Wednesday, January 9, 2013

सृजना रिजाल अनेमसंघ (क्रान्तिकारी) धादिङ
२३ पुस। आजभोलि दैनिकजसो महिलामाथि भएका हिंसाका बर्बरतापूर्ण खबरहरु सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका छन् । दिनदिनैको महिला हिंसाको घटनाले मानव सभ्यतालाई चुनौति दिएको छ भने सिङ्गो समाजलाई लज्जित बनाएको छ । वर्षाैँदेखि महिलामाथि आर्थिक, सामाजिक, धार्मिक रुपमा शोषण र विभेद हुँदै आएका सत्य हामीसामु छर्लङ्ग नै छन् । यतिखेर बाहिर यस्ता घटनाहरु श्रृंखलाबद्धरुपमा बाहिर आइरहेका छन् । प्रत्येक दिन देशको कुनै न कुनै भु–भागमा नेपाली चेलीहरु बलात्कार र हत्या गरिएका खबरहरु आइरहेका छन् । यस्ता कहालीलाग्दा घटनाहरु आफ्नै परिवार, छर–छिमेकबाट बढी घटाइरहेको पाइएको छ । घटनाका प्रकृतिहरु फरक–फरक रुपमा प्रकट भैरहेका छन् । हुन त, महिला हिंसाको विषयलाई लिएर वर्षाैपिच्छे त्यसको विरुद्धमा अभियान चालेका छन् । महिला हिंसालाई लिएर विभिन्न संघ–संस्थामार्फत धेरै अभियान संचालन भएका छन् ।
तर महिला हिंसा विरुद्धको अभियान चलिरहेको बेला भएका जघन्य अपराधले पराकाष्टा नाघेको छ । अभियानको सेरोफेरोमा घटेका घटनाले महिला हिंसा विरुद्धको सकारात्मक पक्षमा केही धमिलोपन् ल्याइदिएको छ । त्यसकारण नेपालको सन्दर्भमा वषैपिच्छे चलाइने अभियानको कति महत्व छ भन्ने प्रशस्त प्रश्नहरु जन्मिएका छन् । हिंसा भन्ने बित्तिकै कानुन र विधिको बर्खिलाप हुने अमानवीय व्यवहार हुन् । यसलाई हामीले सामाजिक अपराधको रुपमा लिनुपर्दछ । हिंसा पितृसत्तावादी आर्थिक, सामाजिक, धार्मिक, शारीरिक र भौतिक जस्तोसुकै भएपनि अर्काको इच्छा विपरित गरिने क्रियाकलाप नै हिंसा हो । हिंसा पुरुषबाट मात्र नभएर पुरुषबाट पुरुष र महिलाबाट महिला सबैबाट हुन सक्छन् । तर हाम्रो देशमा महिलामाथि हुने हिंसा बढी छ । धार्मिक ग्रन्थअनुसार महिलालाई देवी, सरस्वती, लक्ष्मी आदि रुपमा पुजिन्छ । समाजको निरन्तर चल्ने प्रक्रियालाई महिला बिना कल्पना पनि गर्न सकिन्न । तर आज तिनै महान नारी यो धर्तीमा बलत्कार र हत्या जस्तो पाशविकताबाट आफ्नो जीवन गुमाउन बाध्य छिन् । सुन्तली धामीले आफ्नै सहकर्मीबाट सामूहिक बलत्कार हुँदा समेत न्याय पाएकी छैन । बर्दियाकी शिवा हासमी प्रेमको नाममा जलिन् ।    
भोजपुरकी सरस्वती राईको आफ्नै देशको विमानस्थमा कमाई र अस्मिता संगै लुटियो । धादिङ धाक्रे (हाल काठमाडौँ अनामनगर) मा बस्दै आएकी सरस्वती सुवेदी मृत फेला परिन् । धादिङ आगिञ्चोक–५ की पम्फा उपाध्यायको आफ्नै श्रीमानले पिटेर हत्या भयो । त्यस्तै धादिङ मैदी–९ बस्ने ६५ बर्षिय साने सार्कीले आफ्नै ८ वर्षकी बालिका नातिनीमाथि गत २० गते जबरजस्ती बलत्कार ग¥यो । यसरी देशका विभिन्न स्थानमा भिन्न–भिन्न प्रकारले हजारौँ घटनाहरु घटिरहेका छन् ।   
हिंसा आफंैमा अप्रिय शब्द हो । पछिल्लो चरणमा हाम्रो समाजमा भइरहेका हिंसालाई नियाल्दा सुचना र प्रविधिमा भएको विकासले पनि केहि नकारात्मक प्रभाव पारेको देखिन्छ । बलत्कार र हत्याको जस्तो अपराधलाई अन्त्य गर्न समाजका सम्पूर्ण व्यक्तिहरुनै अग्रसर हुनुपर्दछ । नेपालको अन्तरिम संविधान २०६३ भाग(३) धारा २० को उपधारा ३ मा कुनैपनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै हिंसा हुने छैन र त्यस्तो भएमा कानुनबमोजिम दण्ड सजायँ हुने भनिएको भएपनि व्यवहारमा यसमा कमि आएको पाईएन । कानुन मात्र बनेर व्यवहारतः त्यो लागू नभई फितलो हुँदा समाजमा हिंसा मौलाएको छ । जबसम्म शरीर, श्रम, सेना, सम्पत्ति र सत्तामा महिलाको अधिकार सुनिश्चित  हुँदैन तबसम्म महिला हिंसाको अन्त हुँदैन । त्यसकारण राज्यको सम्पूर्ण संयन्त्रहरु महिलामैत्री बनाउन जरुरी छ ।    
पछिल्लो केहि समययता देशका विभिन्न स्थानमा भएका बर्बरतापूर्ण बलत्कार र हत्याको घटनाले सरकारी अकमण्र्यता  र गैरजवाफदेहिताले हिंसाको घटनाहरु झन् पछि झन् कहालीलाग्दो रुपमा आईरहेका छन् । यद्यपी सरकारले यसको विषयलाई लिएर विभिन्न अनुगमन समिति बनाई मातहतका निकायहरुमार्फत दोषीलाई कारवाही गर्न निर्देशन दिएको छ ।   
यसर्थ मातहतका निकायहरुले यस्ता घटनालाई छिटोभन्दा छिटो दोषिलाई कानुनी दायरामा ल्याई कडा सजायँ दिन आफ्नो क्रियाशीलतालाई तिव्रतामा लैजानुपर्छ । अन्तमा यस्ता पशुवत र अमानवीय घटनाको विरुद्धमा सम्पूर्ण आमा दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण जनसमुदाय एकताबद्ध भएर सभ्य समाज निर्माणमा जुट्नुपर्छ ।         

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts