Friday, July 13, 2012

रोल्पा/दाङ, असार ३० -
रोल्पा जिल्ला विकास समितिको गेट अगाडि बिहीबार भेटिएका नेकपा-माओवादी जिल्ला सदस्य मणिराम बुढाथोकीलाई एमाओवादीका क्षेत्रीय सदस्य मुलबहादुर रोकाले सोधे- 'मणिजी आराम हुनुहुन्छ ?' तर उनले जवाफ पाएनन् । रोकाले फेरि प्रश्न तेर्साए- 'सुकिलोमुकिलो भई हिँड्नु भा छ नि ?' त्यसपछि आक्रोशमा आएका मणिरामले जवाफ फर्काए- 'हो, प्रचण्डले काठमाडौंबाट कपडा पठाइदिएका थिए, लगाएँ ।'
समाज परिवर्तन गर्ने सपना देखेर १५ वर्षअघि बन्दुक बोकेका रूकुम खाराका आभाष बाँठालाई पार्टी विभाजनले घनघोर दिक्दार बनाएको छ । पार्टीकै युद्धका लागि बाँया खुट्टा, जवानी र शिक्षा चढाएका उनी अहिले 'टुहुरो' भएको महसुस गर्छन् । पूर्वलडाकु बाठा अवकास रोजेर घर फर्केलगत्तै एकातिर बाबुको मृत्युको पीडा आइपर्‍यो भने काजकिरियाबाट निस्कँदै गर्दा पार्टी विभाजनको पीडा खेप्नुपर्‍यो । 'त्यसै त सहाराविहीन अपांग जीवन, पार्टीले वास्ता गर्न छोडेको थियो । त्यसमा पनि पार्टी नै विभाजन भएपछि अब केही बाँकी रहेन ।' निराश मुद्रामा उनी भन्छन्, 'युद्धका सबै उपलब्धि खेर गए, हाम्रो योगदानमाथि खेलवाड भयो । अब कोही नेता र पार्टी हाम्रो आदर्श रहेन ।'
एमाओवादीका पूर्वकेन्द्रीय सल्लाहकार नन्दबहादुर बुढा पनि नेतासँगै असन्तुष्ट रहेछन् । सर्वहारावर्गका सच्चा नेता ठानेका प्रचण्डले 'गद्दारी' गरेपछि उनको मन कुँडिएको छ । युद्धताका रोल्पामा दाहाल रहँदा प्रचण्डको स्याहारसुसार गर्ने बुढालाई अब त भेट्न पनि मन छैन रे । 'स्वार्थ र व्यक्तिगत सुविधामा लागेका उनी अब हाम्रा नेता होइनन्,' भन्छन्- 'पार्टीभित्र अर्को वर्ग जन्माउने उनी सर्वहाराका सुहाउँदा नेता होइन रहेछन् ।'
'जनयुद्ध' को उद्गमथलो र कुनै बेला माओवादीको 'आधार क्षेत्र' मानिएको रोल्पा, रूकुम, दाङलगायत अधिक वर्चर्स्व भएका जिल्लाका नेता कार्यकर्ता कार्यकर्तामा यतिबेला चरम निराशा र आक्रोश छ । एक दशक लामो युद्धमा ज्यानको बाजी लगाएर राज्यसँग लडेका माओवादी कार्यकर्ता 'केही उपलब्धि भएन' भन्ने मनोदशामा एकथरी निराश देखिन्छ भने अर्काथरी नेतृत्वसँग आक्रोशित । एमाओवादीका पूर्वकेन्द्रीय सल्लाहकार बुढा भन्छन्, 'पहिले झंै रोल्पा-रूकुम हाम्रो आधार क्षेत्र रहेन । हिजोका सबै भावनामा भिन्नता आएको छ ।'
माओवादी कार्यकर्ताहरू नेतृत्वले सत्तामा पुगेपछि रोल्पामा गरिएका वचनबद्धता सबै बिर्सेको आरोप लगाउछन् । उनीहरू पार्टी किन विभाजन भयो ? कसले लिएको बाटो सही भन्ने खुट्याउन सकिरहेका छैनन् । 'भो अब राजनीतिको कुरै नगरौं ।' थबाङ घर भएका माओवादी जिल्ला सदस्य वरप्रसाद घर्तीले भन्छन् । उनी मात्रै होइन, कैयौं डब्लुटी -होलटाइमर) कार्यकर्ताले अहिले पार्टीका लागि समय निकालेका छैनन् । रोल्पाका क्षेत्रीय, जिल्ला र स्थानीयस्तरका अधिकांश नेता कार्यकर्ताहरू प्रायः निष्त्रिmय नै छन् । जिल्लाका अगुवाबाहेक युद्धमा प्रत्यक्ष सहभागी हुनेले कित्ताकाट गरेका छैनन् । धेरैको एउटै योजना छ, 'अब जो आए पनि उस्तै हो भने जस्तै अधिकांशले अबको माहोल हेरेर राजनीतिको बाटो रोज्ने' ।
युद्धमा अपाङ्ग भएका, परिवार गुमाएका र पार्टीबाट पाखा लगाइएका कार्यकर्ताले माओवादीभित्र विचार स्खलित भई 'संशोधनवाद र अवसारवाद' मा भासिएको बताउँछन् । युद्धमा अपाङ्ग भएका पूर्व जिल्ला सचिव आसबहादुर पुन भन्छन्, 'माओवादी नीतिमा सर्वहाराको पार्टी नेताचाहिँ गैरसर्वहारा भएको अवस्थामा आइपुग्यो । चुनबाङ भेलाको आसयलाई गलत रूपमा व्याख्या गरेपछि पार्टी फुटेको
हो ।' युद्धमा लाग्दा जागिर, घरबार, परिवार, विद्यालय र सम्पूर्ण सुख त्यागेर होमिएका कार्यकर्तालाई पार्टीले बीचैमा छाडेर बेग्लै बाटोमा लाग्दा पार्टीको यो हविगत भएको उनकोे ठम्याइ छ । 'गलत बाटोमा लिएर छाड्नु थियो भने हामीलाई किन लडाइयो ?' उनी आक्रोश मिश्रति प्रश्न गर्छन् ।
युद्धको उद्गमथलो रोल्पामा कुनै बेला मासिनको कुरै भएन, ढुंगा, माटो पनि माओवादी भएको अप्राकृतिक र असजिलो आरोप लाग्थ्यो । माओवादीको आरोपमा यहाँ के शिक्षक, के किसान, के पुरुष, के महिला, अधिकांशले पीडा खेप्नुपर्‍यो । तर अहिले माओवादी विभाजन भएपछि यहाँका सर्वसाधारण, पार्टी नेता/कार्यकर्ता चेत खुलेको छ । कुनै बेला रोलमोडल मान्ने प्रचण्डदेखि रोल्पाकै 'हस्ती' कृष्णबहादुर महरा लगायतका नेतालाई आदर्श मान्न अस्वीकार गर्नुले माओवादी नेतृत्वप्रतिको अविश्वासको तह बढ्दै गएको देखाउँछ । लिवाङका एक जना टिप्पणीकार भन्छन्- 'युद्धको उद्गमथलोका जनता कार्यकर्ताका माओवादीप्रतिको आकर्षण घटेको छ । जिल्लास्तरमा टाठाबाठा देखिएकाले पार्टीको आडमा प्रशस्त धन आर्जन गरिसकेको एउटा वर्गप्रति असन्तुष्टि बढेको छ ।'
ठूला ठेक्का, विकास योजना, जडिबुटी, काठ व्यापारमा आकर्षण भएकाहरूले प्रशस्त धन आर्जन गरेका टुलुटुलु हेरिरहेका आफ्नै कार्यकर्ताले सहिदको रगत खेर गएको हो कि भन्ने सोच्न थालेका छन् ।



नयाँ वर्गको उदय

पार्टी विभाजनको कारणमध्ये सबैभन्दा मुख्य कारण शीर्ष नेतृत्व अभिजात वर्गमा परिणत भयो भनेर राजधानीमा आलोचना भइरहँदा त्यसको असर यहाँ मध्यपश्चिमका जिल्ला सम्म आइपुगेको छ । माथिदेखि तल्लो तहसम्मका कार्यकर्ता 'सर्वहारावर्ग' बाट अर्कै वर्गमा परिणत भइरहेका छन् । रोल्पामा पूर्वजनसरकार प्रमुखसमेत भएका नन्दबहादुर बुढा पार्टीका माथिल्ला नेतादेखि स्थानीय कार्यकर्ताले व्यक्तिगत स्वार्थमा लम्पसार भएकाले फुटेको बताए । ५५ नाघेका उनले गाउँका सोझा कार्यकर्ता र सीधा जनताका कुरा उठाउने कोही नभएको गुनासो गर्दै भने- 'हिजो भोकभोकै सँगसँगै हिँडेका र लडाइँको मोर्चामा गएका उस्तै कार्यकर्ताका बीच आर्थिक अवस्थाको गहिरो खाडल तयार भएको छ ।' शान्ति प्रक्रियामा आएपछि नेताहरू धन कमाउन लागेको भन्दै उनी थप्छन्- 'भोकाएको सिंहले जिउँदै बाख्रो फेला पार्दा एकै गाँसमा सके जस्तो गरी हाम्रा नेताहरूले सम्पत्ति कुम्ल्याए ।'

पार्टी सत्तामा पुगेपछि गाउँ-गाउँमा रहेका कार्यकर्तालाई आर्थिक सबल बनाउन जब आर्थिक योजना अघि सार्‍यो त्यसै बेलाबाट जन्म्यो पार्टीभित्रको वर्ग । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अघि सारेको गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने नारा केवल आफ्नै कार्यकर्तामा फिट खायो । एक गाविस एक सहकारी भन्ने सरकारी अभियानको फाइदा तिनै कार्यकर्ताले पाए । सस्तो र सुलभ पसल राख्न सरकारले हरेक गाविसमा पठाएको १/१ लाख गाउँ पुगे पनि अहिले ती पसल लोप भइसके । माओवादीका एक क्षेत्रीय तहका नेताका अनुसार, पार्टीले कार्यकर्ता पाल्ने उद्देश्यसाथ रकम दिएपछि आन्तरिक रूपमा लुछाचुँडी सुरु भयो । 'युद्ध लड्दा व्यक्तिगत सम्पत्ति, सुख सुविधा र वर्गीय हितविपरीतको राजनीतिबाट निकै टाढा देखिएका कार्यकर्ताले धन कसरी आर्जन गर्ने भन्ने योजना बुन्न लागे,' ती नेता भन्छन्- 'त्यसपछि हो वर्ग जन्मेको ।'

नेकपा-माओवादीका जिल्ला सहइन्चार्ज चूडामणि वली पनि जनताको पक्षमा काम गर्न नचाहनेहरूले ठेक्कापट्टा, विकास योजना र अवैध कार्यमा चासो दिएको स्विकार्छन् । भन्छन्, 'पार्टीभित्र हुने खाने र हुँदा खाने दुई धार देखिए ।' यहाँ स्मरणीय के छ भने, विगतमा लामो समय होलटाइमर भएका कार्यकर्तालाई शान्ति प्रक्रियापछि व्यस्त बनाउने उद्देश्यसाथ केन्द्रीय योजनाअनुसार जिल्ला नेताहरूले ठेक्कापट्टाको काम गर्न चाहनेलाई लाइसेन्स लिन छुट दिने निर्णय पनि गरेको थियो । अर्का एक नेता भन्छन्, 'त्यसपछि देखिएको हो पार्टीभित्र वर्ग ।'

आरोप-प्रत्यारोप

'वर्ग उत्थान' का कारण पार्टी फुटेको निष्कर्ष निकाले पनि फुटका अरू कारणबारे पनि दुई थरी माओवादीबीच आरोप-प्रत्यारोप चल्ने गर्छ । एक पक्षको दाबी पार्टी क्रान्तिकारी धारबाट विचलित हुनुलाई ठान्छ भने अर्को पक्षले नेताको स्वार्थ भएको दाबी गर्छ । नेकपा-माओवादी जिल्ला सचिव केशबहादुर बाठा भने पार्टीले मूल विचार त्यागेकाले नयाँ विकल्प खोज्नुपरेको बताउँछन् । सर्वहाराको राजनीतिको अन्तिम लक्ष्यमा पुग्न एमाओवादी नेतृत्वले खुट्टा कमाएकाले नयाँ पार्टी वा शक्तिको आवश्यकता भएको उनको धारणा छ । 'नेतृत्वले विचलित बाटो तय गरेपछि वैद्यसहितको नयाँ नेतृत्व जन्मिएको हो' उनी भन्छन् । तर एमाओवादीका राज्य समिति सदस्य एवं पूर्वजिल्ला सचिव सुरेन्द्र घर्तीले नेताको स्वार्थका कारण एमाओवादीको वर्तमान नेतृत्वविरुद्ध चालबाजी खेलिएको आरोप लगाउँछन् ।

उनी भन्छन्, 'व्यक्तिगत स्वार्थ र नेतृत्व महत्त्वाकांक्षाले गर्दा केही केन्द्रीय नेताले पार्टी फुटाउने काम गरे ।' उनले स्थायी सदस्य नेत्रविक्रम चन्दप्रति लक्षित गर्दै संविधानसभाको निर्वाचनमा रोल्पाबाट प्रचण्डलाई विजयी बनाएकोमा कतिपय असन्तुष्ट देखिएको बताए । स्रोतका अनुसार लामो समय आधार क्षेत्र राप्तीको मोर्चामा खटिएका स्थायी समिति सदस्यले रोल्पाबाट आफूलाई बाहिर हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनलाई पार्टीले संविधानसभाको निर्वाचनमा कहींबाट पनि उठाएको थिएन ।

को-कता ?

माओवादी केन्द्रीय तहमा प्रत्यक्ष पहुँच राख्ने रोल्पाका धेरै नेता भए पनि केन्द्रीय सदस्य मात्र १० जना छन् । उनीहरूमा करिब आधा-आधा दुवै पार्टीमा देखिएका छन् । एमाओवादीतिर कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेन्द्र पुन, नन्दकिशोर पुन र झक्कुप्रसाद सुवेदी छन् भने नेकपा-माओवादीतिर नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, जयपुरी घर्ती र सन्तोष बुढा छन् । अर्का केन्द्रीय सदस्य जोखबहादुर महरा भने अहिलेसम्म तटस्थ देखिएका छन् । विगतमा लामो समय दाहालनिकट रहेका उनी पछिल्लो पटक त्यता देखिएका छैनन् । तीन जना स्थायी सदस्यहरू कृष्णबहादुर महरा, वर्षमान पुन र नेत्रविक्रम चन्दमध्ये चन्द मात्र वैद्यको पार्टीतिर छन् । यस्तै दुई जना पोलिटब्युरो सदस्यहरू कुलप्रसाद केसी र नन्दकिशोर पुनमध्ये केसीचाहिँ वैद्यतिर छन् । दुई केन्द्रीय सल्लाहकार सदस्यचाहिँ वैद्यतिरै छन् । उनीहरूमा नन्दबहादुर बुढा र चन्द्रबहादुर बुढा हुन् ।

माओवादी उद्गमथलो रूकुममा चाहिँ अध्यक्ष दाहालको पकडमा छ । जिल्लाबाट खुलेरै वैद्य पक्षमा देखिने माथिल्लो स्तरका नेतामा पूर्ण घर्ती मात्रै छन् । रूकुमबाट बाहिरी जिल्लामा बसेर राजनीति गरिरहेकाहरू भने केही वैद्य पक्षमा देखिएका छन् । बागलुङका इन्चार्ज पारशमणि, घोराही इन्चार्ज विप्लव, बुटवल इन्चार्ज शरद ओली र केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी वैद्य पक्षमा छन् । रूकुमका सबै सभासद, पूर्ण घर्तीबाहेकका केन्द्रीय सदस्य, जिल्लाका सदस्य र पूर्वलडाकु कमान्डर दाहाल पक्षमा छन् । रूकुममा दाहाल पक्षमा जनार्दन शर्मा, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली, गणेशमान पुन, कमला रोका र कालीबहादुर खाम छन् । खाम लडाकु कमान्डर हुँदा व्यापारी रामहरि श्रेष्ठको हत्या घटनामा दोषी मानिएका व्यक्ति हुन् ।

प्रकाशित मिति: २०६९ असार ३० कान्तिपुर दैनिक

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts