समचार दैनिक
कांग्रेस-एमालेलाई संकट समाधानका लागि नभई कुर्सीका लागि प्रधानमन्त्रीको राजीनामा चाहिएको हो: खगेन्द्र संग्रौला ।
कांग्रेस-एमालेले आफूले पनि बैठक नडाक्ने र प्रधानमन्त्रीले डाकेको बैठकमा पनि नजानुले उनीहरू सहमतिको पक्षमा छैनन् भन्ने स्पष्ट हुन्छ: श्याम श्रेष्ठ
राजनीतिक विश्लेषकहरूले कांग्रेस-एमालेका नेताहरूसँग कुनै राजनीतिक एजेन्डा नै नभएको बताएका छन् । देश राजनीतिक संकटमा रहँदासमेत उनीहरूले स्पष्ट राजनीतिक खाका नल्याई प्रधानमन्त्रीको राजीनामा मात्र माग्नुले उनीहरू सहमतिको पक्षमा नभएको विश्लेषकहरूको भनाइ छ । राजनीतिक संकट समाधान तथा बजेटबारेमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीले मंगलबार बिहान डाकेको बैठकमा कांग्रेस-एमालेसहितका केही दलले बैठक बहिष्कार गरेपछि राजनीतिक विश्लेषकहरूले यस्तो धारणा राखेका हुन् । राजनीतिक संकट समाधानका लागि सहमतिको विकल्प नभएको बताउँदै आएका कांग्रेस-एमालेसहितका दलहरूको भनाइ र गराइमा अन्तर रहनुले उनीहरू सहमतिका लागि तयार नभएको समेत विश्लेषकहरूले औंल्याए ।
मंगलबार 'समाचार'सँग कुरा गर्दै राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले कांग्रेस-एमालेलाई संकट समाधानका लागि नभई कुर्सीका लागि प्रधानमन्त्रीको राजीनामा चाहिएको बताए । सधैं सत्तामा रमाउनु कांग्रेस-एमालेको पुरानो बानी रहेको भन्दै संग्रौलाले उनीहरूसँग देशलाई निकास दिने कुनै एजेन्डा नै नभएको आरोप लगाए । 'प्रधानमन्त्रीले किन छोड्ने भन्ने कुनै आधार नै छैन कांग्रेस-एमालेसँग' लेखकसमेत रहेका संग्रौलाले भने, 'उनीहरूले प्रधानमन्त्रीको कुर्सी हत्याउने सोचले मात्र प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।' कुनै एजेन्डा नै नभएका दलले प्रधामन्त्रीले बोलाएको बैठकमा नजानु कुनै नौलो कुरा नभएको उनको भनाइ थियो । संविधान लेख्ने विषयमा कहाँ कुरा अड्किएको छ त्यसको खोजी हुनुपर्ने भन्दै देशलाई निकास दिन कांग्रेस-एमाले तयार नहुनु विडम्बना भएको संग्रौलाको तर्क छ । कांग्रेस-एमालेको मानसिकता नै संविधान बनाएर देशलाई राजनीतिक संकटबाट निकाल्न केन्दि्रत नभएको भन्दै संग्रौलाले प्रधानमन्त्रीको राजीनामा मात्रै समाधान नभएको प्रस्ट पारे ।
त्यस्तै, अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नाम सहमतिको गरे पनि कांग्रेस-एमालेले यो देशमा कहिल्यै सहमति नचाहेको आरोप लगाए । कांग्रेस-एमालेको आफूले पनि बैठक नडाक्ने र अरूको बैठकमा पनि नजाने प्रवृत्ति निन्दनीय भएको श्रेष्ठको भनाइ छ । 'कांग्रेस-एमालेले आफूले पनि बैठक नडाक्ने र प्रधानमन्त्रीले डाकेको बैठकमा पनि नजानु उनीहरू सहमतिको पक्ष्ामा छैनन् भन्ने हो' श्रेष्ठले भने । जिम्मेवार बनी संविधानका विवादित विषयमा सहमति जुटाउन पहल नगरी एकपक्षीय रूपमा प्रधानमन्त्रीको राजीनामा मात्रै माग्दै हिंड्नुले फेरि पनि उनीहरू सहमतिको पक्षमा नभएको उनको भनाइ छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएर आप\mना विमति र समग्र राजनीतिक संकट समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने भए पनि कांग्रेस-एमालेले ठीक तरिका नअपनाएको उनको आरोप थियो । कांग्रेस र एमालेकै कारण राजनीतिक संक्रमणकाल लम्बिएको भन्दै श्रेष्ठले उनीहरूको यस्तै रबैया कायम रहे राजनीतिक सहमति कायम हुन नसक्ने बताए ।
प्रधानमन्त्रीले राजनीतिक संकट समाधानका लागि सोमबारै मंगलबार बिहान ८ बजेका लागि विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएका थिए । तर, कांग्रेस-एमालेले सोमबार राति अबेर मात्रै प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । तर, साना दलहरू भने मंगलबार बिहानको सर्वदलीय बैठकमा सहभागी भएका थिए ।
0 comments:
Post a Comment