त्यसैगरी, यसअघि पार्टीको सहायक संगठनको रूपमा रहेको वाइसिएल अब ट्रेड युनियन महासंघकै जस्तो संरचनामा लैजाने निर्णय पनि बैठकले गरेको छ । अब वाइसिएल पनि महासंघको संरचनामा लैजाने निर्णय भयो । बैठकका निर्णयबारे समाचारलाई जानकारी गराउँदै वाइसिएल केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा 'सागर'ले भने 'महासंघ अन्तर्गत ८/१० वटा घटक संघहरू निर्माण गरिन्छ ।' उनले राष्ट्रिय सम्मेलनपूर्व अहिले भइरहेको सांगठनिक संरचनाहरूको क्षेत्रीय र जिल्लास्तरमा बैठक, भेला र सम्मेलनहरू गरिने जानकारी दिए । उनले महासंघको संरचना निर्माण गरी लाखौं युवाहरूलाई संगठित र परिचालित गरिने बताए । प्रत्येक घटक संघहरूसँग लाखभन्दा बढी युवा साथीहरू संगठित हुन्छन् । हामी उनीहरूलाई विकास, उत्पादन र संघर्षमा आवश्यकताअनुसार परिचालन गर्छौं । नाम परिवर्तन र महासंघको अवधारणामा जानेलगायतका निर्णयहरूको अनुमोदन भने राष्ट्रिय सम्मेलनले गर्ने उनले बताए ।
वाइसिएलको नामकै विषयमा कांग्रेस-एमालेलगायतका प्रतिपक्षी दलहरूले विरोध जनाएपछि माओवादीले यसअघि वाइसिएललाई निष्त्रिmय बनाई जनस्वयंसेवक दल बनाउने निर्णय गरेको थियो । तर, त्यसको संयोजक तोकिएका तत्कालीन स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवको अभिव्यक्ति र गतिविधिप्रति वाइसिएल र पार्टीभित्रैबाट आलोचना भएपछि उक्त संगठनको आधिकारिक घोषणा नहुँदै विघटित अवस्थामा पुगेको थियो । पार्टीभित्रको असन्तुष्ट वैद्य पक्ष अलग्गिएर गएपछि भएको वाइसिएलको पूर्ण बैठकमा दुई सयभन्दा बढी केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो । यसअघि वाइसिएलको केन्द्रीय समिति २ सय ५७ सदस्यीय रहेको थियो ।
वाइसिएल तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्दा निर्माण भएको थियो, पछि यसैबाट विकास भएर छापामार दस्ता र जनमुक्ति सेनासम्मको संरचना तयार भएको थियो । जनयुद्धको अवधिभर लगभग वाइसिएलको संरचना सुषुप्त अवस्थामा नै रहेकोमा माओवादी सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएपछि भने वाइसिएल अत्यन्त क्रियाशील भूमिकामा देखापरेको थियो । विशेषगरी २०६३ मंसिर ७ गते तत्कालीन नेपाल सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापश्चात जनमुक्ति सेनाहरू क्यान्टोनमेन्टमा राख्ने निर्णय भएपछि माओवादीले वाइसिएललाई क्रियाशील पारेको थियो । वाइसिएलले जनसुरक्षा, विकास निर्माण, जनसंगठकको भूमिकामा आफूलाई स्थापित गराएको थियो ।
शान्ति प्रक्रियामा आएलगत्तै वाइसिएलले राजधानी काठमाडौंमा प्रहरीसँग हातेमालो गर्दै गुन्डागर्दी नियन्त्रण गर्नुका साथै राजधानीमा सरसफाइ अभियान सञ्चालन गरेको थियो । त्यसैगरी, वाइसिएलले भारतद्वारा अतिक्रमित नेपाली भू-भागको सीमाक्षेत्रमै गएर अनुगमन गर्नुका साथै मेची-महाकाली मार्चपाससमेत गरेको थियो । त्यस क्रममा विभिन्न अतिक्रमित स्थलमा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग झडपसमेत भएको थियो ।
0 comments:
Post a Comment