धादिङ, साउन २८ । वर्षायामको सुरुवातसँगै
पृथ्वी राजमार्गका दुर्घटना बढेका कारण साउन महिनामा मात्रै ३० ले ज्यान
गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । चालकको लापरबाही र लामो दूरीमा
एकमात्र चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै
गएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा
साउन २५ गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन् । दुर्घटना परी
३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक
प्रहरी कार्यालय गजुरीले जनाएको हो । राजमार्गमा अत्यधिक सवारीको चाप,
तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको प्रहरीको ठम्याई
छ । साँघुरो सडक, घुमाउरो मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड
राखिनु पनि दुर्घटनाको अर्काे कारण हो । सडकको बिग्रंदो अवस्था, सवारी साधन
पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एक जना मात्र चालक
हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका
प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ । चालकलाई
उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रदो अवस्थालाई बेलैमा मर्मत नगरिनु
सवारी दुर्घटनाको अर्काे कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका
प्रमुख एवं प्रहरी निरीक्षक हेमन्त थापा बताउनुहुन्छ । नदीका किनारबाट सडक
निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबिन नराखिनाले दुर्घटना बढी
भएको उनको भनाइ छ ।
राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा
वर्षायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् । त्रिभुवन
राजपथको पीपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको
८४ किलोमिटरभित्र गत आर्थिक वर्षमा ६३ वटा सवारी दुर्घटना भएको थियो ।
दुर्घटनामा ४ बालक, ४ बालिका, ८ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान
गुमाएका थिए । सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र
७९ जना सामान्य घाइते भएका थिए ।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग
स्वयंसेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्याउँदै आएको र
दुर्घटनापछि प्राथमिक उपचार र उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप
खरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान
सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका
प्रहरी निरीक्षक थापाको भनाइ छ ।
0 comments:
Post a Comment