Monday, July 16, 2012




samachar-1डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन, पत्रिका, पार्टी, नेता वा समूहको जयजयकार जति बढी गर्‍यो त्यति राम्रो मानिंदो हो । यस्तो नहुनुपर्ने हो, तर हाम्रो समाज एवं राजनीतिक परिवेश यस्तै संस्कार र संस्कृतिमा हुर्किएको छ । त्यसैले त हो नि, हिजोआज कुनै पत्रिकामा लेख छाप्न पठायो भने सामान्यत: त्यस लेखकको आवद्धता वा झुकाव कता र के कस्तो छ भन्ने आधारमा पनि कुनै लेख छाप्ने वा नछाप्ने वा कतिसम्म उस्तै छाप्ने वा काट्ने कुराको ठेगान गरिन्छ । मलाई अहिले यस पत्रिकाबारे समीक्षा लेख्न त्यस्तै हम्मे–हम्मे परेको छ । खुसी पार्न लेख्ने कि लागेको कुरा लेख्ने ? भएको कुरा लेख्ने कि नभएको कुरा पनि लेख्ने ? पक्कै पनि भएको र लागेको दुवै कुरा लेख्ने । यही मान्यताबाट यहाँ केही आलोचनात्मक समीक्षा गर्ने धृष्टता गरिएको छ ।

पत्रिका जाँच्ने मापदण्ड
पहिले नै पनि थाहा थियो र अहिले त झनै प्रस्ट भएको छ कि यो पत्रिका एकीकृत माओवादी तथा त्यसका अध्यक्ष प्रचण्डको निकट छ, अर्थात् बजारमा त्यसै भनिन्छ । अध्यक्ष प्रचण्डकै त्याग, कार्यनीति र बाध्यताको परिणामस्वरूप प्रधानमन्त्री बन्नपुगेका भट्टराई तथा जनयुद्धको विरोधमै जीवन बिताएर पनि दुई–दुईपटक उपप्रधान तथा परराष्ट्रमन्त्री हुन जुरेका नारायणकाजी श्रेष्ठको विचार समूहलाई यस पत्रिकाले के कति पक्षपोषण गर्छ भन्ने कुरा नियमित राजनीतिक घटनाहरूको प्रकृति र गहिराइमा भर पर्दछ । अहिले माउ पार्टी फुटेर अर्को नेकपा–माओवादी बनिसकेको स्थितिमा समग्रमै एकीकृत माओवादी पक्षको प्रतिरक्षा गर्नु स्वाभाविक रूपमै यस पत्रिकाको धर्म हो भन्ने मेरो बुझाइ छ । अहिले बजारमा प्रकाशित सबैजसो पत्रिकाले गर्ने कुरा यस्तै हो, आफ्नाको भलो र प्रतिरक्षा । राजनीतिक रूपमा तटस्थ समाचार पत्रिका पाउन त यार्सागुम्बा खोजे बराबरै हो भन्नेमा दुईमत नहोला । तथापि अन्य विचारहरूलाई पनि के कति स्थान दिइन्छ वा दिइन्न भन्ने चाहिं महत्त्वपूर्ण कुरा हो । यस कुरामा भने अपवादबाहेक धेरैजसो पत्रिका अहिले उदार र बहुलवादी नै भएको पाइन्छ । कुनै लेख लेखेर छाप्नै नपाई चाउरिएर बस्नुपर्ने स्थिति चाहिं अहिले सायद कसैलाई पनि छैन नै । यो धेरै सकारात्मक पक्ष हो । यही कुरा मैले समाचार दैनिकका हकमा पनि पाएको छु ।
हुन त बेलाबखत यस पत्रिकामा लेखहरू पठाउँदा म आफैंले नै कतिपय कुरा आफैं सेन्सर गर्ने गरेको छु । यसर्थमा कि मेरा विचार र आलोचनाले कतै पत्रिका स्वयं, यसका पाठक र यसले बोकेको आस्थाका पुञ्जहरूलाई धेरै चोट नपुगोस् । तर, विचार नै मारेर लेख्नका लागि लेख्ने भन्ने अर्थमा होइन । तर मलाई खुसी के लागेको छ भने, लेखको कुनै अंश अवश्य पनि सम्पादकको कैंचीको शिकार हुन्छ होला भनेका मेरा लेखहरू पनि सबै जस्ताको तस्तै छापिएका छन् । त्यसर्थमा यस पत्रिकामा फरक मत, विचार र आलोचनालाई राम्ररी सम्मान गरिएको छ भन्ने मेरो बुझाइ छ । पत्रिकाले जुन पक्ष, विचार र आस्थाको पक्षपोषण गर्ने उद्देश्य लिएको छ, त्यसैको उछितो काढ्ने काम कसैले गर्छ भने त त्यसलाई पत्रिकाले स्थान दिएन भनेर गुनासो गर्न ठाउँ रहन्न नै ।
झलक्क हेर्दै थाहा हुन्छ
जहाँसम्म पत्रिकाको आवरण र समाचारहरूको आकर्षण एवं विचारमूलक सामग्रीहरूको विविधताको सवाल छ, ती कुरा झलक्क हेर्दै थाहा हुन्छ । टाढैबाट हेर्दा पनि पत्रिकाको रंगिन आवरण अरूभन्दा फरक र प्रस्ट छ । सामग्रीहरूलाई सजाउने र भित्री पृष्ठका लेख–रचनाहरूको स्वरूप एवं परिकारलाई बाहिरी पृष्ठमै झल्काउने शैली पनि मन पर्छ । छोटो–छोटो गरी धेरै समाचारहरू दिएको पाइन्छ । व्यापार र वाणिज्यदेखि खेलकुद हुँदै मनोरञ्जनदेखि साहित्यसम्मका सामग्रीहरूले राम्ररी स्थान पाएका छन् । मलाई यस पत्रिकाको सबैभन्दा मन पर्ने एउटा कुरा भनेको यसको पाँचौ पृष्ठको तल्लो खण्डमा रहेको ‘फरक मत’ स्तम्भ हो, जहाँ प्रत्येक अंकमा कुनै एउटा खास विषयमा दुई स्थापित व्यक्ति वा नेताका फरक विचारहरूलाई संक्षेपमा खँदिलो किसिमले प्रस्तुत गरिएको हुन्छ । यसबाट एकदमै छोटो समयमा हामी पाठकहरूलाई जल्दोबल्दो कुनै विषयमा अहिले कहाँ, कता र किन र कुरा मिलिरहेको छैन भन्ने कुरा बुझ्न मद्दत पुग्दछ ।
उदाहरणका लागि, गत असार २८ गतेकै अंक हेर्ने हो भने त्यसका एक–दुई कुरा खुबै रोचक लागे । ‘ओइ राज्य, खोइ बेपत्ता योद्धाहरू ?’ भन्ने सम्पादकीय शीषर्कले मेरो मन छोयो, नराम्ररी छोयो । पहिलो कुरा, ‘ओइ राज्य’ भन्ने दुई शब्दले साँच्चिकै गाउँले जनबोली झल्काउँछन् । ती गाउँ, जहाँ जनयुद्ध भयो, ती गाउँ, जसले इतिहासमै पहिलोपटक राज्यकाविरुद्ध सबैभन्दा ठूलो सैन्यशक्तिको संगठन र प्रयोग गरे, ती गाउँ, जो अहिले पनि विकास र परिवर्तनका दृष्टिले उस्तै छन्, ती गाउँ, जहाँ जनयुद्धकालमा बेपत्ता पारिएका योद्धा र सर्वसाधारण नागरिकका आफन्तहरू आँसुको सागरमा अझंै पनि दिनरात डुबिरहेका छन् ।
सम्पादकीयमा भनिएअनुसार, मानवअधिकार उल्लंघन र मानवताविरोधी अपराधको कुरा गर्दा सबैभन्दा गम्भीर मानिने बेपत्ताजस्तो अपराधका बारेमा आज त्यही जनयुद्ध गर्ने पार्टी पटक–पटक सरकारमा पुग्दा पनि ठोस रूपमा केही नहुनु भनेको अत्यन्तै दु:ख र लाज लाग्ने कुरा हुँदै हो । बेपत्ता पारिएका नागरिकहरूलाई सार्वजनिक गरिनुपर्छ, दोषीलाई सजाय हुनुपर्छ र आफन्तहरूलाई उचित क्षतिपूर्ति तथा राहत दिइनुपर्छ भनेर हिजो अहोरात्र कुर्लर्नेहरू नै आज विभिन्न मन्त्रालयका मन्त्री र उपप्रधानमन्त्रीदेखि मुलुककै प्रधानमन्त्रीसम्म भइसक्दा पनि यस विषयको अनुसन्धानले गतिसम्म नलिनु भनेको एक किसिमको पाखण्ड नै हो भन्दा फरक पर्दैन । जे होस्, यसरी आफ्नै आस्था र विचार समूहको पार्टीले नेतृत्व गरेको सरकारका बारेमा यस हदसम्मको आलोचनात्मक सम्पादकीय लेख्नु भनेको नेपालको परिप्रेक्ष्यमा निकै नौलो र हिम्मतिलो कुरा हो, स्वागतयोग्य विषय हो ।
यसै अंकमा मलाई मन परेको अर्को सामग्री भनेको पाँचौ पृष्ठको दायाँ खण्डमा रहेको ‘दस्ताबेज’ स्तम्भ हो जहाँ ‘संघर्षको दर्शन’ भन्ने किताबबाट उपशीर्षकअन्तर्गत ‘प्रचण्डपथको वास्तविक मान्यता’ भन्ने मोहन वैद्य ‘किरण’को विचार क्रमश: आउनेगरी छापिएको छ । यो मैले आजसम्म देख्नपढ्न नपाएको वा नभ्याएको दस्ताबेज थियो, पढें । रमाइलो लाग्यो, यस अर्थमा कि आज तिनै आदरणीय नेता किरण अर्का अध्यक्ष प्रचण्ड र प्रचण्डपथको तेजोबध गर्दै फुटेर नेकपा–माओवादी नामको नयाँ पार्टीका अध्यक्ष हुनुभएको छ । प्रचण्डपथ आफैंमा के कति सही विचार, विश्लेषण र निष्कर्ष थियो ? त्यो आफ्नो ठाउँमा छ । तर, मानिस र क्रान्तिको जीवनमा एउटा विचार, अभिव्यक्ति र व्यक्तिले के कसरी छलाङ मार्छ वा मार्ने स्थिति आउँछ भन्ने सन्दर्भमा यो सामग्री रोचक छ । यसरी समग्रमा, पत्रिकाको प्रस्तुति मलाई धेरै फरक, सुन्दर र रोचक लाग्छ । बेलाबखत मेरा लेखहरू पनि जस्ताको तस्तै छापिंदा आनन्द आउँछ । किनकि कतिपय राष्ट्रिय दैनिक पत्रिकामा जतिसुकै राम्रो लेख पठाए पनि तिनका निजी आग्रह वा पूर्वाग्रहका भरमा लेख नै नछापिने, छापिन्छ कि छापिन्न भन्नेबारे जवाफै नपाइने वा पत्रिकाको सम्पादक फेरिने बित्तिकै खास–खास लेखकहरूलाई नाकाबन्दी नै लाग्ने अनुभव धेरै छन्, मैसँग पनि छन् । त्यसैले म समाचार दैनिकप्रति आभारी छु ।
विगतको याद र नयाँ अनुभूति
एउटा सान्दर्भिक प्रसंग, २०२८ सालताका पूर्वको आठराई र झापामा चर्किएको कम्युनिस्ट एवं नक्सलवादी आन्दोलनको प्रभावस्वरूप मैले माओ र माओवाद मन पराएको अहिले ठ्याक्कै ४० वर्ष पुगेछ । अहिलेका माले र एमालेहरू २०३५ देखि २०३९ सालतक माओवादी रहँदासम्म स्थापनाकालदेखि नै त्यही नेकपा मालेमा संगठित भई सक्रिय रहियो । यसपाली एकीकृत माओवादी फुटेकै जस्तो पीडा हामीले २०३९ सालमै भोगेको हो । सिपी मैनालीले नेतृत्व गरेको अल्पमत पक्षको विचार बोकेबापत कारबाहीमा परेकै हो । त्यसपछि लागियो राजबन्दी रिहाइ, मानवअधिकार र नेपालको जलस्रोतको विकास अभियानमा । राजबन्दीहरूको रिहाइ अभियानका सिलसिलामा प्रचण्ड, मोहन वैद्य र सिपी गजुरेलदेखि मोहनविक्रम सिंह हुँदै बाबुराम भट्टराईसम्म मेरो पाटनढोका, बागबजार र नरदेवीका छिंडीदेखि कोलकत्ता र गोरखपुरका धर्मशालासम्म हुने विभिन्न भेट, भेला र गोष्ठीहरूमा उठबस हुनेगर्दथ्यो । २०५२ मा जनयुद्ध घोषणा भएपछि त्यसैको समर्थन र पक्षपोषणमा लागियो । २०६३ सालको जनआन्दोलनमा सक्रिय हुँदै पछिल्ला दिनहरूमा करिब तीन वर्षसम्म यसै पार्टीमा संगठित भएर विभिन्न जिम्मेवारीहरू बहन गरियो । अहिले पुन: स्वेच्छाले गत जेठ १४ गतेको मध्यरातदेखि आफैं बाहिरिने काम गरियो । यसका पछाडि केही ठोस कारणहरू छन, जसको चर्चा अहिले यहाँ आवश्यक छैन ।
तर, भन्नखोजेको कुरा के हो भने, नेपाली क्रान्ति सफल पार्नका लागि आधुनिक सञ्चार–माध्यमहरूको ठूलो भूमिका रहन्छ भन्ने मेरो पहिल्यैदेखिको बुझाइ थियो । खासगरी पार्टी शान्तिपूर्ण राजनीतिमा अवतरण भइसकेपछि त झन् यसले गोरखापत्र, कान्तिपुर, काठमाण्डु पोस्ट, हिमाल र नेपाली टाइम्सजस्ता फरक धार र विचारका स्थापित पत्रिकाहरूको समानान्तरमा पार्टीका आफ्नै प्रकाशन गर्न सक्नुपर्दछ भन्ने लाग्दथ्यो अर्थात् चीनको चाइना डेली र बेइजिङ रिभ्यु हुँदै विघटित सोभियत संघको प्राभ्दा समाचारपत्र जस्तो । अनि मात्र यस पार्टी, यसका नेता र यसले गर्न खोजेको क्रान्तिका विरुद्ध देशदेखि विदेशसम्म सिर्जना गरिने जनमतलाई उल्टाउन सकिन्छ भन्ने मेरो निष्कर्ष थियो । त्यसपछि मैले कसैले यस्तो योजना ल्याए पार्टीपंक्तिले दिल खोलेर स्वागत गर्ला भन्ठानें ।
अनि, गोर्खा आन्दोलनपछि लण्डनबाट फर्केर विगतमा भारतीय कम्युनिस्ट आन्दोलनसँग जोडिएका केही खरा र खारिएका पत्रकारहरूको एउटा समूह नै काठमाडौंमा भित्र्याएँ । नेपालभित्र पनि पार्टीभित्र तथा बाहिर रहेका केही वरिष्ठ नेता कमरेड र पत्रकारहरूसँग कुरा राखें । मतलब, अर्धस्वायत्त रूपमै भए पनि नेपाली वामआन्दोलन र क्रान्तिको पक्षमा नेपाली र अंग्रेजी भाषामा, सके पार्टी हेडक्वाट्र्स आफैंले नत्र अरू कसैले पार्टीसँगको सम्पर्क एवं समन्वयमा रहेर भए पनि खाट्टी, ओजिला र तेजिला वामपत्रपत्रिका निकाल्नु समयको उच्च आवश्यकता हो भन्ने लागेको थियो । तर, यस सोचले कार्यरूप लिन नपाउँदै विभिन्न दुर्घटना र स्वार्थको फेला परियो । त्यसपछि सबै कुरा सेलायो । पार्टी वा पार्टीपंक्ति आफैंबाट पनि निकै लामो समयसम्म यस्तो काम भएन, देखिएन, जो एउटा ठूलै कार्यनीतिक अदूरदर्शिता र असफलता थियो, मेरो विचारमा ।
तर, त्यसपछि पार्टीभित्रको अन्तर्संघर्षको परिणामस्वरूप पार्टीका नाममा थोरै त पार्टीभित्रका विभिन्न नेता, व्यक्ति र विचार समूहहरूका नाममा धेरै मासिक, पाक्षिक र साप्ताहिकदेखि दैनिक पत्रिकाहरूसम्मको बाढी नै चल्यो, जो अहिले पनि चलिरहेको छ र अझै चल्नेवाला छ । हुनसक्छ, यस पत्रिकाको पृष्ठभूमि पनि त्यस्तैत्यस्तै हो । तर, मुख्य कुरा के भने यस्तो समाचार दैनिकजस्तो पत्रिका, अझ अंग्ेरजी भाषामासमेत, बृहत् शान्ति सम्झौता भएलगत्तै सुरु गरेको भए सम्भवत: हामीले देशदेखि विदेशसम्म विचार र क्रान्तिको पक्षमा धेरै ठूलो फड्को मारिसकेका हुन्थ्यौं होला, तर भएन । जुनबेला यस्तो पत्रिकाहरूको खडेरी थियो, केही भएन । अहिले जुनबेला यस्ता पत्रिकाहरूको देशव्यापी बाढी आएको छ, ती पत्रिकाहरू मूलत: पार्टीभित्रको अन्तर्संघर्ष, विभाजन र हिलो छ्यापाछ्यापमा व्यस्त छन् । यसबाट एक पक्षको उपकार त अवश्य पनि होला नै, तर क्रान्तिकारी परिवर्तनका लागि युगौंदेखि छट्पटाइरहेको यो सुन्दर मुलुक र राज्यसत्ताले सधंै सुकुम्बासी बनाएका आम नेपाली जनताको क्रान्तिकारी सपना भने अवश्य पनि पूरा हुने छैन ।
र, अन्त्यमा
आशा गरौं भिन्न भइसकेपछि एकअर्काको उछितो काढ्न खग्गु विश्वकै कम्युनिस्टहरूको चरित्र एकीकृत तथा ड्यास दुवै माओवादीका तर्फबाट नदोहोरियोस् अर्थात् एकदमै कम होस् भन्ने मेरो आग्रह छ । यस पत्रिकामा स्वस्थ आलोचना र विचारले सधैं स्थान पाइरहून् । यस्तै विचार र दबाबको परिणामस्वरूप ढिलोछिटो पार्टी एकढिक्का होस् । नभए पनि सहकार्यको हात सधंै अघि बढेको देख्नपाइयोस् । पार्टी विभाजनपछि मर्माहत आम नेपाली जनताको घाउमा नुन छर्कनुको सट्टा मलमपट्टी गर्ने काम बढी होस् । यस पत्रिकाले यसतर्फ बढी आफूलाई डोर्‍याओस् । तब मात्र देश, जनता र क्रान्तिको हितमा यस पत्रिकाको वास्तविक योगदान स्थापित हुनेछ । मुलुकमा नयाँ संस्कारको थालनी हुनेछ बधाई तथा शुभकामना !

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts