्रक्रिया यही सरकार अन्तर्गत नै टुङ्गियोस् भन्ने हाम्रो भनाइ हो । अरूले पनि तुरुन्तै विमति गरिसकेको स्थिति पनि होइन ।
तपाईंकै पार्टीभित्रको कुरा चाहिं नि ?
हो अलिकति समस्या हाम्रै पर्टीभित्र हो । बरु अरू विपक्षीहरूको त्यति धेरै समस्या देखिन्न । हाम्रो पार्टीभित्रको नै एउटा विचार समूह सरकारमा छैन । हाम्रो पछिल्लो केन्द्रीय समितिमा राष्ट्रिय सहमतिको सरकार बनाउन विशेष जोड गर्ने भन्ने आधारमा हामी एकताबद्ध भएका थियौं । अहिले छलफल चलिराखेको पनि छ । त्यस विचार समूहको माग तुरुन्त राजीनामा दिनुप¥यो भन्ने पनि छ । सरकार नै एउटा लडाईको प्रमुख मोर्चा बनिरहेको स्थितिमा उहाँहरू चाहिं सरकारमा हुनुहुन्न । त्यसकारण उहाँहरूलाई अलि लाग्या छ, त्यो लाग्नु स्वाभाविक पनि छ । त्यही मोर्चामा आफू नहुँदा अप्ठ्यारो लाग्नु स्वाभाविकै हो ।
माओवादीकै नेतृत्वको सरकारलाई राजीनामा देऊ भनेर भन्नु र त्यसपछिको सरकार कस्तो बन्छ भन्ने कुराको चित्र पनि नदेखिने कुरा गर्नु राम्रो हुँदैन । जनताले पनि त्यसलाई राम्रो मान्दैन र मान्ने कुरा पनि हुँदैन । त्यसले अहिलेको सङ्कटलाई पनि राम्रो गर्दैन । बरु छिटोभन्दा छिटो समायोजनको प्रक्रिया पनि अगाडि बढाऔं, संविधानको बहस पनि गरौं र राष्ट्रिय सरकार, मुख्यतः कांगे्रस, एमालेसमेत भएको राष्ट्रिय सरकार बनाऔं, राष्ट्रिय सरकार बनाउँदा बाबुरामजीलाई बदल्नै पर्छ भन्ने छैन । किरणजीहरूको भनाइ के पनि आएको छ त भने अहिले राजीनामा दिएर फेरि पछि राष्ट्रिय सरकार बन्ने सहमतिमा बाबुरामजी नै पनि हुन सक्नुहुन्छ भन्नुभएको छ । त्यसरी भन्दा पनि पहिला राष्ट्रिय सहमतिको वातावरण बनाऔं, सहमतिको वातावरण भएपछि त जे गर्न पनि सकिन्छ । बाबुरामजी पनि तयार हुनुहुन्छ । सहमतिको वातावरण नबनाईकन राजीनामा दिने कुराले देश झन् अन्योलग्रस्त, झन् अस्तव्यस्त हुने खतरा हुन्छ । राष्ट्रिय सरकारको अर्को रूप नदेखुन्जेल यही सरकार रहन्छ । यो छलफलले शान्ति प्रक्रिया र संविधान निमार्ण कार्य रोकिन्न ।
प्रसंग अलिकति बदलौं । एकीकृत नेकपा (माओवादी ) भित्र पछिल्लो केन्द्रीय समितियता देखिएको अन्तर्संघर्षमा देखिएको मत्थरता फेरि बल्झिएको जस्तो देखिन्छ । पहिलेजस्तै यो नेतृत्वले क्रान्ति सम्पन्न गर्न सक्दैन, क्रान्ति बर्बाद भयो, सिद्धियो भन्ने प्रचार फेरि तीव्र हुन थालेको छ । आम कार्यकर्ता र जनताले यसलाई कसरी बुझ्ने ?
कमसेकम नेतृत्व तहमा हामीले केन्द्रीय समितिको बैठकदेखि जसरी एउटा प्रस्ताव परित गरेर देशभरि प्रशिक्षण पनि सम्पन्न गरेर आयौ । जनयुद्ध दिवसको दिन फागुन १ गतेको जनसभा र अरू सभाहरू पनि केन्द्रीकृत रूपमै भए । त्यसले एउटा सकारात्मक वातावरण पनि तयार पारेको छ ।
अहिले फेरि पार्टीको नेतृत्व तहमा त्यस्तो स्थिति भयो भन्ने कुरा सत्य होइन । तल कसले प्रचार गरेको छ, त्यो मलाई थाहा छैन । त्यसरी प्रचार गर्र्ने पनि होलान् । कतिपयलाई अध्यक्ष प्रचण्डले फेरि उपाध्यक्ष किरणसँग गलत सम्झौता ग¥यो भन्ने लागेको हुनसक्छ । त्यस्तै किरणले अध्यक्षसँग गलत सम्झौता ग¥यो भन्ने अर्को पक्षलाई लागेको हून सक्छ । अध्यक्षको समर्थन गर्नेभित्र र किरणको समर्थन गर्नेभित्र पनि यस्ता धारणा हुन सक्छन् या बाबुरामकोमा पनि । मेरो दृष्टिमा यी कुरा गौण हुन् । त्यसको त्यति धेरै महत्व छैन । मुख्य कुरा किरणजी र बाबुरामजीसँग मेरो छलफल अलि गम्भिर ढंगले चलिराखेको छ । छलफल चलिराखेको हुनाले अहिले त्यहाँ गइहाल्यो भन्ने मलाई लाग्या छैन ।
छलफलबाट हामी सकारात्मक ठाँउमा नै पुग्छौँ, हामी एकताबद्ध भएर नै जान्छौं भन्ने मलाई विश्वास छ र हाम्रो प्रयत्न त्यतै छ । मलाई महसुस पनि त्यस्तै भइराखेको छ । किरण, बादल, गुरुङ, विप्लवसँग छलफल भइराखेको छ । छलफलमा तपार्इंले भनेजस्तो नेतृत्व गलत भयो भन्ने कसैबाट आएको छैन ।
जहाँसम्म हल्ला चलेको कुरा छ, यो नेतृत्वले क्रान्ति गर्दै गर्दैन भनेर ०४६ सालअगाडि (म जतिबेला महामन्त्री थिए) मेरा विरुद्ध यस्तै हल्ला सुन्थे । मैले यस्तो हल्ला सुन्न थालेको २२–२५ वर्ष भयो । यस नेतृत्वले कुरै मात्रै गर्ने हो, यसले क्रान्ति गर्ने पनि हैन, यसले युद्ध गर्ने पनि हैन, माखो मार्दैन भन्थे । ०४७–४८ मा मैले संसद् उपयोग गर्नुपर्छ भन्दा यस्तै भोगेथे । मलाई त्यसो गर्दा अब दक्षिणपन्थी नै भइसक्यो, यो पतन भइसक्यो भनेर धेरै लेखिए त्यतिबेलाको सापेक्षतामा । ०५२ सालतिर यस्तो नेतृत्वबाट क्रान्ति हुन्छ भनेर सोच राख्नु गोरु ब्याउँछ भनेजस्तै हो भन्थे । यही कारण पार्टी छोडेर हिँड्नु पर्छ भनेर हिँडेका केही मान्छेहरू अहिले पनि छन् । तपाईंहरूले सम्झनु हुन्छ कि हुन्न, एउटा जमात थियो एउटा स–सानो जमात । त्यो जमात त पार्टी छोडेरै हिड्यो पनि, त्यो हिडेपछि अनि जनयुद्ध सुरु भयो । र जनयुद्ध कसरी भयो त्यो भनिराख्न परेन । जनयुद्धभरि पनि कुनै न कुनै रूपमा नेतृत्वका विरुद्ध हमला त भइ नै राख्थ्यो भने अहिले पनि त्यो हुनुलाई मैले केही नौलो र अनौठो ठानेको छैन । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । आफू राष्ट्रप्रति, वर्गप्रति, क्रान्तिप्रति इमान्दार हुने हो, वस्तुगत परिस्थितिको सही आकलन गर्ने हो । माक्र्सवादले जे भन्छ, विज्ञानले जे भन्छ त्यसलाई दह्रोसँग समातेर अगाडि बढ्ने हो । मलाई लाग्छ यही प्रक्रियाबाट हामी विजयसम्म पुग्छौं । मलाई ०४६ मा यो नेतृत्वले क्रान्ति गर्छ भन्नु चाहिँ गोरु ब्याउँछ भन्नुजस्तै हो भनेर दक्षिणपन्थीको आरोप लगाउनेहरू अहिले कहाँ छन्, तिनको स्थिति हामी सबैले जानेका छौँ । जनयुद्धभित्र पनि र अहिले पनि नेतृत्व अब सिद्धियो भन्नेहरू आलोक, रवीन्द्र र मणिहरूभन्दा फरक हविगतका हुन्छन् भन्ने मलाई लाग्दैन ।
भनेपछि, नेतृत्व बिग्रएिको छैन, क्रान्ति जारी राखेको छ, नयाँ ढंगको क्रान्ति जारी छ भनेर बुझ्नु प¥यो ?
हो । क्रान्ति नयाँ ढंगले अगाडि बढिराखेको छ । नयाँ ढंगको क्रान्ति जारी छ । नयाँलाई बुझ्नु र बुझाउनु चुनौतिपूर्ण हून्छ भन्ने मलाई थाहा छ । म त्यही गरिरहेको छु जस्तो ०५२ मा जनयुद्ध सुरु गर्दा थियो । आधार इलाका निमार्णको प्रश्नमा थियो, सेना निमार्णको प्रश्नमा त्यस्तो भयो । यो मैलै बुझाउनु पर्छ, म तयार छु ।
यहाँले भनिदिनुस् कि नयाँ ढंगको क्रान्ति कसरी सम्पन्न हुन्छ ? क्रान्ति जारी छ भन्ने कुराको विश्वास कसरी गर्ने ?
विश्वास अविश्वास भन्ने कुरा विज्ञानसँग सम्बन्धित छ । हामीले विज्ञानलाई कति राम्रोसँग बुझेका छौं भन्नेमा पनि भर पर्छ । कहिलेकाही विश्वास पनि अविश्वास हुन्छ, कहिलेकाहीं अविश्वास पनि विश्वास हुन्छ । त्यसको द्वन्द्वात्मक सम्बन्ध पनि हुन्छ । फेरि पनि विश्वासको आधार व्यवहार नै हो । व्यवहार कहाँबाट हो त भन्दा वस्तुगत परिस्थितिको ठीक–ठीक आकलन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलतन, राष्ट्रिय शक्ति सन्तुलन, समग्र परिस्थितिलाई ठीक–ठीक आकलन गरेर कतिबेला अगाडि बढ्नु पर्ने हो, कतिबेला पछाडि हट्नुपर्ने हो भन्ने कुरा जान्नु र त्यस अनुसार अगाडि बढ्नु नै क्रान्ति अगाडि लैजानु हो । अझ थपौँ, क्रान्तिका चर्का–चर्का कुरा गरेर क्रान्तिकारी भनिन त सकिन्छ तर क्रान्ति गर्न सकिन्न । क्रान्तिका कुरा गर्न मात्र सजिलो छ तर क्रान्ति भन्नु मात्रै क्रान्ति हैन ।
हुन त चर्का कुरा पनि क्रान्ति हो, जस्तो– सामँन्तवादका विरुद्ध, साम्राज्यवादका विरुद्ध चर्का कुरा गर्नु, त्यो पनि युद्ध हो । क्रान्ति भनेको पछि हट्नु पनि हो । जुन नेता र पार्टीहरूले पछि हट्न जानेनन् या दायाँ–बायाँ गर्न सकेनन् ती पार्टीहरू ध्वस्त भए, सिद्धिए । नेताहरूको र पार्टीहरूको अग्निपरीक्षा अगाडि बढ्ने बेलामा होइन, पछाडि हट्ने बेलामा हुन्छ । जतिबेला पछि हट्नुपर्ने अवस्था आउँछ तब त्यतिबेला नेतृत्वको टेस्ट हुन्छ । नेतृत्वले त्यो पछि हट्ने बेलामा पनि मानिसहरूको भावनात्मक दबाबमा आएर पछि नहटेर अगाडि मात्रै बढ्छन् भने तिनले पहरामा लगेर टाउको ठोक्ने काम गर्छन्, विध्वंस गर्छन् । मलाया, बर्मा, टर्की, फिलिपिन्स र अन्तिममा पेरुलाई हेर्नुस् । इतिहासमा थुप्रै त्यस्ता घटनाहरू छन् । तर हामी माक्र्स, एङ्गेल्सलाई हेरौं, फ्रान्सको पेरिस कम्युनपछि माक्र्स र एङगेल्स कति पछि हट्नुभयो । बुर्जुवा पार्लियामेन्टमा जानैपर्छ अरू कुनै उपाय छैन, अब तयारी गर्ने हो, अहिले तुरुन्तै क्रान्ति हुदैन भनेर प्रस्टाप्रस्टी भन्नुभयो । लेनिनहरूले अक्टोबर क्रान्तिसम्म गएर पनि बे्रस्लितो सन्धि गर्नैपर्छ, भूमि हाम्रो दिनैपर्छ जर्मनीलाई भनेर किन भन्नुभयो ? माओले च्याङकाइसेकसँग लडेर च्यङकाइसेकसँग नै हात मिलाएर, फेरि तिनीहरूसँग बसेर, संयुक्त मोर्चा गरेर संयुक्त सरकार बनाउने किन भन्नूभयो ? त्यो भन्न नसकेको हुन्थ्यो भने माओहरूले सायद क्रान्ति गर्नुहुने थिएन । अहिले हामी पनि जे गरिराख्याछौ क्रान्ति नै गरिराख्या छौ । यही नै हो, विश्वास गर्ने आधार पनि यही मात्रै हो, अर्को कुनै उपाय छैन । लाल रक्षकबाट साभार:
0 comments:
Post a Comment