लन्डन , श्रावण २१ -
पौडीमा आफ्नो पारम्परिक दबाबलाई कायमै राखेपछि अमेरिका शनिबार लन्डन
ओलम्पिकको आठौं दिन चीनलाई पछि पार्दै पदक तालिकाको पहिलो स्थानमा उक्लिएको
छ । अमेरिकाले २१ स्वर्ण जितेको छ । चीन भने २० स्वर्ण मै सीमित छ ।
दक्षिण कोरियालाई एक स्वर्णले पछि पार्दै जर्मनी १० स्वर्णसाथ तेस्रो
स्थानमा छ । दक्षिण कोरियाको ९ स्वर्ण छ । फ्रान्सको ८ स्वर्ण छ । पौडीमा
माइकल फेल्प्सले कीर्तिमानी १८ स्वर्ण र क्याटी लेडेकी पहिलो स्थान हात
पारेसँगै अमेरिकाले चीनलाई पछि पारेको हो । ओलम्पिक इतिहासका सफल खेलाडी
बन्न पुगेका फेल्प्सले ओलम्पिकमा आफ्नो पदक संख्या २२ पुर्याएका छन् ।
पुरुष एक सय मिटर बटरफ्लाइमा पहिलो स्थान हात पारेका उनले चार गुणा दुई सय
मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्ण चुमे । २७ वर्षे यी अमेरिकी पौडीवाजले
चार वर्षअघिको बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जित्दै इतिहास रचेका थिए ।
'अघिल्लो सातादेखि मलाई निकै कठिन भएको छ । धेरै भावनात्मक कुरा छन् ।
शनिबारपछि यी सबै भावना बाहिर आउनेछन्,' फेल्प्सले भने ।
पौडीवाज लेडेकीले महिला ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिन् । उनले
ओलम्पिक इतिहासमा दोस्रो छिटो समय निकालेकी हुन् । १५ वर्षे लेडेकीले ८
मिनेट १४ दशमलव ६३ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस स्पर्धामा स्पेनले रजत
र बेलायतले कांस्य जिते । लेडेकीले फेल्प्सले प्रतिस्पर्धा गर्नुअघि
स्वर्ण जितेकी थिइन् । पुरुष ५० मिटर फ्रिस्टाइलमा फ्रान्सले स्वर्ण जितेको
छ । उसका फ्लोरेन्ट मनाउडोउले पहिलो स्थान हासिल गरे । त्यस स्पर्धामा
अमेरिकाले रजत र ब्राजिलले कांस्य जिते ।
रोइङमा बेलायतलाई थप ३ स्वर्ण
लन्डन ओलम्पिकमा रोइङबाटै स्वर्णको खाता खोलेको बेलायतले त्यसै विधाबाट
फेरि दुई स्वर्ण हात पारेको छ । उसले ओलम्पिक टिम स्पिटमा पनि स्वर्ण
जित्यो । उसले महिला लाइटवेटअन्तर्गत स्कुल्समा स्वर्ण जित्यो । उसका
क्याथरिन कोपल्यान्ड र सोफिही होस्किङको जोडीले चीनलाई रजतमा चित्त बुझाउन
बाध्य पार्यो । त्यस स्पर्धामा गि्रसले कांस्य जित्यो । बेलायतले पुरुष
रोइङ रेगाटामा लगातार चौथोपल्ट स्वर्ण जित्यो । उसका एलेक्स जर्जगोरी, पेट
रिड, टोम जेम्स र एन्ड्रयु टि्रग्स हगले ओलम्पिकमा बेलायतलाई चौथोपल्ट
च्याम्पियन बनाए । त्यस स्पर्धामा अस्ट्रेलियाले रजत र अमेरिकाले कांस्य
जिते । टिम स्पिटमा बेलायतले फ्रान्सलाई रजतमा चित्त बुझाउन बाध्य पार्यो ।
अस्ट्रेलियालाई हराउँदै जर्मनीले कांस्यपदक जित्यो ।
डेनमार्कलाई स्वर्ण
पुरुष लाइटवेट स्कुल्स रोइङमा डेनमार्कले बेलायतलाई पछि पार्दै स्वर्ण
जित्यो । उसको म्याड्स रासमुसेन र रासमुस क्उस्टको जोडीले पहिलो स्थान
हासिल गर्यो । बेलायतका डिफेन्डिङ च्याम्पियन जक पर्चेज र मार्क हन्टरले
रजतमा चित्त बुझाए । न्युजिल्यान्डमा त्यस स्पर्धामा कांस्य जित्यो ।
दक्षिण कोरिया विजयी
दक्षिण कोरियाले पुरुष डबल्स टेबलटेनिसमा पराजित गरेको छ । पहिलो चरणको
रोमाञ्चक खेलमा दक्षिण कोरियाले उत्तर कोरियालाई ३-१ ले हरायो । दक्षिण
कोरियाले क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले बेलायतलाई
३-० को सेटमा हरायो ।
नेदरल्यान्ड्स र अस्ट्रेलियाको जित
महिला हक्कीमा अस्ट्रेलिया र नेदरल्यान्ड्स विजयी भएका छन् ।
नेदरल्यान्ड्सले समूह 'ए' को खेलमा दक्षिण अफ्रिकालाई ३-२ ले हरायो ।
अस्ट्रेलियाले समूह 'बी' को खेलमा भने दक्षिण अफ्रिकामाथि १-० को जित
निकाल्यो ।
ट्रायथलनमा स्विट्जरल्यान्डलाई स्वर्ण
प्रतिस्पर्धात्मक खेलमा स्विडेनकी सेसा नोर्डनलाई पछि पार्दै
स्विट्जरल्यान्ड्सकी निकोला स्पिरिगले स्वर्ण जितिन् । उनले १ दशमलव ५
किलोमिटर पौडी, ४३ किलोमिटर बाइक चलाउँदै र १० किलो मिटर दौडँदै पहिलो
स्थान हात पारेकी हुन् । अस्ट्रेलियाले त्यस स्पर्धामा कांस्यपदक जित्यो । ekantipur