Thursday, August 2, 2012

श्रावण १९ काठमाडौं । मुलुकको राजनीति र नेताहरुको कार्यशैली देख्दा लाग्छ, देशमा सधैं गाईजात्रा छ । हाँस्न, हँसाउन र व्यंग्य गर्न गाईजात्राको दिन पर्खनै पर्दैन । यो कुरा हास्य कलाकारहरुले पनि बारम्बार भन्दै आएका छन् । अब हाम्रो काम नेताहरुले गर्न थाले, हाम्रो त रोजीरोटी नै बन्द हुन थाल्यो भन्ने कलाकारहरुको प्रतिकृया हुन्छ । हुन त उनीहरुले यसलाई पनि व्यंग्यात्मक ढंगले भनेका हुन् । तर दल र नेताहरुको कार्यशैली र गतिबिधि चाहिं वास्तविक गाईजात्रा नै लाग्ने खालको छ ।
संविधानसभामा हुँदा पनि नेताहरुको चाला गाईजात्रे पाराको नै थियो । अहिले संविधानसभा बिघटनपछिको अवस्थामा पनि उनीहरुले गाईजात्राकै पारा देखाइरहेका छन् । राष्ट्रिय सहमतिको सरकार गठनका लागि हुने भनिएको छलफल अझै अनिश्चित छ । सहमति नभएकै कारण बजेट आंशिक मात्रै आयो । सरकारले घोषणा गरेको चुनाव टर्यो । अब राजनीतिक निकासको लागि नयाँ चुनाव या संविधानसभा पुनस्र्थापना के हो भनेर निर्णय गर्न ढिला भैसकेको छ । तर दलहरु अझै एक ठाउँमा बस्न सकेका छैनन् । गाईजात्रा पर्व ठ्याक्कै आएको बेला त मुख्य दल माओवादी र कांग्रेस आफ्नो घरायसी ‘नौटंकी’ मै व्यस्त छन् ।
उस्तै झमेलामा दुई दल
महाधिवेशनको तयारीमा लागेको ठूलो दल एकीकृत नेकपा माओवादी अहिले आयोजक समिति विस्तारको झमेलामा फसेको छ । पार्टी विभाजनपछि पनि गुटउपगुट उस्तै रहेको पार्टीमा समस्या झन् बल्भिmएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशबीच आयोजक समितिमा आआफ्ना मान्छे राख्ने होड छ ।
कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सकिने बित्तिकै सहमतिको लागि छलफलमा बस्ने भनेको माओवादी आफ्नै आन्तरिक विवादमा फसेको छ । घरभित्रकै समस्या मिलाउन नसक्नेले बाहिरको समस्या कसरी हल गर्ला भनेर दुनियाँले भन्न थालेका छन् । कांग्रेसको पारा पनि उस्तै छ । जिल्ला भेलाले के के न गर्छ भनिएपनि पार्टीभित्र झन् विवाद बल्झाउने काम गरेको छ । भेलाले चुनावमा जोड दिएपछि संविधानसभा पुनस्र्थापनाको अभियानमा लागेका पूर्व सभासदहरु आक्रोशित भएका छन् ।
अझ कांग्रेसमा त यो भन्दा पनि ठूलो विवाद विभाग गठन र हेरफेरको कामले बढाएको छ । पार्टी सभापतिले एकलौटी ढंगले गठन गरेको भन्दै बरिष्ठ नेता शेरबहादुर देउवा समूह असन्तुष्ट छ । एनपी साउद र ज्ञानेन्द्र कार्कीले त आफूले सम्हाल्दै आएको विभागबाट राजीनामा दिइसकेका छन् । देउवा खेमाका अरु नेताहरु पनि जिम्मेवारीबाट पन्छिने तयारी गरेका छन् । यसले कांग्रेसमा ठूलै खैलाबैला उब्जाउने सम्भावना छ ।
यसरी गाईजात्राको बेला पारेर मुख्य दुई दल गाईजात्रा पारामै आन्तरिक झमेलामा छन् । कलाकारहरुले गाईजात्रा प्रहसन नसक्दासम्म यिनीहरुको प्रहसन सकिने छेकछन्द देखिँदैन ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts