लन्डन , श्रावण १५ - चीनले आइतबार लन्डन ओलम्पिक २०१२ को पदक तालिकामा सुरुआती अग्रता लिएको छ । चिनियाँ खेलाडीले पौडीमा नयाँ विश्व कीर्तिमान पनि बनाए । प्रतियोगिताका अधिकांश आयोजना स्थलका दर्शकदीर्घा खाली हुन थालेपछि आयोजक कमिटीको आलोचना पनि सुरु भएको छ ।
फुटबलका मैदानसँगै विम्बल्डन र एक्वाटिक सेन्टरका दर्शकदीर्घा खाली रहेका छन् । यसअघि बेलायतीले खेलस्थल प्रवेशको टिकट किन्न खोजे पनि ती सबै बिक्री भइसकेको बताइएको थियो । त्यसै कारणले बेलायतीमा आक्रोश बढेको हो । इक्वेस्टि्रयन आयोजना हुने गि्रनविच पार्कमा पनि दर्शकदीर्घा खाली रहे ।
बेलायती महारानी एलिजाबेथ द्वितीयाकी नातिनी जारा फिलिप्सले खेल्ने भए तापनि त्यसमा दर्शकको अभाव देखिएको थियो । फिलिप्सले ओलम्पिकमा डेब्यु गर्दैछिन् । अर्कोतर्फ गर्मीपछि परेको अत्यधिक वर्षाले पनि आउटडोर स्टेडियममा दर्शकको संख्या घटेको हो । आयोजक पक्षले भने दर्शकदीर्घा खाली हुनु पछाडिका कारण खोज्ने भएको छ ।
'दर्शकको अभाव हुनु हाम्रा लागि लाजमर्दो स्थिति हो,' बेलायती मन्त्री जेरेमी हन्टले भने । उनले थपे, 'म बेइजिङ ओलम्पिकमा पनि सहभागी थिएँ । त्यति बेला सबै रंगशाला दर्शकले भरिएका थिए । यसले खेलको माहौल नै बेग्लै बनेको थियो । अहिले लन्डन ओलम्पिकमा त्यसको स्पष्ट अभाव देखिएको छ । हाम्रो एक मात्र उद्देश्य दर्शकलाई आकषिर्त बनाउनु हुनेछ ।'
यसबीच उज्वेकिस्तानका जिम्न्याटिस्क खेलाडी लुनिजा गिलिलिना डोपिङ परीक्षणमा असफल हुने अर्का खेलाडी भएका छन् । आइतबार लन्डन ओलम्पिकको पहिलो पूरा खेल हुने दिन रह्यो र यसमा चिनियाँ टिमको प्रभावशाली प्रदर्शन देखिएको छ । चीनले पदक तालिकामा स्पष्ट अग्रता पनि लिएको छ ।
आइतबार बेलुकासम्म चीनले छ स्वर्ण, एक रजत र दुई कांस्य जितेको छ । अमेरिका दुई स्वर्ण, तीन रजत र दुई कांस्यसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको इटालीले दुई स्वर्ण, दुई रजत र दुई कांस्य जितेको छ । त्यसयता शीर्ष पाँचमा ब्राजिल र दक्षिण कोरिया छन् ।
चिनियाँ खेलाडी गुओ वेन्जुनले महिला १० मिटर एयर पेस्तोलमा स्वर्णपदक रक्षा गरिन् ।
उनले १० दशमलव ८ अंकको प्रदर्शन गरिन् ।
फ्रान्सकी सेलिनी गोवेरभिलीले रजत जितिन् । उनी शून्य दशमलव १ अंकले मात्र पछाडि रहिन् । युक्रेनकी ओलेना कोस्टेभ्चाले कांस्यमा चित्त बुझाइन् । त्यसैगरी जुडोको ६६ केजी पुरुष तौल समूहमा जर्जियाका खेलाडीले स्वर्ण पदक जिते ।
महिला ५२ केजी तौल समूहमा उत्तर कोरियाली खेलाडीले बाजी मारिन् । एन कुम एइले उत्तर कोरियाका लागि स्वर्ण दिलाएकी हुन् । उनले फाइनलमा क्युवाकी यानेत बेर्मोयलाई पराजित गरिन् ।
0 comments:
Post a Comment