नेपालीहरुको महान् चाड बडादसैं हाम्रो घर आँगनमा आइसकेको छ । रोजगारी,
व्यवसाय र अध्ययनका लागि परिवारबाट बाहिरिएकाहरु घर फर्केका छन् ।
परदेशिएका परिवारजनको स्वदेश आगमनले गाउँ-सहरमा विशेष चहलपहल छ । चाडपर्वका
कारण चलायमान भएको व्यापारिक क्षेत्रलाई पनि फुर्सद मिलेको छ । रोजगारीमा
रहेकाहरुले पनि वर्षभरिको लामो बिदा पाएका छन् । बालकदेखि वृद्धसम्म सबैलाई
दसंैले छोएको छ । यसै मेसोमा कान्तिपुरकर्मीले राजनीतिक दलका शीर्ष
नेतादेखि सामाजिक जीवनका विभिन्न क्षेत्रका अगुवाको दसंैचर्याबारे जिज्ञासा
राखेका थियौं । पर्व र बिदा मनाउने योजना उनीहरुकै शब्दमा-
देशको संकटमोचनमा सार्थक होस्
सुवास नेम्वाङ
पूर्वसभामुख
दसैंमा आफन्त, मित्रहरूसँग भेटघाट बाहेक अरू योजना छैनन् । यसका लागि
चाडपर्व उपयुक्त मौसम हो । नेम्वाङ परिवारमा दुःख परेको हुनाले यसपटक हामी
टीका लगाउँदैनौ । काका हरिशरण नेम्वाङ र कान्छी काकी बित्नुभएकाले दोहोरो
शोकमा छौं । त्यसैले अरू योजना बनाएको छैन । तर मुलुक अप्ठ्यारो अवस्थामा छ
। एकत्रितियांश बजेट सकिनै लागेकाले पर्वहरू लगत्तै मुलुकलाई संकट पर्नेछ ।
सर्वोच्च अदालतलगायत संवैधानिक निकायहरू रिक्त हुँदैछन् ।
दसैं-तिहारलगायतका पर्वलाई सदुपयोग गर्नुपर्छ । भेटघाटका सन्दर्भलाई देशको
संकटमोचनका लागि उपयोग गर्न नेताहरूलाई आग्रह गरिरहेको छु ।
किताब पढ्ने योजना छ
मोहन वैद्य
अध्यक्ष, नेकपा-माओवादी
दसैंमा खास योजना छैन । भव्य रूपमा मनाउने गरेको छैन, सोचेको पनि छैन ।
बाहिर कतै गइन्न होला । दसैंको मौकामा साथीहरूसँग भेटघाट, कुराकानी हुन्छ ।
विशेष गरी आफ्नै पार्टीका साथीहरूसँग बढी कुराकानी हुन्छ । साथीहरू बाहेक
घरपरिवारसँग बसेर दसैं मनाइन्छ । सामान्य ढंगले नै दसंै मनाउने चलन छ । यही
मौकामा लेखपढ गर्ने सोचेको छु । विशेष गरी सैद्धान्तिक र राजनीतिक
किताबहरू पढ्ने योजनामा छु । पार्टीका लागि केही लेख्ने काम पनि हुन्छ ।
धेरै साथी गाउँ जाने भएकाले लेखपढ गर्न समय पाइन्छ ।
मलाई दमको समस्या भएकाले चिल्लो पिरो खान मिल्दैन । सामान्य खान्छु ।
दसंैका लागि विशेष खर्च गर्ने चलन छैन । धेरै खर्च गर्नुहुन्न भन्ने मेरो
मान्यता छ । त्यसकारण दसैं सकिनसकी भव्य रूपमा मनाउनुपर्छ भन्ने छैन ।
आफ्नो इच्छा र गच्छे अनुसार मनाउनुपर्छ । तैपनि दसंैको मौकामा सबैलाई
शुभकामना आदान प्रदान गरिन्छ ।
एकएक जोर नयाँ लुगा हालिदिन्छु
दिलशोभा श्रेष्ठ
समाजसेवी
दसैंमा निकै रमाइलो गरिन्छ । घरमा यसपालि ३९ आमा र ४९ केटाकेटी छन् ।
पोहोरजस्तै यसपालि पनि तीसँग खानपिन गरेरै दसैं मनाउँछु । दिशानिर्देश
सुनेर यसपालि घरमा ५ जना बाहरू पनि थपिनुभएको छ । उहाँहरूका लागि मेरो घरमा
पहिलो दसैं हो यो ।
पोहोर, परार मलाई दसैंमा टार्न पुर्याउन निकै समस्या हुने गथ्र्याे ।
आफ्नै मात्रै कमाइले त गाह्रो पनि हुने रहेछ । तर यसपालि अवस्था राम्रो छ ।
सबैको सद्भाव र सहयोगले मनग्य खानेकुरा छन् । घरका परिवार सबैलाई एकएक जोर
नयाँ लुगा पनि हालिदिँदैछु । टीकाको दिन पनि घरैमा बसिन्छ र टीकाटालो
गरिन्छ । टीकाको भोलिपल्ट म बाआमा र केटाकेटी सबैलाई लिएर माइत जान्छु ।
मेरो माइती थानकोटमा छ । त्यहाँ मेरा तीन भाइ छन् । दुई बहिनी पनि त्यहीँ
भेट हुनेछन् । त्यहाँ पनि रमाइलो हुनेछ । यसरी खुसी साटासाट गरेर दसैं
बिताउन थालेको १७ वर्ष भएछ । मेरी छोरी अमेरिकामा छे । दसैंको दिन फोनमै
कुरा गरेर आशिष दिनुपर्ला ।
अस्पतालमै हुन्छु
डा. भगवान कोइराला
हृदयरोग विशेषज्ञ
यसपाला जन्मथलो पाल्पा जाने विचार थियो । तर भनेजस्तो कहाँ हुन्छ र ?
भन्ने बित्तिकै अस्पताल चटक्कै छाडेर हिँड्न मिल्दैन । किनभने अपर्झट
बिरामी आइराखेका हुन्छन् । कति त अस्पतालमा भर्ना भएका पनि छन् । कतिपय
आईसीयुमै छन् । तिनको उपचार जारी नै हुन्छ । त्यसैले म दसैंमा पनि
अस्पतालमै काम गरिरहेको हुन्छु । तर अघिपछिभन्दा अलिक होलो हुने हुनाले
श्रीमती र छोरालाई पनि समय दिन्छु । परिवारसँग रमाइलो गरेर चाड मनाउने हो ।
मिल्यो भयो उपत्यका आसपासका कुनै ठाउँमा घुम्न जानुपर्ला । स्वास्थ्य
बिगार्ने गरी खानपान गर्ने बानी छैन मेरो । खेलवाड पनि गर्दिन । यही हो,
फुर्सद भए यसै गरी भेटघाट र घुमघाममा समय बिताउनुपर्ला ।
पूजाआजा र भेटघाटमै बित्छ
भवानी राणा
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नौरथा सुरु भएदेखि नै मेरो घरमा पूजा सुरु हुन्छ । दसैंघरमा जमरा राखिन्छ ।
म व्रत पनि बस्छु । नौं दिनसम्म पूजा हुन्छ । देवीको व्रत बस्छु ।
अष्टमीमा कालरात्रि पूजा हुन्छ । नवमीको दिनमा हवन गरेपछि मात्रै मेरो पूजा
र व्रत सकिन्छ । दसैं एउटा ऐतिहासिक महत्त्व बोकेको पर्व हो ।
पौराणिककालदेखि नै यसको विशेष महत्त्व छ । दसैंलाई मैंले आफन्त भेटघाट
गर्ने, रमाइलो गर्ने अवसरका रूपमा समेत लिने गरेको छु । वर्षभरि सबै
मरिहत्ते गरेर आफ्ना काममा व्यस्त हुने भएकाले चाहेका मान्छे र आफन्तजनलाई
भेट्ने अवसर मिल्दैन । दसैंमा बिदा हुने र सबै फुर्सदमा हुने भएकाले रमाइलो
हुन्छ । दसैंको अवसर पारेर नै यो वर्ष नेपालगन्जमा निर्माण गरिएको होटल
स्नेहाको नयाँ ब्लकको उद्घाटनसमेत गर्दैछु । दसैंमा धेरै आफन्तसँग भेट हुने
अपेक्षा गरेको छु ।
मनकामना घुम्ने सोचमा छु
झलनाथ खनाल
अध्यक्ष, नेकपा एमाले
दसैं सिर्जनात्मक पर्व हो । यलाई म धार्मिकभन्दा पनि सिर्जनात्मक रूपमा नै
मनाउने गर्छु । दसैंलाई म प्राकृतिक रूपमा पनि नयाँ सुरुवातको पर्वका
रूपमा लिन्छु । मोहनजोदारोर हरप्पाको सभ्यताबाट दसैं जस्तो पर्व सुरु भएको
हो । यसलाई विभिन्न कालखण्डमा धार्मिक कुराहरूसँग जोडिएको हो । यसपालिको
दसैंमा भ्रमण गर्ने योजना बनाएको छु । सप्तमी या अष्टमीतिर दामन, हेटौंडा
हुँदै गोरखा मनकामनासम्म घुमेर फर्किने योजना छ । राजनीतिक र पार्टीको काम
होइन । निजी भ्रमणमा त्यता जान लागेको हुँ । दसैंको यो समयमा मैले लियो
टल्सटायको 'युद्घ र शान्ति' अनि कर्ण शाक्यका पुस्तक पढिरहेको छु । समय
पुगेमा अन्य पुस्तकहरू पनि अध्ययन गर्ने योजना छ । दसैंमा टीका लगाउने
गर्छु । आफन्त चिनजानका व्यक्तिहरू घरमा आउनुहुन्छ, उहाँहरूसँग टीका लगाउने
चलन छ । दसैं रचनात्मक र नयाँ कामको सुरुवात गर्ने पर्व भएकाले अहिले
मुलुकको समस्या समाधानका लागि नयाँ पहल गर्न सकिन्छ कि भन्ने प्रयास त हुने
नै भयो ।
न्यायिक सुधारको योजना
खिलराज रेग्मी
प्रधानन्यायाधीश
पहिले दसैंको बिदामा म पूरै फुर्सदिलो हुन्थेँ । अहिले जिम्मेवारी थपिएको छ
। नेतृत्व तहमा बसेपछि पूर्णतः बिदामा हुन मुस्किलै पर्दोरहेछ । दसैं
मनाउन भनेर जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरू काठमाडौं आउनुहुन्छ ।
उहाँहरूसँग भेट्छु । जिल्लामा के कस्तो समस्या छ भनेर बुझ्छु । त्यसपछि
उबि्रएको समयमा न्यायालयका लागि गर्नुपर्ने योजनाको तयारी र समीक्षा गर्ने
विचारमा छु । केही फुर्सद मिले मन परेका पुस्तक पनि पढ्ने छु । म धार्मिक
आस्था भएको मान्छे हुँ । त्यसैले दसैंका दसैं दिन दुर्गाभवानीको पूजा
आराधना र प्रार्थना नियमित रूपमा गर्छु ।
दसैं भनेको पारिवारिक मेलमिलापको पर्व पनि हो । त्यसो हुनाले धेरथोर समय
परिवारलाई दिनै पर्छ । टीका टालोका लागि आफन्त आउँछन्, तीसँग पनि केही
कुराकानी र भलाकुसारी गर्नै पर्यो । पहिले फुर्सद हुँदा जन्मथलो पाल्पामै
पुगेर दसैं मनाउने गर्थेँ । २०५९ सालमा बुबा बित्नुभएपछि त्यो क्रम
ठ्याक्कै टुट्यो । म शाकाहारी हुँ । घरमा पनि शाकाहारी माहोल हुन्छ ।
दसैंको खानपिन सादा र सरल नै हुन्छ । दुर्गा मातासँग मैले देश समृद्धितिर
अघि बढोस् भनेर प्रार्थना गरेको छु । सबैलाई सद्बुद्धि आओस् ।
खासै उत्साहपूर्ण छैन
उपेन्द्र यादव
अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल
मुलुकमा खुसियाली भन्ने केही पनि छैन, निराशा मात्रै छ, यस्तो अवस्थामा
दसैंको कुनै उत्साह नै छैन । जनतालाई संविधान दिन सकिएको भए उत्साहपूर्वक
दसैं मनाएको ठहरिन्थ्यो । सबै जनता निराश भइरहेका बेला दसैं उत्साहपूर्वक
होला भन्ने अपेक्षा छैन । दसैं बिदाभरि म विराटनगरमा हुन्छु । पुस्तकहरू
अध्ययन गर्छु, साथीभाइ भेट्ने छु । मेरो रुचि राजनीतिक र फिलोसोफिकल
पुस्तकमा छ । त्यस्तै पुस्तक/सामग्री खोजेर अध्ययन गर्ने छु । पहिला
पहिलाका दसैंमा अलि रमाइलो गरिन्थ्यो । अहिले त्यस्तो रमाइलो गर्ने कुनै
उत्साह नै छैन । कान्तिपूर दैनिक
0 comments:
Post a Comment